अवकास पाएका शिक्षकलाई गोल्डेन हेन्डसेक दिन सुरु

अवकास पाएका शिक्षकलाई गोल्डेन हेन्डसेक दिन सुरु

केन्द्रबिन्दु
0
Shares

लमजुङ । सरकारले अनिवार्य अवकास पाएका शिक्षकलाई ‘गोल्डेन हेन्डसेक’ (उपदान) दिन सुरु गरेको छ । लमजुङका शिक्षकलाई उदान दिन थालिएको हो । उनीहरुले बढीमा ११ लाख रुपैयाँसम्म पाएका छन् ।

स्थायी हुन नसकेका र मौका परीक्षा नदिएका अस्थायी शिक्षकलाई सरकारले उपदान दिने कार्य लमजुङमा सुरु भएको हो । शिक्षा विकास तथा समन्वय इकाईले मंगलबारदेखि अवकास प्राप्त शिक्षकलाई उपदान दिन थालेको छ ।

उपदान पाउन योग्य शिक्षकलाई पाउनुपर्ने रकम बराबरको चेक दिन थालेको इकाई प्रमुख नारायण रेग्मीले जानकारी दिए । शिक्षकको डकुमेन्टको आधारमा कोष तथा लेखा नियन्त्रकको कार्यालय (कोलेनिका) मा चेक बन्ने र शिक्षा कार्यालयले उपदान पाउनुपर्ने शिक्षकलाई चेक दिने गरेको छ ।

पहिलो चरण अन्तर्गत लमजुङमा १ सय ६४ जना शिक्षकले पाउनुपर्ने रकम आइसकेको इकाई प्रमुख रेग्मीले बताए । १० करोड रुपैयाँ बजेट आएको र वितरणकार्य भइरहेको उनले बताए । दोस्रो चरण अन्तर्गत १ सय जनाको रकम विद्यालय शिक्षक कितावखानाबाट आउन बाँकी रहेको उनको भनाई छ ।

कितावखानाले ५ करोड रुपैयाँ पठाउन बाँकी रहेको छ । कम पाउने शिक्षकले ८ लाख रुपैयाँसम्म पाउने गरेको छ । लमजुङमा २ सय ६४ जना शिक्षकले सरकारी उपदान पाउने भएका छन् ।

सरकारले लामो समय अस्थायी शिक्षकलाई स्थायी हुने मौका दिएको थियो । सरकारले २०७५ असार २८ र २९ गते परीक्षा लिएको थियो । पास भएकाले २०७५ चैत २९ गते स्थायी नियुक्ति लिएका थिए । भने स्थायी हुन नसकेका र २०७२ असोज २ गतेसम्म नियुक्ति लिएका सबै अस्थायी शिक्षकले अनिवार्य अवकास पाएका छन् । सरकारले ५ वर्ष अस्थायी सेवा पुगेकालाई उपदान दिने व्यवस्था गरेको छ ।

Logo