मन्टेश्वरी कसैको पेवा होइन, यो सार्वजनिक सम्पत्ति हो -निर्देशक पवित्रा लिम्बु

मन्टेश्वरी कसैको पेवा होइन, यो सार्वजनिक सम्पत्ति हो -निर्देशक पवित्रा लिम्बु

केन्द्रबिन्दु
1.26k
Shares

काठमाडौं । नेपाल मन्टेश्वरी ट्रेनिङ सेन्टर (एनएमटिसि)की निर्देशक पवित्रा लिम्बुले मन्टेश्वरी अब कुनै व्यक्ति वा संस्थाको पेवा नभई सार्वजनिक सम्पत्तिको रुपमा विकास भइसकेको बताएकी छन् ।

शनिबार नेपाल मन्टेश्वरी ट्रेनिङ सेन्टरको रजत जयन्ती कार्यक्रममा बोल्दै निर्देशक लिम्बुले यस्तो बताएकी हुन् । साथै यस ट्रेनिङ सेन्टरबाट हजारौं दक्ष जनशक्ति उत्पादन भएका छन् । ति जनशक्तिहरु देशका विभिन्न स्थानका साथै विदेशमा पनि त्यत्तिकै सफल र स्वावलम्बी भएर जिविकोपार्जन गरी समाजलाई केही न केही योगदान पुर्याइरहेको उनको भनाई छ ।

‘तिमध्ये धेरैले मन्टेश्वरी स्कुल तथा ट्रेनिङ सेन्टर पनि सञ्चालन गरी स्वरोजगारी मात्र हैन आफूजस्ता अन्य दिदिबहिनीहरुलाई पनि रोजगारी प्रदान गरिरहेका छन् । शिक्षामा महिला सशक्तिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको यो संस्थाको दोस्रो उपलब्धी हो ।’ निर्देशक लिम्बुले भनिन् ।

सन् २००१ मा औपचारिक रूपमा नै मन्टेश्वरी ट्रेनिङको आह्वान गर्दै सुरुवात भएको नेपाल मन्टेश्वरी ट्रेनिङ सेन्टरले आज २५ वर्ष पूरा गरेको छ । मन्टेश्वरीको यो २५ वर्षको लामो यात्रालाई विगतमा भोगेका ३०० महिना, करिब १३०० हप्ता, ९१२५ दिनहरू र २ लाख २८१२५ घण्टाको उकाली ओरालीहरू साहस उत्साह दृढ विश्वास अनि संकल्पहरूका साथ नेपालमा मन्टेश्वरी शिक्षालाई पुनस्र्थापना गर्ने ती संघर्षका क्षणहरुलाई पनि निर्देशक लिम्बुले स्मरण गराइन् ।

‘आज भन्दा ८ दशक अगाडि विक्रम संवत २००५ मा राणाकालीन समयमा नै नेपालमा मन्टेश्वरी शिक्षाको थालनीको प्रयास गरिएको थियो । जुन प्रयास २०१५ सालमा आइपुग्दा नपुग्दै तुहिएर गएको थियो । सम्झन्छु यदि त्यो प्रयासले निरन्तरता प्राप्त गरेको भए नेपालको शिक्षा जगतले आजसम्म कति फड्को मारिसकेको हुन्थ्यो ।’ उनले भनिन् ।

यसपाली भने नेपालबाट मन्टेश्वरीको यो दोस्रो प्रयास तुहिएर जाने छैन भन्नेमा आफू विश्वस्त रहेको पनि निर्देशक लिम्बुले बताइन् । उनले थपिन्, ‘नेपाल मन्टेश्वरी ट्रेनिङ सेन्टरले विगत २५ वर्षदेखिको निरन्तर प्रयासमा बालबालिका वा पूर्व प्राथमिक शिक्षामा क्रियाशिल छ र यसलाई निरन्तरता दिनेछ ।’

सेन्टरको रजत जयन्तीको उपलक्ष्यमा औपचारीक कार्यक्रमका साथै कन्फरेन्स पनि भएको थियो, जसमा देशैभरी र भारतबाट समेत एक हजार मन्टेश्वरी प्रशिक्षक र प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । कन्फरेन्समा मन्टेश्वरीका शिक्षकहरुलाई बालबालिकाको सर्वाङ्गीण विकासका लागि कस्तो शिक्षण विधि अपनाउने, बालबालिकाको मनोविज्ञानलाई कसरी पहिचान गर्ने जस्ता कुरा सिकाइएको थियो ।

Logo