एसइई परीक्षाः अमर्यादित काम गरेको भन्दै विद्यालयका केन्द्राध्यक्षसहित सबै निरीक्षक हटाइयो

एसइई परीक्षाः अमर्यादित काम गरेको भन्दै विद्यालयका केन्द्राध्यक्षसहित सबै निरीक्षक हटाइयो

केन्द्रबिन्दु
78
Shares

वीरगञ्ज (पर्सा) । जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा अमर्यादित कार्य गर्ने स्थानीय एक विद्यालयका केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्षसहित केन्द्रमा खटिएका सबै निरीक्षकलाई जिम्मेवारीबाट हटाइएको छ ।

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालको अध्यक्षतामा आइतबार बसेको जिल्ला परीक्षा समन्वय समितिको बैठकले महानगरस्थित सुरजीदेवी माध्यमिक विद्यालयको केन्द्रमा अनियमितता, लापरबाही तथा उच्छृङ्खल क्रियाकलाप देखिएकाले केन्द्राध्यक्ष नन्द्रकिशोर राम, सहायक केन्द्राध्यक्षद्वय सविता चौधरी र चन्द्रशेखर झासहित केन्द्रमा खटिएका सबै निरीक्षकलाई जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको हो ।

प्रजिअ अर्यालले वैकल्पिक सूचीमा रहेका नेपाल राष्ट्रिय माध्यमिक विद्यालय श्रीपुरका ब्रजमोहनप्रसाद कानुलाई उक्त परीक्षा केन्द्रमा केन्द्राध्यक्षको जिम्मेवारी तोकिएको जानकारी दिए । सोही परीक्षा केन्द्रका परीक्षार्थी ‘सिम्बल नम्बर’ ०३७०२४५६ ‘डि’ लाई यस वर्षको परीक्षाबाट निष्काशन गर्ने निर्णय पनि गरिएको छ ।

वीरगञ्ज महानगरकै नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय श्रीपुरका केन्द्राध्यक्षलाई संदेहास्पद गतिविधि गरी उक्त केन्द्रको समग्र अनुशासनको पक्ष फितलो बनाएको भन्दै थप सावधानी, सतर्कता र अनुशासित भएर परीक्षा सञ्चालन गर्न सचेत गराइएको छ ।

Logo