आइओएम पाँच महिनादेखि डिन विहीन, राजनीतिक भागबन्डा नमिलेको आरोप

आइओएम पाँच महिनादेखि डिन विहीन, राजनीतिक भागबन्डा नमिलेको आरोप

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)मा विगत पाँच महिनादेखि डिनको पद रिक्त छ । गत असारमा डा. दिव्यासिंह शाहको कार्यकाल सकिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले समयमै डिन नियुक्ति गर्न नसक्दा आइओएम डिन विहीन बनेकाे हो ।

त्रिविले लामो समयसम्म पनि डिन नियुक्त गर्न नसक्नुको मुख्य कारण भागबन्डा नमिल्नु रहेको आइओएमको प्राध्यापकहरुको बुझाइ रहेको छ । राजनीतिक आधारमा डिन नियुक्ति हुने भएकाले पछिल्लो समय आइओएमको साख खस्कँदै गएको छ । आइओएमको साख बचाइ राख्नका लागी राजनीतिक आधारमा भन्दा पनि बरियताको आधारमा डिन नियुक्ती गर्नुपर्नेमा पनि प्राध्यापकहरुले जोड दिएका छन् ।

त्रिविले लामो समयसम्म पनि डिन नियुक्त गर्न नसक्नुको मुख्य कारण भागबन्डा नमिल्नु रहेको आइओएमको प्राध्यापकहरुको बुझाइ रहेको छ ।

आइओएमको सह–प्राध्यापक डा. गोपाल सेढाईंले भने, ‘अहिले ८ वटा संकाय डिन विहीन छन्, यसमध्ये चाँडो भन्दा चाँडो आइओएमलाई डिनको आवश्यकता रहेको छ किन भने आइओएममा डिन, क्याम्पस प्रमुख, अस्पताल निर्देशक सबै निमित्त हुनुहुन्छ । चार जना सहायक डिन मध्ये दुई जना सहायक डिन मात्र हुनुहुन्छ ।’

उनले थपे, ‘हामीले पटक पटक छिटोभन्दा छिटो नियुक्ति गरिदिनुहोस् भनेर ज्ञापनपत्र पनि बुझायौं तर पनि अहिलेसम्म डिन नियुक्त हुन सकेको छैन । आइओएम जस्तो संस्थामा राजनीतिक आधारमा डिन आउनु हुँदैन भन्ने हो । आइओएमको चिकित्सक संघले त्रिविका पदाधिकारीहरुलाई राजनीतिक भागबन्डा नमिलेर ढिलाइ भएको हो भन्ने प्रश्न गर्दा होइन भन्नु हुन्छ तर राननीतिक भागबन्डा नमिलेकै कारणले डिन नियुक्तिमा ढिलाई भएको हो ।’

डिन नियुक्त हुन नसक्दा आइओएमको सम्पूर्ण क्रियाकलापहरु ठप्प भएका छन् ।

त्यस्तै, शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले पनि राजनीतिक भागबन्डा नमिलेर डिनको टुङ्गो नलागेको बताए । उनले भने– ‘सबै संकायको डिनका लागी छनौट समितिले तिन जनाको नाम पठाइसकेको छ र पनि डिन नियुक्ति हुन सकेन । किन भने त्यहाँ राजनीतिक भागबन्डा मिलेन ।’

कार्यकारी परिषद्ले डिन नियुक्तिका लागि नाम सिफारिस गर्न गत साउन ३२ मा प्रा.डा. कृष्णकुमार ओलीको संयोजकत्वमा तीन सदस्यीय छनौट समिति गठन गरेको थियो । उक्त समितिले तीन जनाको नाम सिफारिस गरिसकेको छ, जसमा निवर्तमान डिन प्रा. डा. दिव्या सिंह शाह, प्रा. डा. मोहनराज शर्मा, प्रा. डा. सुधा बस्नेत छन् ।

समितिले तीन जना प्राध्यापकहरुको नाम सिफारिस गरेको दुई महिना वितिसक्दा पनि आइओएमले डिन पाउन सकेको छैन ।

चिकित्साशास्त्र अध्ययन संस्थानमा डिन नियुक्त नहुँदा क्याम्पस प्रमुख, कार्यकारी निर्देशक, विभागीय प्रमुख नियुक्ति र बढुवाको काम समेत अवरुद्ध भएको आइओएमको स्ववियु सभापति डा. आनन्द सिंहले गुनासो गरे । उनले भने, ‘डिनको लागी तिन जनाको नााम सिफारिस भएको २ महिना कटिसकेको छ तर पनि त्रिविले डिन नियुक्त गर्न सकेको छैन । डिन नियुक्त हुन नसक्दा आइओएमको सम्पूर्ण क्रियाकलापहरु ठप्प भएका छन् ।’

तर, यो विषयमा केन्द्रबिन्दुसँग त्रिविका उपकुलपति प्रा. डा. केशर जङ्ग बराल भने आइओएमको डिनका लागी ‘सेलेक्सन प्रोसेस’ पूरा भैसकेको र मंसिरभित्र नै डिन नियुक्ति हुने बताउँछन् ।

को बन्ला त आइओएमको डिन ?

आइओएमको डिनका लागि निवर्तमान डिन प्रा. डा. विद्यासिंह शाह, प्रा.डा. मोहनराज शर्मा, प्रा.डा. सुधा बस्नेतबीच प्रतिष्पर्धा हुने भएको छ । निवर्तमान डिन प्रा.डा. विद्यासिंह शाहको कार्यकाल विवादमै वित्यो ।

चारवर्षे कार्यकालमा डा. सिंहले नियमविपरीत गरेका निर्णयको आइओएममा चाङ नै लागेको बताउँछन् आइओएमको पदाधिकारीहरु  । आफूखुशी नियम र कार्यविधि बनाउने अनि सोहीअनुसार निर्णय र नियुक्ति गर्दा आइओएमको साख नै खस्किएको भन्दै विभिन्न समयमा सर्वोच्च अदालतमा डिन कार्यालयविरुद्ध मुद्दा दायर पनि भएको थियो । बाह्य परीक्षकको पारिश्रमिक बढाउनुपर्ने मागपछि गठन गरिएको समितिको प्रतिवेदनविरुद्ध गरिएको डिन कार्यालयको निर्णय विवादित बनेको छ ।

राजनीतिक आधारमा डिन नियुक्ति हुने भएकाले पछिल्लो समय आइओएमको साख खस्कँदै गएको छ ।

विद्यार्थीहरुको समेत गुनासो नसुन्ने र आफू खुशी काम गर्ने भनेर पनि आलोचना समेत खेप्नुपर्यो । बेरियर सिस्टममा परेका विद्यार्थीहरु एक पटक मौका परिक्षा दिन पाउनु पर्छ भन्दै लामो समयसम्म अनशनमा बस्दा पनि विद्यार्थीहरुसँग कुनै पनि किसिमको सहजीकरण नगरी दिएको र बोल्नै नचाहेको विद्यार्थीहरुको भनाइ छ । आइओएमको डिन राजनीतिक आधारमा भन्दा पनि बरियताको आधारमा हुनुपर्ने र आइओएमको साख खस्काउने भन्दा जोगाउने डिन नियुक्त हुन आवश्यक रहेको पदाधिकारीहरुले जोड दिएका छन् ।

चिकित्सा शिक्षासँग प्रत्यक्ष सम्बन्ध भएको संस्था आइओएममा लामो समय बितिसक्दा पनि डिन नियुक्त गर्न नसकेर कानमा तेल हालेर बसेको भन्दै शिक्षाविद्हरुले आरोप लगाएका छन् ।

Logo