काठमाडौं । विद्यालय तहका विद्यार्थीको मूल्याङ्कन घरायसी कामबाट गर्न पाठ्यक्रम विकास केन्द्रले सैद्धान्तिक सहमति पाएको छ । बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको अध्यक्षतामा बसेको पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले केन्द्रलाई सहमति दिएको हो ।
परिषद्को सहमतिसँगै अब केन्द्रले विद्यार्थीको मूल्याङ्कनको आधार तथा मापदण्ड बनाएर कार्यान्वयनका लागि सम्बन्धित विद्यालयमा पठाउने तयारी गरेकाे छ । विद्यार्थीहरुले गरेको घरायसी कामलाई पढाईसँग जोड्ने उदेश्यले पाठ्यक्रम परिमार्जन गर्न लागेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।
नयाँ पाठ्यक्रम अनुसार अब विद्यार्थीले घरमा घाँस काटे, खेतबारीमा काम गरे, किनमेलमा अभिभावकलाई सघाएमा, आफ्नो क्षमता अनुसारको काम गरेमा विद्यालयबाट वार्षिक परीक्षामा अङ्क पाउने छन् । त्यस्तै, गाउँमा कुनै कार्यक्रममा स्वयं सेवकको रुपमा काम गरे, सचेतना मुलक कार्यक्रममा सहभागि भए पनि विद्यार्थीले नम्बर पाउने छन् ।
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठका अनुसार कक्षा ६ देखि १० सम्मका विद्यार्थीको मूल्याङ्कन यस मापदण्ड अनुसार गरिने छ । पहिलो चरणमा सामाजिक अध्ययन, गणित र विज्ञान विषयको मूल्याङ्कन घरायसी कामलाई आधार मानेर गरिने उनले जानकारी दिए ।
यस्ताे छ मूल्यांकनको प्रकृया
कक्षा ४ देखि ८ सम्म ५० नम्बरको आन्तरिक मूल्यांकन हुन्छ । त्यसैगरी कक्षा ९ देखि १२ सम्म २५ नम्बरको आन्तरीक मूल्यांकन हुने व्यवस्था पाठ्यक्रममा रहेको छ । अब कक्षा कक्षा ६ देखि १० सम्ममा घरायसी काम गरेबापत पनि विद्यार्थीले नम्बर पाउने गरी पाठ्यक्रम परिमार्जन गर्ने भएको छ । उक्त व्यवस्था पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रमको आन्तरिक मूल्यांकनभित्र समावेश गर्न लागेको हो ।
आन्तरिक मूल्यांकनभित्र परियोजना कार्य (प्रोजेक्ट वर्क)को नम्बर हुन्छ । जस्तै, कक्षा ६ देखि ८ सम्म ५० पूर्णांकमध्ये ३६ नम्बर परियोजना कार्यको हुन्छ । सोही परियोजना कार्यभित्र नै घरायसी कामको पनि मूल्यांकन समेट्ने पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।
कक्षा ६ देखि ८ सम्म आन्तरिक मूल्यांकनको ३६ नम्बर बाट र कक्षा ९ र १० मा आन्तरिक मूल्यांकनको १६ नम्बरको परियोजना कार्य (प्रोजेक्ट वर्क) हुन्छ, त्यहि परियोजना कार्यबाट ३ नम्बर घरायसी काम गरे बापत विद्यार्थीले प्राप्त गर्ने छन् ।
कसरी दिइने छ नम्बर ?
विद्यार्थीले घरायसी काम गरे बापत पनि नम्बर पाउने इन्टर्नशिप जस्तै भएको केन्द्रले जानकारी गराएको छ । केन्द्रविन्दुलाई बताएअनुसार विद्यार्थीले कामको अनुसार नम्बर पाउने नभई घण्टाको हिसावले नम्बर पाउने छन् । यदि कुनै पनि विद्यार्थीले एक घण्टा काम गरे भने ०.२ नम्बर पाउने छन् । त्यसैगरी ५ घण्टा काम गरे भने १ नम्बर पाउनेछन् ।
एउटा विषयमा १५ घण्टा कामको मात्र मूल्यांकन हुन्छ । त्यो भन्दा बढि काम गरे मूल्यांकन हुँदैन । वर्षमा काम गरेको आधारमा विद्यार्थीले ३ नम्बर सम्म मात्र प्राप्त गर्नेछन् ।
कुन-कुन विषयमा विद्यार्थीले पाउँछन् नम्बर ?
कक्षा ६ देखि ८ सम्मका विद्यार्थीले घरायसी काम गरेवापत पनि नम्बर पाउने गरी पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम परिमार्जन गर्न लागेको छ । उक्त पाठ्यक्रम तत्काल गणित, सामाजिक र विज्ञान विषयमा लागू हुनेछ । घरायसी काम गरे बापत पनि विद्यार्थी नम्बर पाउने परिमार्जित पाठ्यक्रम शैक्षिक शत्र २०८३ बाट लागु गर्ने गरी केन्द्रले तयारी गरिरहेको छ ।
कुन-कुन घरायसी काम गर्दा नम्बर दिने विषयमा सम्बन्धित विषय शिक्षकले विद्यार्थीका अभिभावकसँग समन्वय गरेर विद्यार्थीको घरको कामको मूल्याङ्कन गर्ने छन् र सोही मूल्याङ्कनका आधारमा अङ्क दिइने छ ।
कुन-कुन विषयको पाठ्यक्रम भए स्वीकृत ?
पाठ्यक्रम विकास केन्द्रले परिमार्जन गर्न लागेको अन्य तीन वटा ऐच्छिक विषयवस्तुको पाठ्यक्रम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृत गरेको छ । कक्षा ६ र ८ को चाम्लिङ् राई भाषाको पाठ्यक्रम, कक्षा ९ र १० को ईतिहास र वातावरण विज्ञानको पाठ्यक्रम स्वीस्कृत भएको छ । लामो समयदेखि परिमार्जित हुन नसकेको पाठ्यक्रम अब विद्यार्थीले नयाँ विषयवस्तु समेटिएको पाठ्यक्रम अध्ययन गर्न पाउने भएका छन् ।
याे पनि पढाैं,
घरमा काम गर्दा विद्यार्थीले कसरी पाउँछन् नम्बर ? पाठ्यक्रम विकास केन्द्रले थाल्यो तयारी





























प्रतिक्रिया