अक्षर चिन्ने भोकले डो-याएको निरक्षर हजुरआमाहरुका उदाहरणीय ‘चेतना’ यात्रा

अक्षर चिन्ने भोकले डो-याएको निरक्षर हजुरआमाहरुका उदाहरणीय ‘चेतना’ यात्रा

केन्द्रबिन्दु
0
Shares

अक्षर चिन्ने रहर पूरा गर्न उमेर बाधक बन्दैन् । धेरैले धेरै कारण अक्षर चिन्ह पाएका हुँदैनन् । तर अवसर पाए उमेर जतिसुकै होस् त्यो उमेर बाधक बन्दैन भन्ने उदाहरण पनि समाजमा उत्तिकै देख्न पाइन्छ ।

संघीय राजधानी काठमाडौँमा नै रहेका एक विद्यालयमा यस्तै उमेर ढल्किएकाहरुको बाहुल्य छ । जहाँ हजुरआमा उमेरका विद्यार्थी नै बढी छन् । 

उमेर ५०, कक्षा एक 
काठमाडौंको गोंगबुस्थित चेतना महिला विद्यालयमा अध्ययनरत नुवाकोटकी ५० वर्षीया जानुका धिताल कक्षा एकमा पुगिन् । अघिल्लो वर्षको नतिजा लिन आएकी उनले वर्ष दिनमा ४ महिना पनि नियमित विद्यालय जान सकिनन् । तर, ८० प्रतिशत बढी अंक ल्याएर कक्षा एकमा पुग्दा ठूलै कक्षा उत्तीर्ण गरेझै गरी उनी दङ्ग छिन् । 

उमेरमा उनले पढ्न पाइनन् । उमेर वित्दै जाँदा उनलाई शिक्षाको महत्व खड्कियो । टोलमै प्रौढ महिलाका लागि विद्यालय खुलेको थाहा पाएपछि उनी भर्ना भइन् । र, विद्यालय जान सुरु गरिन् । उमेरले ५० वसन्त पार गरिसक्यो । शरीरमा बिभिन्न रोगले डेरा नै जमाएर बसेका छन् । सुगर भएकै १५ वर्ष बढी भयो । बाथ, ब्लड प्रेसर र कोलेस्ट्रोलले गर्दा उनको शरीर गलेको छ । तर, शिक्षा हासिल गर्ने रहर भने गलेको छैन् ।   
१५ वर्ष पहिल्यै उनी चेतना महिला विद्यालय भर्ना हुन खोजेकी थिइन् । त्यतिवेला घरव्यवहार उनका लागि तगारो बनिदियो । तर, अहिले उनलाई परिवारको पूर्ण सहयोग छ । कक्षा २ मा पढ्ने भतिज उनीसँगै बस्छन् । भर्ना गर्नलाई जाँदा उनले भतिजलाई सँगै लिएर गइन् । ७ वर्षको उनका भतिज अहिले घरमा उनलाई होमवर्क सिकाउने साथी बनेका छन् । 

जीवन जिउने शैली नै फरक 
विद्यालय जान थालेपछि उनमा अहिले नयाँ ढंगले जीवन जिउने हौसला पाएकी छन् । तर, उमेरका कारण लेख्न पढ्नमा भने केही मुस्किल आइलागेको छ । उनलाई सामाजिक सञ्जालमा आफ्ना भावना पोख्न मन लाग्छ । तर, ‘स्टाटस्’ लेख्ने आत्मविश्वास भने अझै पलाइसकेको छैन ।   

उनी भन्छिन्,‘मलाई सामाजिक सञ्जाल चलाउन मन लाग्छ । फेसबुकमा कहिले काँही मनमा लागेका कुरा लेखौं भन्ने लाग्छ । तर, बिग्रने होकी भनेर डर लाग्छ । हिम्मत नै आउँदैन् ।’   
समाजले के भन्ला भन्ने सोँच उनको मनमा नआउने होइन् । तर, उनले आफ्नो पढाइमा त्यस्ता मनोभावलाई हावी हुन दिएकी छैनन् । त्यसो हुँदा उनी उमेर घर्केका अरुलाई पनि विद्यालय जान उत्प्रेरित गर्दै आएकी छिन् ।  

चाँडै फरर अंग्रेजीमा बोल्ने सपना 
उनी भन्छिन्, ‘शिक्षा लिन लाज हुँदैन । म त सबैलाई खुलेर भन्छु । स्कूल जान लाज किन मान्ने ? किन डराउने ? त्यो बेलाको अवस्थाले पढ्न पाइएन । अहिले किन लाज मान्ने ? उमेरदेखि मलाई लाज लाग्दैन । अप्ठरो पनि लाग्दैन । स्कुल जान म त खुलेर भन्छु । शिक्षा जहाँ गए पनि चाहिन्छ । यस्को आवश्यकता जतिखेर पनि हुने रहेछ ।’

धितालकी छोराबुहारी विदेशमा छन् । उनी पढाइलाई सकेसम्म निरन्तरता दिने पक्षमा छिन् । उनलाई विदेश घुम्न जाने रहर छ । तर, त्यसअघि उनी फरर अंग्रेजी बोल्न सक्ने हुन चाहन्छिन् । किनकी उनलाई विदेशीसंग अंग्रेजीमै कुराकानी गर्न मन छ । 

अनपढ हुँदा कतार विमानस्थलमा हराउँदा पाएको दुःख विर्सिनसक्नु 
यस्तै ३२ वर्षदेखि गोंगबुको भण्डारी टोल बस्दै आएकी ज्ञानेन्द्रकुमारी रिमाल ५४ वर्षको उमेरमा बल्ल पढ्न जान थालिन् । पढ्ने चाहना हुँदा हुँदै पनि उनले पढ्न पाइनन् । दुई छोरी र एक छोराको आमा उनलाई एक सन्तानको बिहेदान गरेपछि पनि जिम्मेवारीले छोडेन् ।

घरमा सासु ससुरा हेर्नुपर्ने, विदेशमा नाती नातिनीलाई हुर्काउनु पर्ने, व्यवहार र कामले छोपिएकी उनलाई रहर हुँदाहुँदै पनि पढ्ने वातावरण मिलेन। आफ्ना लागि नारीले कहिले जिउने ? यो प्रश्नले उनलाई भित्रभित्रै सताई रह्यो।  तर, विद्याको भोकलाई मेटाउने अवसर उनले पाइनन् । 

उनी पारिवारिक व्यवहारबाट बल्ल हलुका बनिन् । र, शिक्षाको लागि आइपुगिन् चेतना महिला माविमा। पहिला पौढ शिक्षा पढेकी उनलाई सामान्य पढ्न आउँछ । २३ वर्ष प्राइभेट क्षेत्रामा जागिर खाइन्। उनलाई सँधै पढ्न पाए कस्तो हुन्थ्यो भन्ने लाग्थ्यो। त्यसैले उनी विगत सम्झेर भक्कानिइन् । 

उनले पढ्नै पर्ने महसुस तब गरिन् जब अमेरिका जाँदा कतारमा एक्लै १२ घण्टाको ट्रान्जिटमा परिन् । र, आफैं बसेको कोठाबाट हराइन् । उनलाई तेस्रो तलाको काउन्टरमा जानुपर्ने थियो । तर, उनी पुगिन दशौं तल्लामा । ‘एलिभेटर’ चलाउन नजान्दा उनी पुग्नु पर्ने ठाउँमा पुग्न सकिनन् । त्यसबेला उनी अत्तालिएकी थिइन् ।  

उनी भन्छिन्,‘एकजना पुरुष बाथरुमबाट आएको देखें । उनलाई माई लस, (म हराए) । माई लस भन्दै कार्ड देखाए । डर लागेपनि उसको पछि लागेँ । उसले ‘काउन्टर’मा लगिदिएपछि मेरो सास आयो । नपढेको कारणले त्यस्तो दुःख पाएँ ।’

शिक्षिकाहरुको समाजसेवा : कम तलव तर खुसी बढी 
चेतना महिला माविकी शिक्षिका उर्मिला अमात्य सस्थापक सदस्य हुन् । लामो समयदेखि  विद्यार्थीलाई नजिकबाट नियालेकी उनले विद्यालयमा प्रायः विपन्नदेखि सम्पन्न वर्गका विद्यार्थी आउने गरेको बताउँछिन् । उनका अनुसार सबै विद्यार्थी आ–आफ्नो पीडा लिएर पढ्न आउने गरेको अनुभव उनी सुनाउँछिन् । 

उनी भन्छिन्,‘एउटा त उनीहरुको गरिबी अनि अशिक्षा हो । त्यसमाथि पनि यस्ता विद्यार्थी  आउँछन् कि घरमा श्रीमान पनि पढेलेखेको, जागिरे, छोराछोरी पनि पढेलेखेका तर आफुहरु भने अनपढ । सम्पन्न परिवारका पनि आउँछन् । तर, यहाँ आउँदा उनीहरुभित्रका पीडा छुट्टै हुन्छन् । उनीहरु घर र छोराछोरी तथा समाजबाट अपहेलित भएर यहाँ आएका हुन्छन् ।’

विद्यालयकी प्रध्यानाध्यापक कृष्णदेवी श्रेष्ठले चेतना महिला माविको सुरुआती समयबाटै नेतृत्व गरेर आइन् । बि.संं. २०६२ को नयाँ वर्ष मनाउने क्रममा उनी गोंगबुको पवित्रानगरमा बस्थिन् । त्यतिबेला क्याम्पस पढ्ने र पढाउने काम गर्दै आएकी उनलाई त्यहाँका अशिक्षित महिलाहरुले पढाउन आग्रह गरे । परिवारमा भोगेको अन्याय सम्झिएर उनले उनीहरुको प्रस्तावलाई अस्वीकार गर्न सकिनन् ।

र, नजिकैको एउटा विद्यालयमा कोठा लिइन् । साँझ उनीहरुलाई पढाउन सुरु गरिन् । सुरुवाती दिनमै कक्षामा महिला विद्यार्थी चाप बढ्यो। पढ्न आउने विद्यार्थी विद्यालय नै खोल्ने पहलमा लागे । विद्यार्थी संगै सात जना मिलेर चेतना मावि खोले । १८ वर्षयता प्रधानाध्यापकको भूमिकामा रहेकी श्रेष्ठले २२ वर्षदेखि पढाउँदै आएको कलेज समेत छोडेर हाल प्रौढ उमेरका महिलालाई पढाउँदै आएकी छिन् । 

उनी भन्छिन्,‘अलिकति लेख्न पढ्न जानेपछि दिदीबहीनी बाहिर झ्यालमा आएर खुसी हुन्छन्। त्यस्तो खुसी यहि स्कूलमा आएर देखें। जीवनमा मैले यहि एउटा राम्रो काम गरेँ की भन्ने लाग्छ।’  विगत लामो समयबाट बैकल्पिक विद्यालयको रुपमा सञ्चालन गर्दै आएपनि विद्यालयका शिक्षक शिक्षिकाले न्यून तलबमा सेवा गर्दै आएका छन्।

प्राध्यानाध्यापकदेखि सबैले मासिक पाउने भनेको १५ हजार मात्रै हो । पाको उमेरमा विद्यालय आउँदा स्मरण शक्ति अलि कमजोर हुने हुँदा त्यसको प्रभाव शैक्षिक गुणस्तरमा परेको बताउँछिन् -उपप्र्राध्यापक शान्ता पण्डित।

सरकारी विद्यालयमा भन्दा दोब्बर मेहेनत गरेर पढाउँदा पनि विद्यार्थीले बीचमै पढाई छोडेर जाने, नियमित नहुने जस्ता कारणले पढाइको गुणस्तर उकास्न मुख्य चुनौती रहेको उनको भनाइ छ । हाल विद्यालयको शैक्षिक गुणस्तरलाई उकास्न वडादेखि महानगरपालिकाले समेत आर्थिक सहयोग गर्दै आएको छ । 

Logo