केन्द्रबिन्दुद्वारा शैक्षिक क्षेत्रका प्रतिष्ठित व्यक्ति सम्मानित, सामुदायिक तथा संस्थागत विद्यालय पनि पुरस्कृत

केन्द्रबिन्दुद्वारा शैक्षिक क्षेत्रका प्रतिष्ठित व्यक्ति सम्मानित, सामुदायिक तथा संस्थागत विद्यालय पनि पुरस्कृत


केन्द्रबिन्दु अनलाइन मिडिया प्रलिको आयोजनमा ‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड, २०८०’ सम्पन्न भएको छ । 

आइतबार काठमाडौंको नक्सालस्थित होटल मेरिएटमा सम्पन्न कार्यक्रममा केन्द्रबिन्दुले शैक्षिक क्षेत्रमा अब्बल साबित भएका संस्थागत र सामुदायिक विद्यालयलाई सम्मान गरेको हो । कार्यक्रममा शैक्षिक क्षेत्रमा योगदान पुर्‍याउने २० जना व्यक्तिसमेत सम्मानित भएका छन् ।

केन्द्रबिन्दुले सीमित स्रोतसाधनका वाबजुत आफूलाई अब्बल साबित गरेका देशभरका २२ वटा सामुदायिक विद्यालयलाई ‘केन्द्रबिन्दु प्लस टु एक्सिलेन्स अवार्ड, २०८०’ बाट सम्मानित गरेको हो । विद्यालयले पछिल्लो ५ वर्षमा प्राप्त गरेको नतिजा, विद्यार्थी संख्या, विद्यालयको भर्नादर, भौतिक संरचना, शैक्षिक वातावरण, सिकाई पद्धतिलगायतलाई आधार मानेर अवार्ड प्रदान गरिएको केन्द्रबिन्दुका प्रबन्ध निर्देशक विदुर खतिवडाले जानकारी दिए । 

कार्यक्रमका प्रमुख अतिथि सभामुख देवराज घिमिरेले सम्मानित व्यक्ति र संस्थालाई सम्मानपत्र प्रदान गरेका छन् । 

कार्यक्रममा सभामुख घिमिरेले समाजको विकासका सन्दर्भमा जुन रुपमा शिक्षाको विकास हुनुपर्ने थियो त्यस रुपमा हुन नसकेको कुरा आएको सन्दर्भमा उत्कृष्ट शिक्षा सेवा दिने शिक्षालय र व्यक्तिलाई प्रोत्साहित गर्दै आपसी हातेमालो गरेमा शैक्षिक विकासमा योगदान पुग्न सक्ने उल्लेख गरे ।
 
‘हामीले प्राप्त गरेको ज्ञान र  ज्ञानको हस्तान्तरण गर्दै शैक्षिक विकास र व्यावहारिक शिक्षाका माध्यमबाट मुलुकले समृद्धि हासिल गर्न सक्छ ।’, उनले भने, ‘कानुन र नीति निर्माण गर्ने सन्दर्भमा संसद्को भूमिकाका लागि मेरो सधैँ सकारात्मक भूमिका हुने हुनेछ ।’

त्यस्तै, कार्यक्रमका विशिष्ट अतिथि तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालको शिक्षा क्षेत्रमा करिब ६० प्रतिशत योगदान निजी क्षेत्रको भएको बताएका छन् । उनले भने, ‘आइएफसीलए एउटा अध्ययन गरेको थियो । जसमा नेपालको शिक्षामा करिब ६० प्रतिशत योगदान निजी क्षेत्रको देखिएको छ ।’

उद्योग वाणिज्य महासंघले समग्र निजी क्षेत्रको प्रतिनिधित्व गरे पनि शिक्षाको हकमा त्यसको कमी महसुस भएको स्मरण गर्दै उनले भने, ‘शिक्षा क्षेत्रका विषयहरूलाई सरोकारवाला निकायसम्म पुर्‍याउन सधैँ तत्पर रहने छौँ ।’

कार्यक्रममा निजीतर्फ व्यक्तिगत तथा सामूहिक लगानीमा खोलिएका र शैक्षिक क्षेत्रमा आफूलाई स्थापित गराउन सफल विद्यालय पनि सम्मानित भएका छन् । नेपालको समग्र शिक्षा क्षेत्र उकास्न निजी क्षेत्रको पनि महत्त्वपूर्ण योगदान छ भन्ने पुष्टि गरेका विद्यालयलाई केन्द्रबिन्दुले सम्मान गरेको हो । 

त्यस्तै, केन्द्रबिन्दुले करिब ३ दशकदेखि शैक्षिक क्षेत्रमा योगदान पुर्‍याउँदै आएका २० जना व्यक्तित्वलाई समेत ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान, २०८०’ ले सम्मान गरेको केन्द्रबिन्दुका प्रबन्ध निर्देशक खतिवडाले बताए । शिक्षामा जीवन समर्पण गरेका, शिक्षा क्षेत्रका पथ प्रदर्शकलाई सम्मान गर्न पाउँदा खुसी व्यक्त गरे । 

कार्यक्रममा नेपाल सरकारको मुख्य सचिव डा. वैकुण्ठ अर्याल, नेपाली कांग्रेसमा सहमहामन्त्री डा. महालक्ष्मी उपाध्याय डीना, पूर्व मन्त्री एवं कंग्रेस केन्द्रीय सदस्य उमेश श्रेष्ठ लगायतको उपस्थिति थियो ।

Logo