स्नातकको नतिजा नआउँदै त्रिविद्वारा स्नातकोत्तरको भर्ना खुला

स्नातकको नतिजा नआउँदै त्रिविद्वारा स्नातकोत्तरको भर्ना खुला

केन्द्रबिन्दु
0
Shares

त्रिभुवन विश्वविद्यालयले स्नातक तहको अन्तिम वर्षको नतिजा नआउँदै स्नातकोत्तर तहको भर्ना खुलाएको छ ।

परीक्षा दिएको १० महिनासम्म पनि नतिजा नआउँदा आजित भएका विद्यार्थी स्नातकोत्तरको भर्ना खुलेसँगै थप अन्योलमा परेका छन् । त्रिविले मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन संकाय, शिक्षाशास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गतका क्याम्पसमा पुस ५ देखि लागू हुने गरी भर्ना आवेदन मागेको छ । तर, तीनवर्षे बिएको तेस्रो वर्ष र चारवर्षे व्यवस्थापन संकायको बिबिएस चौथो वर्षको नतिजा भने अहिलेसम्म आएको छैन । परीक्षा कुरेर बसेका विद्यार्थी झन्डै ७० हजार छन् । त्रिवि परीक्षण नियन्त्रण कार्यालयले तत्कालै नतिजा सार्वजनिक गर्ने अवस्था पनि छैन । यसले भर्ना कार्यक्रम नै प्रभावित भएको छ भने विद्यार्थी अन्योलमा छन् । 

परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले यही महिनाभित्रै नतिजा निकाल्ने बताए । जनशक्ति अभावमा नतिजा दिन ढिला भएको उनले बताए । ‘एउटा तह पार गर्ने ४८ हजार विद्यार्थीको रिजल्ट गर्‍यौ, ७० हजारको रिजल्ट गर्न बाँकी छ,’ उनले भने, ‘नतिजा आउन बाँकी विद्यार्थीमा बिए तेस्रो वर्षका १८ हजार र अन्य बिबिएस चौथो वर्षका छन् ।’ 

स्नातकोत्तर तहमा भर्नाका लागि माघ  ४ सम्मको समय तोकिएको छ । अहिलेको अवस्थामा विद्यार्थीको नतिजा आइसकेपछि ट्रान्सक्रिप्ट निकालेर माथिल्लो तहमा भर्ना हुनका लागि समय नपुग्ने देखिन्छ । नियन्त्रक जोशीले अहिले नतिजाको विषयमा धेरैले चासो दिएको र डिन कार्यालयहरूले भर्नाका लागि समय थप्ने विषयमा छलफल भएको बताए । नतिजाका लागि दबाब आएपछि पनिकाले कर्मचारीलाई अतिरिक्त समय काम लगाएर छिटो निकाल्ने प्रयास गरेको पनि उनको दाबी छ । पनिकाले शुक्रबार स्नातक तह साइन्सको नतिजा सार्वजनिक गरेको थियो । 

Logo