काठमाडौं । व्यवहारिक शिक्षाका लागी कोशेढुङ्गा सावित हुँदै गएको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्का (सिटिइभिटी) शिक्षालयहरुमा पछिल्लो समयमा विद्यार्थीको संख्या ओरालो लागिरहेको छ । शिक्षालाई सिपसँग, सिपलाई रोजगारीसँग जोड्दै विद्यार्थीहरुलाई बजारमा सजिलै रोजगारी उपलब्ध गराउन सक्ने विशेषता भएता पनि पछिल्लो समय प्राविधिक शिक्षालयहरुलाई विद्यार्थी पाउनै मुस्किल रहेको देखिन्छ ।
सीप हुने, सजिलै रोजगारी पाइने, आत्मनिर्भर बन्न सकिने, उद्यम खोल्न सकिने, सरकारी जागिरमा धेरै सम्भावना हुने जस्ता विशेषता भएता पनि प्राविधिक शिक्षालयहरूलाई विद्यार्थी पाउनै मुस्किल छ । विद्यार्थी नपाउँदा कतिपय प्राविधिक शिक्षालयहरु बन्द हुने अवस्थामा छन् भने कतिपय शिक्षालयहरु आगामी दिनहरुमा सञ्चालन गर्नै हम्मेहम्मे पर्न सक्ने अवस्था आउने सञ्चालकहरु बताउँछन् ।
सिटिइभिटीले कति शिक्षालयहरु आवश्यक छ भनी अध्ययन नै नगरी हचुवाको भरमा सम्बन्धन दिँदा विद्यार्थीको संख्या घटेको हो की भन्ने प्रश्न उब्जिएको छ ।
दाङ जिल्लाकै केन्द्रविन्दु मानिन्छ तुल्सीपुर । केन्द्रमै रहेको तुल्सीपुर बहुप्राविधिक शिक्षालयमा पनि विद्यार्थीको सङ्ख्या २० प्रतिशतले घटेको छ । तुल्सीपुर बहुप्राविधिक शिक्षालयका शिक्षालय प्रमुख बसन्त आचार्यले भने– ‘सिटिइभिटिको पोलिसीका कारण विद्यार्थीको संख्या घटेको हो । उनले थपे सिटिइभिटीले २ वर्षमा सकिने कार्यक्रमलाई तीन बर्षको बनाएको छ । विद्यार्थीले पढाई सकि सके पछि रोजगारीको व्यवस्था गर्न नसक्नुले पनि विद्यार्थीको संख्या घटेको हो । पाठ्यक्रममा पनि समस्या छ जस्तै पहिलो वर्षमा साइन्स पढ्नु पर्छ तर साइन्स प्लस टु भन्दा जटिल राखिदिएको छ । सिप सिक्छु आत्मनिर्भर हुन्छु भन्ने विद्यार्थीलाई साइन्स पास गर्नै जटिल छ । मुस्किलले ७/८ प्रतिशतले मात्र पास गर्छन् । त्यसैले पाठ्यक्रमको कारणले पनि विद्यार्थी संख्या घट्ने क्रम बढिरहेको छ । ’
‘सिटिइभिटीमा राजनीति छिरेका कारण कर्मचारीहरु आफू कसरी बच्ने आफ्नो जागीर कसरी जोगाउने भन्नेतर्फ मात्र केन्द्रित भए । सिटिइभिटीलाई कसरी उत्कृष्ट बनाउने तर्फ ध्यान नदिँदा विद्यार्थीको आकर्षण घटेको नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भन्डारीले केन्द्रविन्दुलाई जानकारी गराए । उनले भने– ‘विद्यार्थीको सङ्ख्या घट्नुको मुख्य कारण सिटिइभिटिका पदाधिकारीहरुले परिषद्लाई कसरी उत्कृष्ट बनाउनेतर्फ ध्यान नदिनु र विद्यार्थीमैत्री नीति नहुँदा पनि विद्यार्थीहरुको चाप घट्दो क्रममा रहेको छ ।’
सिटिइभिटीलाई कसरी उत्कृष्ट बनाउनेतर्फ ध्यान नदिँदा विद्यार्थीको आकर्षण घट्याे ।
हचुवाको भरमा भटाभट सम्बन्धन दिँदा भद्रगाेल
सिटिइभिटी आफैंले सञ्चालन गरेका शिक्षालय तथा आंगिक शिक्षालयरु देशभर ६५ वटा छन् । त्यस्तै निजी शिक्षालयहरूको संख्या ४ सय ७ रहेको छ । ६ यस ३९ संख्यामा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा अर्थात् टेक्स शिक्षा सञ्चालनमा छन् । आर्थिक वर्ष २०७४/७५ देखि ६ वर्षको तथ्याङ्क हेर्ने हो भने ३१ शिक्षालयबाट बढेर ६६ वटा शिक्षालय स्थापना भएका छन् । साझेदारी शिक्षालयहरु ५ बाट बढेर ५२ को संख्यामा पुगेको छ ।
त्यस्तै टेक्स शिक्षालयहरु १८५ बाट ६३६ को संख्यामा पुगेको छ भने निजी स्तरका शिक्षालयहरु ४२९ बाट ७ वटा शिक्षालयहरु बन्द भएर ४२२ मा झरेको देखिन्छ । व्यवहारिक शिक्षा तथा तालिम परिषद्को ६ वर्षको तथ्याङ्कलाई केलाउँदा सिटिइभिटीले कति शिक्षालयहरु आवश्यक छ भनी अध्ययन नै नगरी हचुवाको भरमा सम्बन्धन दिँदा विद्यार्थीको संख्या घटेको हो की भन्ने प्रश्न उब्जिएको छ । विगत ६ वर्षको तथ्याङ्क हेर्ने हो भने तिब्र गतिमा यस्ता शिक्षालयहरु खुलेको प्रष्ट हुन्छ । जति तिब्र गतिमा ति शिक्षालयहरु खुले त्यहि गतिमा बन्द हुने अवस्थामा पनि छन् । चिकित्सा शिक्षा आयोगले नर्सिङ पढाउनका लागि १०० बेडको अस्पताल अनिवार्य हुनुपर्ने नीति लागू गरेपछि ७३ वटा नर्सिङ क्याम्पसहरु बन्द भएका थिए ।
कुन वर्षमा कति विद्यार्थी भर्ना भए ?

सिटिइभिटीको विगत ५ वर्षको तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०७५/०७६ मा ८ सय ७७ शिक्षालय हुँदा विद्यार्थीको संख्या ५० हजार ८०२ रहेको तथ्याङ्कले देखाउँछ । आर्थिक वर्ष २०७६/७७ मा शिक्षालयको संख्या बढेर १ हजार ४२ पुग्दा विद्यार्थीको संख्या भने घटेर ४७ हजार ४ सय ९३ मा झरेको देखिन्छ ।
जति तिब्र गतिमा ति शिक्षालयहरु खुले त्यही गतिमा बन्द हुने अवस्थामा पनि छन् ।
त्यस्तै, आर्थिक वर्ष २०७७/७८ मा शिक्षालयको संख्या ११ सय पुग्दा विद्यार्थी भर्ना भएको संख्या भने ३२ हजार ५ सय ५९ रहेको तथ्याङ्कले प्रष्ट्याउँछ । त्यसैगरी आर्थिक वर्ष २०७८/७९मा शिक्षालय खुल्नेको सङ्ख्या बढेर ११ सय ६ पुग्दा विद्यार्थी भर्ना सङ्ख्या थोरै उकालो लागेर ३६ हजार ५ सय ५९ पुगेको तथ्याङ्कले देखाउँछ । आर्थिक वर्ष २०७९/८० मा शिक्षालयको संख्या बढेर ११ सय ७६ पुग्दा विद्यार्थी भर्ना संख्या घटेर ३५ हजार १ सय ९० पुगेको सिटिइभिटीको तथ्याङ्कले प्रष्ट पारेको छ ।
सिटिइभिटीले वर्षै पिच्छे भर्ना क्षमता र पढाई हुने कार्यक्रमहरु वृद्धि गर्दै लगेको छ, जसको कारणले पनि विद्यार्थी सङ्ख्या घटेको देखिने सरोकारवालाहरुको बुझाइ छ । सिटिइभिटीले सजिलै सम्बन्धन दिँदै शिक्षालय खोल्न हतारिनुभन्दा देशको लागि कति शिक्षालय आवश्यक रहेको छ र कुन कुन प्राविधिक शिक्षाका कार्यक्रम आवश्यक छ भनी अध्ययन गरेर मात्र सम्बन्धन दिने हो की ?





























प्रतिक्रिया