विद्यार्थीमा पलायनको होड चल्दा नेपालका विश्वविद्यालयको बिजोग, नजिकको तिर्थ हेला ?

विद्यार्थीमा पलायनको होड चल्दा नेपालका विश्वविद्यालयको बिजोग, नजिकको तिर्थ हेला ?


काठमाडौं । उच्च शिक्षाका लागि छिमेकी राष्ट्र भारतलगायत अन्य देशका विभिन्न विश्वविद्यालयमा जाने नेपाली विद्यार्थीहरुको लर्काे लाग्ने गरेको छ । यसरी विदेशिने विद्यार्थीको लहड चलिरहँदा स्वदेशका विश्वविद्यालय भने विद्यार्थी नपाएर छटपटाइरहेको अवस्था छ ।

भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ टेक्नोलोजी (किट) विश्वविद्यालयमा मात्र स्नातकदेखि स्नातकोत्तरमा १४ सय भन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत छन् । यो तथ्यांक भनेको पुरै भारतको विश्वविद्यालयमा अध्ययन गर्ने नेपाली विद्यार्थीको होइन । ‘किट’ विश्वविद्यालय अर्थात् एउटा मात्र विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या हो ।

एक तथ्यांकअनुसार सन् २०२२ मा मात्र १३ हजार भन्दा बढी विद्यार्थी भारतमा अध्ययनको लागि गएको देखिएको छ । नेपालबाट विदेशमा पढ्न जान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनुमति (एनओसी) लिनुपर्ने हुन्छ । उक्त प्रावधान आर्थिक वर्ष २०८०/८१ देखि भारत अध्ययनमा जाने विद्यार्थीको हकमा पनि लागू भएको छ ।

वैदेशिक अध्ययन अनुमति शाखाको तथ्यांक अनुसार चालु आर्थिक वर्षको २०८०/८१ मा ५ हजार ९ सय १० जना विद्यार्थीले एनओसी लिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

त्यस्तै, चालु आर्थिक वर्षको फागुन ७ सम्मको तथ्यांक अनुसार ४ हजार ७ सय ७३ जना विद्यार्थीले एनओसी लिएको देखिन्छ । तर यसभन्दा अगाडि भारत अध्ययनका लागि जाने विद्यार्थीका लागि एनओसी लिने व्यवस्था नभएकाले भारतमा कति विद्यार्थी अध्ययनरत छन् त्यसको यकिन तथ्यांक भने शिक्षा मन्त्रालयसँग समेत छैन ।

मन्त्रालयका सूचना अधिकारी निलकण्ठ ढकालले भने– ‘विश्वविद्यालयमा भर्ना हुनुभन्दा अगाडि एनओसी लिनुपर्छ तर कतिपय विद्यार्थी भर्ना भैसके पछि एनओसी लिने गरेका छन् । प्रायः जसो विद्यार्थीलाई एनओसी लिनुपर्छ भन्ने थाहा नै छैन ।’

उनले थपे, ‘एनओसी लिएर अध्ययन गर्न भारत जाने भन्दा एनओसी नलिई अध्ययनमा जाने विद्यार्थीको सङ्ख्या बढि भएको हुनुपर्छ ।’ यसरी धेरै मात्रामा विद्यार्थी भारत अध्ययनका लागि जाँदा नेपालका विश्वविद्यालयलाई भने विद्यार्थी पाउन सकस परेको देखिन्छ ।

हाल नेपालमा भएका कतिपय विश्वविद्यालयमा त हजार जना विद्यार्थी पनि छैनन् । यसले हाम्रो देशको विश्वविद्यालय कुन अवस्थामा छर्लङ्ग पारिदिएको छ । विज्ञान तथा प्रविधि अध्यापन गराउने उदेश्यले स्थापना भएको मदन भण्डारी विश्वविद्यालयमा १५ जना विद्यार्थी मात्र अध्ययनरत छन् । राजर्षीजनक विश्वविद्यालयमा ५२७ जना, मधेश विश्वविद्यालयमा सय जना मात्र विद्यार्थी अध्ययनरत छन् । भारतमा मधेश जिल्लाका विद्यार्थीहरु धेरै गएको देखिन्छ तर देशमै भएका विश्वविद्यालय भने विद्यार्थी विहिन बन्दै गएका छन् ।

नेपाली विद्यार्थी अध्ययनका लागि किन ओइरिन्छन् भारत ?

शिक्षा मन्त्रालयले तथ्यांक अनुसार ३० हजारको हाराहारीमा विद्यार्थी अध्ययनका लागि भारत गएको देखाएको छ । तर यो तथ्यांक पनि अन्दाजी तथ्यांक मात्र हो । समयमै पढाई सकिनु, देशमा विद्यार्थीले चाहे अनुसार पढाई नहुनु, छात्रवृत्तिको समेत व्यबस्था, नेपाल र भारतको खुला सिमानाका कारण पनि विद्यार्थीको आकर्षण बढ्दै गएको देखिन्छ ।

इन्जिनियरिङ्, मेडिकल, टेक्नोलोजी अध्ययनका लागि विद्यार्थी जाने गरेका छन् । नेपालका विश्वविद्यालयमा समयको माग अनुसार पढाई नहुनु, राजनीतिले विश्वविद्यालयको पढाई खस्कँदै जानु, समयमा परीक्षा नहुनु र समयमा नतिजा प्रकाशन नगर्ने समस्याले विद्यार्थीको आकर्षण घट्दै गएको देखिन्छ ।

शिक्षाविद् प्रा.डा. शोभाकर कंडेलले भने– ‘केही विश्वविद्यालयमा विद्यार्थीको सङ्ख्या घटे पनि अन्य विश्वविद्यालयमा यो वर्ष विद्यार्थीको सङ्ख्या बढेको छ । सामाजिक, आर्थिक, राष्ट्रिय र ग्लोबलाइजेशनको कारणले पनि विद्यार्थी विदेशिने गर्छन् ।’

सरकारले वैदेशिक अध्ययनका लागि एनओसी लेटर दिने प्रावधान भने स्नातक अध्ययन पछि हुनुपर्नेमा उनले जोड दिए । साथै शिक्षा मन्त्रालयले नेपालमा अध्ययन गरेका विद्यार्थीलाई नेपालमै रोजगारी कसरी सिर्जना गर्न सकिन्छ यस विषयमा पोलिसी बनाउन आवश्यक रहेको पनि जिकिर गरे ।

किटमा नेपाली विद्यार्थी

किट विश्वविद्यालयमा स्नातकदेखि पिएचडीसम्म अध्ययन गर्ने १४ सय भन्दा बढी विद्यार्थी छन् । भारतले स्टडी इन इन्डियामार्फत विदेशी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । उक्त छात्रवृत्ति अन्तर्गत पनि विद्यार्थी जाने गरेका छन् । किट विश्वविद्यालयमा विद्यार्थीहरु कन्सल्टेन्सी मार्फत वा विश्वविद्यालयसँग प्रत्यक्ष सम्बन्ध राखेर पनि विद्यार्थीहरु जाने गरेका छन् । उक्त विश्वविद्यालयमा इन्जिनियरिङ्, व्यवस्थापन, कानुन र मेडिकल अध्ययनका लागि विगत १२ वर्ष देखि जाने क्रम जारी छ । किटमा १२ लाख २० हजारदेखि १७ लाख ६० हजार भारु शुल्क तिरेर नेपाली विद्यार्थीले इन्जिनियरिङ पढ्दै आएका छन् । किटमा चार वर्षे बीटेक इन कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङका कोर्सहरू पढ्न १७ लाख ६० हजार भारु शुल्क निर्धारण गरिएको छ । ६० प्रतिशत विद्यार्थीले छात्रवृत्ति अध्ययन गर्दै पनि आएका छन् ।

विदेशमा अध्ययन गरेको प्रमाणपत्रको नेपालमा समकक्षता लिनुपर्ने हुन्छ । त्रिविले २०७६ देखि भारतमा अध्ययन गरेका विद्यार्थीलाई समकक्षता उपलब्ध गराउदै आएको छ । अहिलेसम्म त्रिविले २० जना विद्यार्थीलाई समकक्षता उपलब्ध गराएको छ ।

एनओसी रोक्न मन्त्रालयको चेतावनी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको ओडिसा राज्यका विश्वविद्यालय तथा शिक्षण संस्थाका लागि प्रदान गर्ने वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) रोक्ने चेतावनी दिएको छ । किट विश्वविद्यालयमा अध्ययनरत छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणपछि उत्पन्न भएको घटनाप्रति गम्भिर ध्यानाकर्षण जनाउँदै मन्त्रालयले भविष्यमा ती एनओसी दिन रोक्ने चेतावनी दिएको हो । उक्त घटनाबाट सिर्जित समस्याको न्यायपूर्ण र वैधानिक रूपमा समाधान नगरिएमा भविष्यका लागि भारतको ओडिसा राज्यका विश्वविद्यालय/शिक्षण संस्थानमा अध्ययनका लागि प्रदान गर्दै आएको एनओसी प्रदान गर्ने कार्य स्थगित गर्ने चेतावनी दिइएको हो ।

किटमा अध्ययनरत नेपाली छात्रा लम्सालको रहस्यमय मृत्यु भएको थियो । त्यसपछि नेपाली विद्यार्थीहरूप्रति भएको दुव्र्यवहारका सम्बन्धमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत जनाइएको थियो । यस प्रकरणमा अधिकांश विद्यार्थी हाल नेपाल फर्किएका छन् । शान्त वातावरण नभएसम्म नफर्किने उनीहरुको अडान छ । यसमा कुटनीतिक तवरबाट पनि वार्ता भइरहेको बताइएको छ ।

Logo