जनकपुरधाम । मधेस प्रदेशमा रहेको मधेश कृषि विश्वविद्यालयका उपकुलपति डा. वैद्यनाथ महतो र रजिस्ट्रार भगवान ठाकुरलाई बर्खास्त गरिएको छ । मंगलबार दिउँसो १२ बजेदेखि जनकपुरको एक होटेलमा चलेको विश्वविद्यालय सभाको बैठकले राति ११ बजे निर्णय गर्दै उपकुलपति डा. महतो र रजिष्ट्रार ठाकुरलाई बर्खास्त गरेको हो ।
नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहनप्रसाद साहको नेतृत्वमा गठित तीन सदस्य समितिले ७ असोजमा बुझाइएको प्रतिवेदनको आधारमा दुवैजना विश्वविद्यालयको अनाधिकृत गतिविधिमा संलग्न रहेको पाइएकाले विश्वविद्यालय सभाले दुवै जनालाई बर्खास्त गर्ने निर्णय भएको हो ।
सभामा विश्व विद्यालयका कुलपति समेत रहेका मुख्यमन्त्री सतिशकुमार सिंह, सहकुलपति शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीलगायत विश्व विद्यालय सभाका पदाधिकारी तथा सदस्यहरु सहभागी थिए । सभाले चालु आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम समेत पास गरेको छ ।
यसअघि १६ पुसमा जनकपुरमा भएको विश्व विद्यालयको सभामा समेत उपकुलपति महतो र राजिष्ट्रार ठाकुरलाई बाहिर निकालिको थियो । यससँगै जसपा नेपाल र जनमतबीचको विवादको भुमरीमा मधेश कृषि विश्व विद्यालय फँसेको छ । ८ माघ २०८० मा विश्वविद्यालयको भवन शिलान्यासको विषयमा जसपा र जनमतबीच भएको विवाद भएको थियो ।
लामो समयदेखि सभा नहुँदा विश्वविद्यालयमा आर्थिक कारोबार ठप्प रहेको छ । जसको कारण विश्वविद्यालयका पदाधिकारी र कर्मचारीले तलबभत्ता खान पाएका छैनन् । सेवा प्रदायकहरूले बक्यौता रकम नपाउँदा शैक्षिक सामग्री, इन्धन, विद्युत्, पानी, सञ्चार सेवामा अवरोध छ । त्यहाँ अध्ययनरत्त कृषि विज्ञानका दुई सेमेस्टरका सयजना विद्यार्थीहरूको नियमित पढाइ छैन। उनीहरुको भविष्य अन्योल बनेको छ । विश्वविद्यालयका राजिष्ट्रार भगवान ठाकुरका अनुसार नयाँ शैक्षिक सत्रका लागि कात्तिकमै सञ्चालन हुनुपर्ने कक्षा सुरु भएको छैन ।
एक अर्ब ७० लाख लागतमा निर्माणाधीन विश्वविद्यालय भवन अलपत्र छ ।





























प्रतिक्रिया