विद्यार्थी पलायन चिन्ताको विषय होइन, बरु कसरी देश फर्काउने त्यो सोच्न आवश्यक छ -मन्त्री पाण्डे

विद्यार्थी पलायन चिन्ताको विषय होइन, बरु कसरी देश फर्काउने त्यो सोच्न आवश्यक छ -मन्त्री पाण्डे

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आगामी दिनमा शैक्षिक परामर्श संघ (इक्यान)को सल्लाह अनुसार विदेशी विद्यार्थी भित्र्याउन सहजताका लागि आवस्यक नीति, कानुनका निर्माणका लागि तत्परताका साथ लाग्ने प्रतिबद्दता जनाएका छन् ।

काठमाडौंमा आयोजित इक्यानको १९औं वार्षिक साधारण सभा कार्यक्रममा मन्त्री पाण्डेले नेपालका शैक्षिक संस्थाहरुले विदेशी विद्यार्थी ल्याउन सक्ने वातावरण सिर्जना गर्न सरकार सदैव अग्रसर रहने बताएका हुन् ।

उनले भने, ‘म राष्ट्रिय सभामा हुँदा पनि विधायन समिति भनेर विधि बनाउने, कानुन बनाउने राष्ट्रिय सभाको समितिमा पनि बसेँ । अहिले पछिल्लो पटक मन्त्री भएपछि चाहिँ पद अनुसार अर्को समितिमा जानुपर्छ । त्यो भन्दा पहिले म शिक्षा स्वास्थ्य समिति मै थिएँ। त्यसैले यो क्षेत्रका विषयका बारेमा, यो क्षेत्रका संवेदनशीलताका बारेमा, यो क्षेत्रका सजिला, अप्ठ्याराका बारेमा, सम्भावना, चुनौतिहरुका बारेमा संवेदनशिल छु । नीति, कानुन बनाउने कुरामा सरकारले गर्नुपर्ने कुरा के हो, त्यसका लागि सरकार प्रतिबद्ध छ ।’

अध्ययनका लागि विद्यार्थी विदेश जानु भनेको ग्लोवलाईजेसनको प्रभाव भएको र यस्तो प्रवृति विश्वव्यापी रुपमा चल्दै आएकोले चिन्ता व्यक्त गर्न नहुने मन्त्री पाण्डेको भनाई छ । यो ग्लोबलाइजेसनको जमानामा नेपाल जस्तो सानो मुलुकले के लाभ लिन सक्छ, के फाइदा लिन सक्छ भन्नेतिर ध्यान दिन आवश्यक रहेको पनि उनले बताए ।

उनले थपे, ‘कोही अध्ययनको लागि बाहिर जाला, कोहि रोजगारी, व्यवसायको लागि बाहिरिएलान्, यो केवल नेपालमा मात्रै भइरहेको छैन, दुनियाँभर भइरहेको छ । यो चिन्ताको विषय होइन बरु अध्ययनका लागि बाहिर गएका विद्यार्थीलाई कसरी नेपाल फर्काउने त्यो सोच्न आवश्यक छ ।’

मन्त्री पाण्डेले विद्यार्थीलाई विदेश पठाउन मात्र नभई शैक्षिक परामर्श संघसंस्थाहरुले विदेशी विद्यार्थीहरुलाई नेपाल भित्र्याउनमा पनि महत्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको जनाए । जसरी हाम्रा विद्यार्थी बाहिर जान्छन् त्यसरी बाहिरका विद्यार्थी भित्र ल्याउनका लागि कस्तो नीति, कानूनको आवश्यक पर्छ । उक्त विषयमा इक्यानलगायत शैक्षिक परामर्श संघसँग सल्लाह सुझाव लिएर अगाडि बढ्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

Logo