काठमाडौं । अहिले विश्वविद्यालय र क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावी माहोल चर्किएको छ । स्ववियु चुनाव विद्यार्थी नेता र मतदाता विद्यार्थीका लागि विशेष महत्व राख्दछ ।
देशमा राणा शासन भएदेखि पञ्चायती व्यवस्था, संवैधानिक राजतन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा नेपालको विद्यार्थी आन्दोलनले महत्वपूर्ण भूमिका निवार्ह गरेको सबैमा अवगत नै छ । तर अहिलेको विद्यार्र्थी संगठन राजनीतिक स्वर्थका खातिर आफ्नो औचित्य नै विर्सने विद्यार्थी नेता उत्पादन गर्दैछ भन्दा फरक नपर्ला ।
शैक्षिक संस्था जस्तो स्वतन्त्र, सभ्य र उच्च प्राज्ञिक क्षेत्रमा भ्रातृ संगठनको नाममा राजनीतिक दलको खास्टो ओढेर तोडफोड गर्ने, प्राध्यापक कुट्ने, गुन्डागर्दी गर्ने जस्ता अराजक क्रियाकलापले शैक्षिक वातावरण खलबलिएको त छ नै । विश्वविद्यालयको साख नै गिराएको छ । अझ अराजक बन्दै गएका विद्यार्थी संगठन नै चुनावको समयमा लाजै पचाएर विश्वविद्यालय सुधार्ने प्रतिवद्धता गर्न भने पछि पर्दैनन् । अब आफै नसुध्रिएका विद्यार्थी नेता विश्वविद्यालय कसरी सुधार्लान् ? भन्ने प्रश्न उब्जिएको छ ।
स्ववियु चुनावको समयमा विद्यार्थी नेताहरुको अराजकताले सिमा नाघ्ने गरेको छ । हरेक दुई वर्षमा हुने स्ववियु चुनाव २०६५ साल यता हुन नसक्दा स्ववियुको छवि नै डगमगाएको थियो । तर २०७९ मा चुनाव भएपछि स्ववियुमा सास र आश दुवै भरिएको छ । तथापी विद्यार्थी संगठनहरु बीच नै एकमत हुन नसक्दा केन्द्रमै रहेको कतिपय क्याम्पसमा निर्वाचन हुन सकेन ।
क्याम्पसभित्रकै विद्यार्थी संगठनहरुको हर्कतले स्ववियुको अस्तित्व संकटमा पर्ने पक्कापक्की छ । त्यसको ज्वलन्त उदाहरण हो बेला बेलामा विश्वविद्यालय सुधार्ने विगुल फुक्ने विद्यार्थी नेताको हर्कत !
चुनाव नजिकिएसँगै विद्यार्थी नेताको हर्कत सुरु
शनिबार मात्र त्रिभुवन विश्वविद्यालयको रेक्टर खड्ग केसी र विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन शंकर खनालको कार्यकक्षमा विद्यार्थीको एक समूहले तोडफोड गर्यो । सत्तारूढ नेपाली कांग्रेसनिकट नेविसंघबाट स्ववियु सदस्यमा निर्वाचित नरेन्द्र साउद, त्रिवि संघर्ष समितिका संयोजक सिकेन्द्र रोकायालगायत पाँच जनाको समूहले तोडफोड गरेका थिए । नजिकिँदै गरेको स्ववियु चुनावलाई विथोल्न यस्तो हर्कत गरेको इतर पक्षको बुझाई छ ।
विद्यार्थीका समस्या उजागर गर्ने, समाधानका उपाय खोज्ने, शैक्षिक सुधारका मुद्धा उठाउने भन्दा पनि विद्यार्थी नेताहरु प्राध्यापक कुट्नेदेखि विश्वविद्यालयमा तोडफोड गर्नेमा व्यस्त छन् ।
आफूलाई विद्यार्थी नेता दावी गर्दै हिँडेका यस्ता विद्यार्थी नेताको रबैयाले के विश्वविद्यालयको वेथिति अन्त्य होला र ? यस घटनाप्रति विश्वविद्यालय, अनेरास्ववियु र अन्य दलका संगठनहरुले दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
केहीदिन अगाडि रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसमा विद्यार्थीले गरेको अराजक कृयाकलाप सामाजिक सञ्जाल भरि नै फैलियो । उक्त दृष्यमा ति विद्यार्थी नेताहरुले डेक्स बेन्च तोडफोड गरेको देखिन्छ । स्ववियु चुनाव नजिकिँदै गर्दा विद्यार्थी नेताहरुको यस्तो रबैयाले क्याम्पसमा निर्वाचन हुने वा नहुने दोधारपन उत्पन्न भएको छ ।
ति विद्यार्थी नेताहरुले स्ववियु निर्वाचनको विषयलाई लिएर तोडफोड गरेका थिए । संगठन दर्ताका लागि एमालेनिकट अनेरास्ववियुलगायतका विद्यार्थी संगठन क्याम्पस प्रवेश गरेपछि समाजवादी विद्यार्थी युनियन, समाजवादी विद्यार्थी युनियन नेपाल, जनमत विद्यार्थी संघ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी युनियन र स्वतन्त्र मधेश विद्यार्थी युनियनले कुर्सी तोडफोड गरेको आक्रामक शैली बाहिरिएको हो ।
ति विद्यार्थी संगठनले क्याम्पसमा प्रथम वर्षको भर्ना खोल्नुपर्ने अनुचित माग राखी ताला लगाएका थिए । तर त्रिविले चुनाव नजिकिएसँगै भर्ना प्रक्रिया बन्द गराइसकेको छ । आन्दोलनलाई बेवास्ता गर्दै निर्वाचनको प्रक्रिया अघि बढाएको भन्दै ती विद्यार्थी संगठनले असन्तुष्टि जनाएका थिए । यता कलेजले निर्वाचन कार्यतालिकाअनुसार प्रक्रिया अगाडि बढाउन छलफल गरिरहेको थियो ।
सोमबार ५ विद्यार्थी संगठनसँग छलफल गरिरहेको अवस्थामा अनेरास्ववियुका नेता संगठन दर्ता गरिपाऊँ भन्दै बैठक हलमा प्रवेश गर्छन् र त्यसपछि विवादले चर्काे रुप लिन्छ ।
अनेरास्ववियुको अराजकताको विरोध गरेका ती संगठनले अर्काे अराजकता सिर्जना गर्छन् । तत्पश्चात क्याम्पसले अर्काे सूचना प्रकाशित नहुँदासम्मका लागि स्ववियु चुनावको आगामी कार्यक्रम स्थगित गरिएको सूचना निकालेको छ ।
त्यस्तै, विद्यार्थी नेताले ठमेल ड्युटीमा खटिएमा दुई पैहरी माथी निर्धात कुटपिट गरेको घटना ताजै छ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु स्थायी कमिटी सदस्य कमलराज जोशीसहित ६ जनाको समूहले ड्युटीमा रहेका प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज बिष्टमाथि कुटपिट गरेका थिए । दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टिम (क्यूआरटी) को टोलीमाथि यो समूहले आक्रमण गरेको थियो ।
मध्यराति होहल्ला गर्दै हिँडेपछि प्रहरीले उनीहरूलाई सम्झाउन खोजेको थियो । तर, मोटरसाइकलमा सवार दुई प्रहरीको मोटरसाइकल लडाउँदै लट्ठीसमेत फालिदिएका थिए । आक्रमणबाट प्रहरीको बर्दी च्यातिनुका साथै हेल्मेट समेत फुकालेर प्रहरीलाई उनीहरुले हिर्काएका थिए । यस्ता अराजक विद्यार्थी नेतालाई राजनीतिक दलबाटै संरक्षण हुने गरेको छ । ति विद्यार्थीहरु अहिले धरौटीमा छुटिसकेको छन् र बरु मलाई प्रहरी कुटेकोमा सरकारले सम्मान गनुपर्ने भन्दै सञ्चारमाध्यममै भन्न भ्याइसकेका छन् ।
यसैगरी एकचोटी विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको घटना पनि सम्झी हालौं । यहि फागुनमा त्यस विद्यालयमा विद्यार्थी संगठनबीच झडप भयो । जसबाट नेविसंघ केन्द्रीय सदस्य र मोरङ जिल्ला सभापतिसहित तीन जना घाइते भए । उक्त झडप नेविसंघका शेरबहादुर देउवा र शेखर कोइराला पक्षबीच भएको थियो । भनाभनबाट सुरु भएको विवाद हानाहानमै परिवर्तन भयो ।
सो क्रममा शेखर कोइरालानिकट मानिने क्याम्पसमै अध्ययनरत नेविसंघ केन्द्रिय सदस्य पूजा विश्वास, जिल्ला सभापति सरोज पोखरेल र सचिव गुड्डु साह घाइते भएका थिए ।
अब काठमाडौंकै कुरा गर्दा, केही समयअघि मात्र बागबजारको पद्मकन्या क्याम्पसमा पनि झडप भयो । त्यस झडपमा पद्मकन्या क्याम्पसको स्ववियु सभापति ज्योती पनेरु घाइते भइन् । उनलाई अस्पतालमै भर्ना गर्नुपर्ने अवस्थाको सिर्जना भएको थियो । क्याम्पस परिसरमा जारी एक कार्यक्रममा अखिल क्रान्तिकारीका सदस्यबीच विवाद भयो । विवादले उग्र रूप लिएपछि त्यहाँ असामान्य स्थितिको सिर्जना हुन्छ । त्यसपछि क्याम्पसकी स्ववियु सभापति ज्योति पनेरु विवाद समाधान गर्ने भन्दै अघि बढ्छिन् । तर, उनी स्वयं आक्रमणको सिकार हुन्छिन् ।
यस्ता अराजक हर्कतले कुनै समय मिनि संसद्कै संज्ञा पाएको स्ववियुप्रति पछिल्लो समय वितृष्णा बढ्दै गएको छ । दलका नेताहरुले जनताबाट जति राजनीतिक वितृष्णा भोगिरहेका छन्, त्यति नै विद्यार्थी नेताहरु पनि गालीको पात्र हुनबाट अछुतो छैनन् । शिक्षा क्षेत्रमा चरम बेथिति र विकृति छ । शिक्षामा विभेद छ । पैसा नहुनेहरु शिक्षाको पहुँचबाट बाहिरै छन । तर विद्यार्थी नेताहरु भने शिक्षामा समानता ल्याउने खोस्टे नाराम्रै सीमित छन् ।
विद्यार्थी संगठन केका लागि ? यसको भूमिका के हो ? विद्यार्थी आन्दोलनको गन्तव्य र वर्तमान के ? भन्नेबारे विद्यार्थी संगठन स्वयं रनभुल्लमा छन् । विद्यार्थी नेताका नाममा चन्दा उठाउने, ठेक्का मिलाउने, नेताको आदेशमा होहल्ला गर्ने, नाराबाजी गर्ने, सडक आन्दोलनमै सिमित बन्दै गएका छन् । राजनीतिकरणले विश्वविद्यालयको साख खस्केको भन्दै प्राध्यापक र कर्मचारीहरुलाई आरोप लगाउने विद्यार्थी नेताहरुले अब एकपटक आफैंलाई पनि मूल्यांकन गर्ने पो होकी ?





























प्रतिक्रिया