जुम्लाका विद्यार्थीलाई लागुऔषध न्युनीकरण र साइबर अपराधका विषयमा पढाउँदै प्रहरी

जुम्लाका विद्यार्थीलाई लागुऔषध न्युनीकरण र साइबर अपराधका विषयमा पढाउँदै प्रहरी


जुम्ला प्रहरीले लागुपदार्थ सेवनका बेफाइदा र साइबर अपराधका विषयमा विद्यार्थीलाई पढाउन सुरु गरेको छ । समाजमा बढ्दै गएको लागुऔषध दुर्व्यसन र साइबर अपराधविरुद्ध विद्यार्थीलाई सचेत गराउन कक्षा सुरु गरिएको डीएसपी नरेन्द्र चन्दले बताए ।

उनका अनुसार मंगलबार बिहान ८ बजेदेखि ९ बजेसम्म स्थानीय ट्युसन सेन्टरमा पढ्ने विद्यार्थीलाई साइबर अपराध एवं लागुऔषध न्युनीकरण सम्बन्धी प्रशिक्षण दिइएको हो । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत यस्तो सचेतनामुलक कार्यक्रम गरिएको उनको भनाइ छ । 

जिल्लास्थित विभिन्न विद्यालयबाट एसइइको ट्युसन पढ्न आएका विद्यार्थीलाई लागुपदार्थबाट हुने हानी र साइबर अपराधबाट आइपर्ने झन्झटका विषयमा पढाउन थालिएको डीएसपी चन्दले बताए ।

प्रहरीका अनुसार जुम्लामा लागुऔषधको प्रयोग बढ्दै गएका कारण यसरी विद्यार्थीलाई लक्षित गरी सचेतना गराउन थालिएको हो । समाजमा शान्तिसुरक्षा कायम गर्न, जनतासँग प्रहरीको साझेदारी बढाउन, विभिन्न अपराधविरुद्ध जनतालाई चनाखो बनाउन र युवामा बढ्दै गएको लागुऔषध दुर्व्यसनी तथा प्रविधिको गलत प्रयोग नियन्त्रण गर्न सचेतनाले ठूलो भूमिका खेल्ने प्रहरीको भनाइ छ । 

Logo