काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शनिबार काठमाडौंको मेरियट होटलमा एक भव्य कार्यक्रमका बिच इक्यानले वार्षिक साधारण सभा सम्पन्न गरेको हो। अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिन स्थापित संस्थाहरुको सबैभन्दा ठूलो छाता संगठन इक्यानको १९औं वार्षिक साधारणसभाको प्रमुख अतिथिका रूपमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र विशिष्ट अतिथीका रुपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे उपस्थित भएका थिए।
अध्यक्ष शेषराज भट्टराईको सभापतित्वमा सुरु भएको कार्यक्रममा इक्यानमा आबद्ध देशभरका सदस्यकाे सहभागीता रहेकाे थियाे । वार्षिक साधारणसभा उद्दघाटन र बन्दसत्र गरी दुई वटा सेसनमा सम्पन्न भएको थियो ।
उद्दघाटन सत्रका क्रममा इक्यानका अध्यक्ष भट्टराईले अब बन्ने शिक्षा ऐनमा शैक्षिक परामर्श क्षेत्रलाई सकारात्मक रुपमा हेरिनुपर्ने माग राखेका छन्। उनले शिक्षाको बदलिँदो परिस्थितीमा वैदेशिक शिक्षामा सारथी बन्ने विभिन्न संघसंस्थाका लागि भिन्नै ऐन र नियमावली बन्न आवश्यक भएको बताए।
यस्तै, अध्यक्ष भट्टराईले शैक्षिक परामर्श संघप्रति सरकारको दोधारो चरित्रमाथि पनि प्रश्न उठाएका छन्। उनी भन्छन्, ‘संसारकै उत्कृष्ट विश्वविद्यालय र कलेजहरुको भर्ना प्रकृयामा साथि र सहयोगी बन्ने शैक्षिक संस्था र हामी जस्ता ज्ञानका एजेन्टप्रति सरकारी निकायले हेर्ने दृष्टिकाेण अझै पनि परिवर्तन भैसकेको छैन । अझै पनि हामीले यो देशको सरोकारकाला निकाय, मिडिया, शीर्ष राजनीतिज्ञ र सरकारका विभिन्न संस्थाहरुलाई इक्यानबारे राम्रोसँगले बुझाउन सकेका छैनौं ।’
यसैगरी कार्यक्रममा सभामुख घिमिरे विद्यार्थीहरुले विदेश गएर पढ्ने भन्दा पनि पढाईलाई कमाईको माध्यम बनाउनु बिडम्वना भएको भन्दै चिन्ता व्यक्त गरेका छन्। सभामुख घिमिरेले विद्यार्थीहरु पढ्ने भन्दा पनि शिक्षालाई जिविको पार्जनको माध्यम बनाउँदा राज्यले विडम्बनापूर्ण स्थिती भोगिरहेको बताए।
उनले भने, ‘मलाई लाग्छ शिक्षा आर्जन गर्ने कुरा खाली वैदेशिक रोजगारीको सहजताको लागि मात्र होइन । स्वदेशमा फर्केर पनि कामहरू गर्न सक्ने वा विदेशमा हामीले शिक्षा आर्जन गर्दा त्यो देशमा देखेका उन्नति र प्रगतिको कुराहरूलाई शिक्षाको रुपबाट लिन र हाम्रो देशको सन्दर्भमा कार्यान्वयन गर्ने योजनाहरू बनाउन पनि हो ।’
उनले थपे, ‘इक्यानले प्राविधिक शिक्षा आर्जन गर्नेको लागि कुन मुलुकमा, कुन विश्व विद्यालयमा गएर पढ्यो भने उक्त शिक्षा आर्जन गर्न सकिन्छ भन्ने ज्ञान विद्यार्थीलाई दिँदै आएको छ । जुन शिक्षा हाम्रो नेपालको समाजलाई अघि बढाउने सन्दर्भमा अथवा राष्ट्रको हितमा प्रयोग गर्न सकिन्छ । त्यहाँको शिक्षा आर्जन गरिसकेपछि नेपालमा फर्केर एउटा उदाहरण दिन सकिन्छ वा आकर्षणको चिज बनाउन सकिन्छ ।’
यस्तै कार्यक्रममा पर्यटनमन्त्री पाण्डेले आगामी दिनमा इक्यानको सल्लाह अनुसार विदेशी विद्यार्थी भित्र्याउन सहजताका लागि आवश्यक नीति, कानुनका निर्माणका लागि तत्परताका साथ लाग्ने प्रतिबद्दता जनाएका छन्। उनले नेपालका शैक्षिक संस्थाहरुले विदेशी विद्यार्थी ल्याउन सक्ने वातावरण सिर्जना गर्न सरकार सदैव अग्रसर रहने बताएका हुन्।
उद्दघाटन सत्रको अन्त्यमा, नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष राजेन्द्र बरालले अब कुनैपनि शैक्षिक परामर्श र परामर्श व्यवसायीहरु उच्च शिक्षा ऐनदेखि त्रसित नहुन आग्रह गरेका छन् । उनले पहिले शैक्षिक परामर्श संघ र शैक्षिक परामर्श व्यवसाय संघहरुलाई त्रसित हुने गरेको तर, उक्त त्रास अब हटेको बताएका हुन्।































प्रतिक्रिया