काठमाडौँ । संस्कृति इन्टरनेशनल स्कुलले छैटौँ मोडेल युनाइटेड नेसन्स (६.० एमयुएन)को आयोजना गरेको छ । विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराइ उनीहरूमा भएको खुबी र जीवनोपयोगी सीप तथा क्षमता विकास गर्ने उद्देश्यले एमयुएनको आयोजना गरिएकाे हो ।
कार्यक्रममा यसपटक उपत्यका बाहिरका धेरै विद्यार्थीहरुलाई सहभागी गराइएको छ । संस्कृति इन्टरनेशनल स्कुलकी फाउन्डर डाइरेक्टर दीप्ती आचार्यका अनुसार कार्यक्रममा २० वटा विद्यालयका ४ सय विद्यार्थीले भाग लिएका छन् । जसमा ६ वटा विद्यालय उपत्यका बाहिरका रहेका छन् । धनगढी, बिर्तामोड र पोखरा लगायतका ठाउँबाट ६० जना विद्यार्थी कार्यक्रममा सहभागी छन् ।

कार्यक्रममा सहभागी विद्यार्थीहरुले विभिन्न विषयमा बहस र अन्तर्क्रिया गर्नेछन् । जसबाट उनीहरुमा वैश्विक दृष्टिकोणको विकास हुने आचार्यले बताइन् ।

काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा विद्यार्थीले विभिन्न ज्ञानवर्द्धक जानकारी आदानप्रदान गर्नुका साथै फरक फरक विचारको सम्मान गर्ने संस्कारको विकास गर्दै आपसी सञ्जाल पनि विस्तार गर्न सक्ने स्कुलकी फाउन्डर डाइरेक्टर आचायले जानकारी दिइन् ।

कार्यक्रमका प्रमुख अतिथि प्राडा थापाले पछिल्लो समयका विद्यार्थीले सारा संसारलाई चिने पनि आफ्नो छेउको स्कुल र विश्वविद्यालयलाई चिन्न नसकेको भन्दै गुनासो गरेका छन् । उनले गौतम बुद्धले प्रदान गरेको ज्ञानको स्मरण गर्दै संघमा आवद्ध भएर संस्कार सिक्ने र आफ्नो जिम्मेवारीको बोध हुनुपर्नेमा जोड दिएका छन् । जसको नेतृत्व संस्कृति इन्टरनेशनल स्कुलजस्ता शैक्षिक संस्थाले गर्नुपर्ने उनको भनाइ छ ।

संयुक्त राष्ट्र संघबाट मान्यताप्राप्त मोडेल युनाइटेड नेसन्स एक शैक्षिक मञ्च हो । जसमा विद्यार्थीले विभिन्न देशका प्रतिनिधिहरूको भूमिकामा रही विश्वव्यापी समस्या र तिनको समाधान गर्ने उपायबारे सुझाव दिने गर्दछन् ।


































प्रतिक्रिया