प्याब्सनको १६औं राष्ट्रिय महाधिवेशन सुरु, अध्यक्षमा कृष्ण अधिकारी निर्विरोध

प्याब्सनको १६औं राष्ट्रिय महाधिवेशन सुरु, अध्यक्षमा कृष्ण अधिकारी निर्विरोध

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन)को १६ औं राष्ट्रिय महाधिवेशन सुरु भएको छ ।

नयाँ नेतृत्व चयन गर्ने महाधिवेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारीक रुपमा उद्घाटन गरेपछि प्रज्ञा भवनमा सुरु भएको हो । मंगलबारसम्म सञ्चालन हुने महाधिवेशनमा प्याब्सनका लागि भावी नेतृत्वहरुको चयन हुनेछ ।

महाधिवेशनबाट प्याब्सनको अध्यक्षमा कृष्ण अधिकारी निर्विरोध चयन भएका छन् । निजी विद्यालयको छात्ता संगठनले स्वदेशमा नै उद्यमशीलता र रोजगारी भन्ने हाम्रो मूल अभिप्रायलाई आत्मसात गरेको छ ।

शिक्षामा निजी क्षेत्रको करिब ६ अर्ब रुपैयाँ लगानी रहेको र ३ लाख भन्दा बढी मानिसहरूलाई रोजगारी दिइरहेको प्याव्सनका अधिकारीहरुको दावी रहेको छ । साथै गुणस्तरीय शिक्षाका निम्ति गरेको लगानी र त्यसको प्रतिफलको रूपमा निजी विद्यालयले खेलेको भूमिका प्रशस्त रहेको पनि दावी गरेका छन् ।

प्याब्सनले गरेको योगदानलाई पहिले त प्रशंसा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘यदि प्याब्सन हुँदैन थियो भने वा निजी विद्यालयहरु हुँदैन थिए भने पहिले शैक्षिकस्तर के हुन्थ्यो होला नेपालको ? कति प्रतिशत विद्यार्थी पास हुन्थे ? प्याब्सन समेत जोड्दा एसईईमा ४४ प्रतिशत मात्रै पास भएका छन् । माइनस प्याब्सन गर्ने हो भने ४४ को कति प्रतिशत होला ? भन्दै प्रश्न गरे ।

साथै निजी संस्थाले शिक्षामा निर्धक्क भएर लगानी गर्न आह्वान गर्दै उनले लगानीको सुरक्षा सरकारले गरिदिने आश्वासन पनि दिएका छन् ।

त्यस्तै, प्याब्सनका वर्तमान अध्यक्ष डिके ढुङ्गानाले मुलुकलाई समृद्ध बनाउन लागिपर्छौं भन्ने अठोट लिएको तर कहिलेकाही ऐन नियम नीति कानुनले अत्यन्त निर्बल बनाउने गरेको जिकीर गरे । उनले भने, ‘ऐनले हामीलाई चिन्तित बनाउँछ । कहिलेकाहीँ हामीले गरेको लगानी नै सुरक्षित नहुने हो कि भन्ने जस्ता विषय पनि उठ्छन्। । अहिले संसदमा शिक्षा विधेयक छलफलमा छ । विद्यालयहरूलाई गुठीमा लानुपर्छ भन्ने खालका प्रस्तावहरू पनि छन्। त्यसका पक्षमा ठूलो बहस पनि भइरहेको छ ।’

यसैगरी उच्च शिक्षा तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) का अध्यक्ष रमेश सिलवालले भने, ‘अहिलेको स्थिति यो निजी क्षेत्रका लगानीकर्ताहरू दुविधामा छन्न् । अलिकति पिडा छ, अलिकति आशंका छ, अलिकति सशंकित भएका छन् । के मान्यमा भने यो चाहिँ २८ सालमा आएको शिक्षा ऐन, पञ्चायत सालमा आएको शिक्षा ऐन अहिले आउँदाखेरि यो शिक्षा ऐन कस्तो हुने हो ?’ यो शिक्षा ऐनले हाम्रो भविष्य कतातिर डोर्होयाउने हो भन्ने दुविधा उत्पन्न भएको उनको भनाइ छ ।

औपचारीक कार्यक्रममा प्याब्सनका पूर्व अध्यक्षहरु भाज बहादुर शाह, लक्ष्यबहादुर केसी, विजय सम्बहाम्फेलाई प्याब्सन गौरव सम्मानबाट सम्मान गरिएको थियो । त्यस्तै, प्रदेश सल्लाहकारहरु सुदुरपश्चिमका दिलकुमार पन्त, मधेश प्रदेशबाट निमा लामा, बागमतीबाट केशवकुमार श्रेष्ठ, गण्डकीका गणेश सिंह भण्डारी, लुम्बिनीका लोकनाथ उपाध्यायलाई सम्मान गरिएको छ ।

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी र शिक्षा पत्रकार नारायण किलम्बुलाई पनि सम्मान गरिएको छ ।

मंगलबारसम्म हुने प्याब्सनको महाधिवेशनको आजदेखि बन्द सत्र सुरु हुनेछ र मंगलबार अन्य नेतृत्वका लागि चुनाव हुनेछ । प्याब्सनमा हरेक २५ विद्यालय बाट १ जना पदाधिकारी चयन हुनेछन् । त्यस्तै २७ पदाधिकारी र ३९ सदस्यसहित ६६ जनाको कार्यसमिति बन्नेछ ।

Logo