काठमाडौं मोडल कलेज बागबजारको २१औं दीक्षान्त समारोह सम्पन्न 

काठमाडौं मोडल कलेज बागबजारको २१औं दीक्षान्त समारोह सम्पन्न 

केन्द्रबिन्दु
384
Shares

काठमाडौं । काठमाडौंको बागबजारमा अवस्थित काठमाडौं मोडल कलेजले आफ्नो २१ औँ दीक्षान्त समारोह सम्पन्न गरेको छ ।

पार्क भिलेज रिसोर्ट बुढानीलकण्ठमा काठमाडौं मोडल कलेज तथा केएमसी एजुकेसनल नेटवर्कका अध्यक्ष रामेश्वर अर्यालको अध्यक्षतामा दीक्षान्त समारोह सम्पन्न भएको हो । उक्त कार्यक्रममा काठमाडौं मोडल कलेजमा अध्ययन गरी स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण गरेका करिब १५० जना विद्यार्थीहरू दीक्षित भएका थिए।

दीक्षित हुने विद्यार्थीहरूलाई कलेजका कलेज प्रमुख सुरेन्द्र सुवेदीले स्वागत मन्तव्यमा दीक्षित हुने विद्यार्थीहरू कलेजका ब्रान्ड एम्बेसेडर भएको जानकारी गराउँदै आफ्ना विद्यार्थीहरूको प्रगतिमा कलेजले सधैँ गर्व गरिरहने जानकारी गराएका थिए । सोही अवसरमा कलेजका कलेज प्रमुख सुवेदीले दीक्षित विद्यार्थीहरुलाई सुशोभन शपथ समेत खुवाएका थिए ।

राष्ट्रिय सभाका सदस्य तथा इजरायलका लागि पूर्व राजदूत डा. अन्जान शाक्यको प्रमुख आतिथ्यतामा पार्क भिलेज रिसोर्टको सभाहलमा सम्पन्न कार्यक्रममा स्टार स्कलर्स नेटवर्क अस्ट्रियाका कन्ट्री डाइरेक्टर तथा जोनियम युनिभर्सिटी अफ अप्लाइड साइन्स का प्रा.डा. बर ग्रेट फिलिप्स मुख्य वक्ताको रुपमा थिए । 

काठमाडौं मोडल कलेजका सल्लाहकार, नबिल बैंकका अध्यक्ष तथा नेपाल व्यवस्थापन सङ्घका पूर्व अध्यक्ष उपेन्द्र पौडेलले अतिथिको रुपमा आफ्नो मन्तव्य राख्दै विद्यार्थीहरूले आर्जित ज्ञान र सीप उपयुक्त रुपमा प्रयोग गर्न जानेमा देशमा नै अथाह अवसर रहेको कुरा अवगत गराउँदै विद्यार्थीहरूको समुन्नत भविष्यका लागि शुभकामना प्रदान गरेका थिए । 

यसैगरी मुख्य वक्ताको रुपमा रहनुभएकी प्रा. डा. बरग्रेट फिलिप्सले दीक्षित हुने सम्पूर्ण विद्यार्थीहरूलाई आफूले अध्ययन गरेको ज्ञान र  र प्राप्त गरेको सीपलाई आफ्नो राष्ट्र र राष्ट्रियतासँग जोड्दै समुन्नत भविष्यका लागि सुसंस्कृत हुँदै अगाडि बढ्नुपर्ने सुझाव दिएका थिए ।

आफ्नो सम्बोधनमा मुख्य अतिथि राष्ट्रिय सभाका सदस्य तथा इजराइलका पूर्व राजदूत डा. अनजान शाक्यले विद्यार्थीहरूले आफ्नो भविष्य निर्माण गर्ने क्रममा विश्वको जुनसुकै कुनामा पुगे पनि देशलाई बिर्सिन नहुने र आर्जित गरेको सीप र ज्ञान आफ्नो देशका लागि नै समर्पण गर्नुपर्ने मन्तव्य राखेका थिए । 

उक्त दीक्षान्त समारोहमा कलेजमा अध्ययन गर्दै गर्दा स्टुडेन्ट क्वालिटी सर्कल तथा विभिन्न क्लबहरूमा रहेर विभिन्न योगदान दिएका विद्यार्थीहरूलाई सम्मान समेत गरिएको थियो।

यस्तैगरी कलेजले केएमसी एकेडेमिक एक्सेलेन्ज अवार्ड अन्तर्गत बिबिए तर्फ त्रिशा अग्रवाल, बिबिएम तर्फ रोशनी कर्ण, बिए तर्फ शशी चौलागाईं, बिबिएस तर्फ शारदा गौतम, एमए तर्फ श्वेता आचार्य तथा एमबिएसतर्फ भीष्म भण्डारीलाई प्रमाणपत्र तथा  प्रति विद्यार्थी काठमाडौं २० हजार रुपैयाँका दरले नगदबाट सम्मान गरिएको थियो। यस्तैगरी बेस्ट अन्डरग्राजुएट रिसर्च अवार्डबाट  बिबिएस तर्फबाट पूजा गौडेल तथा बिबिए तर्फबाट सुशीता न्यौपानेलाई प्रमाणपत्र, अवार्ड तथा २० हजार रुपैयाँका दरले  नगदबाट सम्मान गरिएको थियो।

यस्तैगरी स्नातकोत्तर तहतर्फ बेस्ट अन्डरग्रजुएट रिसर्च अवार्डबाट एमए तर्फ गोकर्ण ओझा तथा एमबिएसतर्फ प्रसिद्ध बस्नेतलाई प्रमाणपत्र, अवार्ड तथा प्रति विद्यार्थी २० हजार रुपैयाँका दरले नगदबाट सम्मान गरिएको थियो। 

विसं २०६० सालमा स्थापित काठमाडौं मोडल कलेजमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका एमबिएस,  एमए अंग्रेजी, बिबिए, बिबिएम, बिबिएस, बिसिए तथा बीए अन्तर्गत  अंग्रेजी, सामाजिक कार्य, मनोविज्ञान एवं अर्थशास्त्र विषयहरू सञ्चालन हुँदै आएका छन्।

अघिल्लो वर्ष मात्रै विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्ययन प्राप्त  यस कलेज देशभरका निजी कलेजतर्फ नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा सर्वोत्कृष्ट शैक्षिक संस्थाको रुपमा समेत सम्मानित भएको संस्था हो।

काठमाडौं मोडल कलेजका आइक्युएसी प्रमुख ध्रुवप्रसाद  तिमल्सिनाले सञ्चालन गरेको उक्त कार्यक्रममा कलेजका निर्देशकहरू सहप्राध्यापक अजयप्रसाद ढकाल, सहप्राध्यापक किशोर गौतम, डा. ध्रुव भट्टराई, डा. मनोजकुमार थापा, एमआइटी कलेजका प्रमुख कार्यकारी अधिकृत आर के दाहाल,  विभागीय प्रमुखहरू सागर खरेल,  विनोद पौडेल एवं एलिसराज राजोपाध्याय सहित कलेजमा अध्यापन गर्दै गरेका सम्पूर्ण अध्यापकहरू तथा अभिभावकहरु को समेत उल्लेख्य सहभागिता रहेको थियो।

Logo