काठमाडौं । नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले विद्यार्थीको अहित हुने किसिमका शिक्षा विधेयक ल्याए स्विकार्य नहुने बताएका छन् ।
निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन)को १६औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष भण्डारीले यदि विद्यार्थीको अहित हुने किसिमका शिक्षा विधेयक आयो भने जलाइदिने चेतावनी दिएका हुन् । ‘नयाँ आउने शिक्षा ऐनमा निजी विद्यालय नछुटौँ। अभिभावक नछुटौँ। तर सबैको एउटै चाहना भनेको विद्यार्थीमैत्री हुनुपर्छ।’ उनले भने ।
२०७२ सालमा बनेको शिक्षा आयोगको प्रतिवेदनलाई स्मरण गर्दै उनले भने, ‘त्यो प्रतिवेदन बन्नु भन्दा अगाडिको सदस्य म पनि थिएँ। त्यो प्रतिवेदनमा निजी विद्यालयलाई निषेध गर्ने कुराहरू आउँदैछ भन्ने कुरा सुनेँ । सायद त्यही कुराले पनि उहाँले यो रोक्नुभो भन्ने कुरा आयो। म निजी विद्यालयको समर्थन र विरोधको कुरा हैन लोकतान्त्रिक व्यवस्थाको ब्युटिफुल ड्युटी भनेकै सबैले बाँच्न पाउने कुरा हो।’
आज एकातिर निजी विद्यालयलाई निषेध गरेर निचोर्ने अर्कोतिर विदेशमा विद्यार्थी पठाउने के नीति हो ? त्यस्ता बेइमानी नीतिले देश नचल्ने भन्दै दुःख पनि उनले व्यक्त गरे ।
देशलाई स्थायित्वको शिक्षातिर लैजानलाई राष्ट्रिय शिक्षाको नीति परिवर्तनशील हुन नहुने पनि अध्यक्ष भण्डारीको भनाई छ । उनले भने, ‘नीति परिवर्तनशील हुन्छ । तर, कति वर्षमा परिवर्तन गर्ने ? महिनैपिच्छे वर्षैपिच्छे, मन्त्री फेरिएपिच्छे, सचिव फेरिएपिच्छे, सहसचिव र निर्देशक फेरिएपिच्छे नीति फेरिने भन्ने कुरा आउनुहुन्न ।’
उनले थपे, ‘हामीले विदेशी विद्यार्थी ल्याउने कुराहरू गर्यौँ। यहाँ मुलुकमा विद्यार्थी बस्न चाहँदैनन्। यो हाम्रो लाजमर्दो काम भएको छ। यहाँ हामी सबैले चाहेका कुरा त्यहाँ आउन नसक्ला तर महत्त्वपूर्ण कुरा विषय नछुटोस् ।’





























प्रतिक्रिया