नेपाल मन्टेश्वरी ट्रेनिङ सेन्टरले मनायो रजत जयन्ती

नेपाल मन्टेश्वरी ट्रेनिङ सेन्टरले मनायो रजत जयन्ती

केन्द्रबिन्दु
147
Shares

काठमाडौं । नेपाल मन्टेश्वरी ट्रेनिङ सेन्टर (एनएमटिसि)ले रजत जयन्ती मनाएको छ । शनिबार प्रिमियर इन्टरनेशनल आईबी कन्टिन्युम स्कुलको सभाहलमा आयोजित एक विशेष औपचारिक कार्यक्रमकाबीच मन्टेश्वरीले २५औं वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे उपस्थित रहेका थिए।

सो अवसरमा सभामुख देवराज घिमिरेले नेपाल मन्टेश्वरी ट्रेनिङ सेन्टरले नेपालको प्रारम्भिक बाल शिक्षामा मानसिक, नैतिक तथा बौद्धिक विकास महत्वपूर्ण योगदान पुर्याइरहेको बताए । उनले भने, ‘एनएमटिसिले प्रदान गरेको प्रशिक्षण कक्षा कोठामा मात्र सीमित छैन । विश्वव्यापी अनुसन्धान र अनुभवले प्रमाणित गरिसकेको छ।’

साथै बालशिक्षा क्षेत्रको विकासका लागि सरकार सधैं तत्पर रहेको पनि जानकारी दिए ।

यसैगरी कार्यक्रममा नेपाल मन्टेश्वरी ट्रेनिङ सेन्टरकी निर्देशक पवित्रा लिम्बुले भनिन्, ‘राणाकालिन समयमै सुरु भएको मन्टेश्वरी शिक्षा २०१५ सम्म आइपुग्दा हराएको थियो। त्यो प्रयासले निरन्तरता प्राप्त गरेको भए नेपालको शिक्षा जगतले आजसम्म कति फड्को मारिसकेको हुन्थ्यो होला। यद्यपि मलाई विश्वास छ, यसपालि भने नेपालबाट मन्टेश्वरीको यो दोस्रो प्रयास तुहिएर जाने छैन।’

नेपाल मन्टेश्वरी ट्रेनिङ सेन्टरका म्यानेजिङ डाइरेक्टर बसन्त थापाले भने, ‘यहाँबाट ट्रेनिङ लिएकाहरूले मन्टेश्वरी स्कुल सञ्चालन समेत गरिसक्नु भएकाे छ । यति मात्र होइन, कतिपयले नेपाल बाहिर पनि बालशिक्षामा काम गरिरहनु भएको छ। यो हाम्रो लागि ठूलो उपलब्धि हो ।’

कार्यक्रममा सेताे गुराँस राष्ट्रिय बाल विकास सेवाकी संस्थापक अगाथा पाखरीन थापा, प्याब्सनका केन्द्रीय कृष्णप्रसाद अधिकारी, एन-प्याब्सनका केन्द्रीय अध्यक्ष सुवास न्याैपानेलगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी देशभरका मन्टेश्वरीका १ हजार प्रशिक्षक र प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा न्यूरो विकास र प्रारम्भिक वर्षको बारेमा कसरी बुझ्ने, बालबालिकाको सुनाई र बुझाईमा कसरी विकास गर्ने कुरा सिकाइएको थियो।
कार्यक्रममा बालशिक्षामा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान पनि गरिएको थियो ।

Logo