काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा प्रकाशित गरेको छ । बोर्डले बिहिबार सानोठिमी स्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी नतिजा प्रकाशन गरेको हो । नतिजा प्रकाशनसँगै विद्यार्थी र अभिभावक अलमलमा पर्ने गरेका छन् ।
एसईईको नतिजा प्रकाशन भएसँगै विद्यार्थीहरु ग्रेडिङ प्रणालीका कारण कुन विषय पढ्ने, के के विषय पढ्न पाउने भन्नेमा अन्यौल देखिन्छन । कम ग्रेड ल्याउने विद्यार्थीहरु आफ्नो जीपीएले के पढ्न पाउने के पढ्न नपाउने भन्नेबारे अन्योलमा छन् ।
शिक्षा मन्त्रालयले लेटर ग्रेडिङ प्रणाली सुरु गरेसँगै विद्यार्थीले प्राप्त गरेको ग्रेडअनुसार कक्षा ११ मा के पढ्न पाउने के नपाउने भन्ने व्यवस्था गरेको छ ।
उक्त व्यवस्थाअनुसार विज्ञान संकायअन्तर्गत पर्ने विषयहरु भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान, कम्प्युटर साइन्स विषय अध्ययन गर्न एसईईमा न्यूनतम २ जीपीए अनिवार्य ल्याएको हुनुपर्छ ।
त्यस्तै विषयगत आधारमा विज्ञान र गणित विषयमा ‘सी–प्लस’, अंग्रेजीमा ‘सी’ र सामाजिक र नेपाली विषयमा ‘डी–प्लस’ अनिवार्य प्राप्त गरेको हुनुपर्नेछ ।
त्यस्तै, व्यवस्थापन संकायमा अध्ययन गर्न चाहने विद्यार्थीले १.६ जीपीए अनिवार्य प्राप्त गरेको हुनुपर्नेछ । र, विषयगतका आधारमा गणितमा ‘सी’, अंग्रेजी, नेपाली, सामाजिक र विज्ञानमा ‘डी–प्लस’ अनिवार्य प्राप्त गरेको हुनु पर्नेछ ।
मानविकी र शिक्षा संकायमा अध्ययन गर्न समग्रमा १.६ जीपीए अनिवार्य गरिएको छ भने विषयगत आधारमा नेपाली, अंग्रेजी र सामाजिकमा ‘डी–प्लस’ अनिवार्य ल्याउनु पर्नेछ ।
कक्षा ११ मा प्राविधिक स्वास्थ्य अध्ययन गर्न २.० जीपीए चाहिन्छ । विषयगत आधारमा अंग्रेजी, गणित र विज्ञानमा ‘सी–प्लस’ अनिवार्य प्राप्त गरेको हुनुपर्छ ।
प्राविधिकतर्फ इन्जिनियरिङ पढ्न १.६ जीपीए अनिवार्य र विषयगत आधारमा गणित र विज्ञान विषयमका ‘सी’ तथा अंग्रेजीमा ‘डी–प्लस’ ल्याएको हुनुपर्छ । त्यस्तै, कृषि अध्ययन गर्न १.६ जीपीए अनिवार्य गरिएको छ भने अंग्रेजी, गणित, विज्ञानमध्ये एउटा विषयमा ‘डी–प्लस’ ल्याउनुपर्ने हुन्छ ।





























प्रतिक्रिया