काठमाडौं । १६ वर्षदेखि स्ववियु चुनावले छुन नसकेको रत्न राज्य क्याम्पसमा यस पटक पनि चुनाव नहुने पो होकी भन्ने आशंका उब्जिएको छ । निर्वाचनको पूर्व सन्धामा क्याम्पसको गेटमा ताला लागेपछि चुनाव हुन्छ वा हुँदैन भन्ने विषयमा अन्यौलता सिर्जना भएको हो ।
आज मतदान हुन्छ भनेर हौसिएका विद्यार्थी नेता र मतदान गर्ने विद्यार्थीको उत्साह एकाएक क्याम्पसको गेटमा ताला लागेपछि सेलाएको छ ।
एकातिर विद्यार्थी नेताहरुको यस्तो हर्कतले जो साँच्चिकै पढ्ने हेतुका साथ क्याम्पसमा भर्ना भएका हुन्छन् ति विद्यार्थीहरुको पढाई प्रभावित भैरहेको छ भने अर्काेतर्फ आरआरमा स्ववियुको अस्तित्व नै नरहने होकी भन्ने भाष्य निर्माण भैरहेको छ ।
नेकपा एमाले निकट अनेरास्ववियु काठमाडौं क्याम्पस जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष अनिल बोहोरा र एकीकृत समाजवादी पार्टी निकट अनेरास्ववियू रत्न राज्यलक्ष्मी क्याम्पस अध्यक्ष सुशील खनालको हस्ताक्ष भएको विज्ञप्ति टाँसेर गेटमा ताला लगाइएको छ । अनेरास्ववियु काठमाडौं क्याम्पस जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष अनिल बोहोराले भने, ‘स्ववियु निर्वाचनको अघिल्लो दिन क्याम्पस प्रशासन र कर्मचारीको मिलेमतोमा फर्जी डिजिटल कार्ड बनेको र फरक-फरक डिजिटल कार्यहरू प्रशासनबाट जारी भएको भेटिएकाले ताला लगाइएको हो ।’
चुनाव हुन नदिन अनेक गतिविधी देखाउने अनि दोष जति क्याम्पस प्रशासन र क्याम्पस प्रमुखमाथि थुपार्ने त उनीहरुको परम्परागत रीति नै हो ।
नेविसंघको तर्फबाट सभापतिको उम्मेदवार बनेका बिनोदराज जोशीले भने, ‘क्याम्पसमा चुनावी माहोल चर्किँदै गर्दा विद्यार्थीहरुको समर्थन नेवि संघको पक्षमा थियो । चुनाव हार्ने पक्का भएपछि अनेरास्ववियुले क्याम्पसमा ताला लगाएको हो ।’
रत्नराज्य क्यामपसलाई विद्यार्थी राजनीतिको मुलथलोका रुपमा लिइन्छ । तर हरेक पटक स्ववियु चुनावका लागि क्याम्पस प्रशासन, मतदाता विद्यार्थी विपक्षी संगठनका उम्मेदवारहरु तयारी अवस्थामा रहेपनि अन्तिममा आएर चुनाव स्थगित हुँदै आएको इतिहास नै छ । यसपटक पनि अनेरास्ववियु र अनेरास्ववियूका नेताहरुको अपरिपक्व निर्णयले विगतको जस्तै इतिहास दोहोरिने पक्का जस्तै छ ।
स्ववियु निर्वाचन लोकतान्त्रिक प्रक्रियामा सहभागी भएर विद्यार्थीमाझ नेतृत्व स्थापित गर्ने माध्यमको रुपमा लिइन्छ । त्यति मात्र हैन विद्यार्थीलाई राजनीतिक रुपमा स्थापित गराउनमा स्ववियु निर्वाचनले भर्याङको भूमिका निर्वाह गर्दछ ।
विद्यार्थी राजनीति गर्ने विद्यार्थी नेताहरु भोलिको दिनमा सांसद, मन्त्रीसम्म हुने क्षमतासम्म राख्छन् ।
कुनैसमय थियो स्ववियुको नेतृत्व जेहेनदार, हक्की स्वभावका, विद्यार्थीका हितमा काम गर्न हुटहुटी भएका विद्यार्थीहरुले गर्थे । तर पछिल्लो समय विद्यार्थी नेताहरुले स्ववियुलाई राजनीति गर्ने थलोको रुपमा रुपान्तरण गर्न तिर लम्किरहेका छन् ।
जे होस्, विद्यार्थी संगठनका नेताहरु पार्टीका भातृ संगठनको जयजयकार गर्न छोडेर स्ववियुको मुल्य मान्यता बचाउन तिर लाग्नुपर्ने बेला भएको छ । यदि विद्यार्थी नेताहरु समयमै सुध्रिएनन् भने रत्नराज्य क्याम्पसमा मात्र हैन विश्वविद्यालयमा नै स्ववियुको अस्तित्व सखाप हुने पक्का छ ।





























प्रतिक्रिया