राजीनामा दिएर गुमनाम बने उपकुलपति बराल, त्रिविको जिम्मेवारीबाट एक वर्षमै किन भए ब्याक ?

राजीनामा दिएर गुमनाम बने उपकुलपति बराल, त्रिविको जिम्मेवारीबाट एक वर्षमै किन भए ब्याक ?

केन्द्रबिन्दु
291
Shares

काठमाडौं । विश्वविद्यालय सुधारका लागि त्रिभुवन विश्वविद्यालय (त्रिवि) छिरेका उपकुलपति प्रा.डा. केशरजंग बराल एक वर्षमै बाहिरिएर गुमनाम जस्तै भएका छन् । चैत १५ मा कुलपति कार्यालय अर्थात् प्रधानमन्त्री कार्यालयमा राजीनामा पत्र बुझाएर उनी त्रिविबाट बाहिरिएका थिए । यद्यपि राजीनामा दिएको १० दिन बितिसक्दा पनि कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकृत गरेका भने छैनन् । 

उपकुलपतिको कार्यकाल ४ वर्षको हुन्छ । तर, उनले १ वर्ष बित्न नपाउँदै प्रधानमन्त्री कार्यालयलाई राजीनामा पत्र थमाएर काठमाडौं छोडेको पाइएको छ । उनले राजीनामा दिनुको खास चुरो कुरो के हो बाहिर आएको छैन । तर, उनले राजीनामापत्रमा स्वास्थ्यको कारण देखाएका छन् ।

राजीनामा दिएर उनी पोखरा गएको बुझिएको छ । हामीले उनलाई फोन सम्पर्क गर्न खोज्दा फोन अफ छ । बराल त्रिविको इतिहासमै पहिलोपटक मेरिटोक्रेसीको आधारमा उपकुलपति नियुक्त भएका बरालले राजनीतिले अस्तव्यस्त भएको त्रिविको सुधार सम्हाल्ने जिम्मा पाए । स्वतन्त्र रूपमा नियुक्त भएका भनिएका उपकुलपतिका अगाडि त्रिवि सुधारका चुनौतीसँगै अवसर पनि थिए । तर, कार्यकाल नसकिँदै उनी विदा भएका हुन् ।

उपकुलपति बरालले राजीनामा दिएको विषय मिडियाबाट थाहा पाएको बताउँदै त्रिवि केन्द्रिय क्याम्पसका निवर्तमान प्रिन्सिपल ध्यानेन्द्रबहादुर राईले ‘राजीनामा दिनुको अन्य कारण के हो थाहा नभएको’ बताए ।

त्यस्तै, केन्द्रिय क्याम्पसकै एक कर्मचारीले ‘उपकुलपतिले राजीनामा दिनु कारण स्वास्थ्य समस्या भएको र काम गर्ने वातावरण नबनेकाले राजीनामा दिएको हुन सक्ने’ बताए ।

कुलपति ओलीसँग राम्रो सम्बन्ध हुन नसकेका कारण पनि उनी बाहिरिएको चर्चा हुन थालेको छ । नीति तथा कार्यक्रम पारित गर्न अवरोध, डिनको नियुक्तिको प्रक्रियामा हस्तक्षेप, सत्तारूढ दलकै विद्यार्थी संगठनको तालाबन्दीलगायत अवरोध र पछिल्लो पटक करार शिक्षक कर्मचारीलाई स्थायी गर्न आएको अनुचित दबाबका कारण राजीनामा दिने अवस्थामा उपकुलपति पुगेको हुन सक्ने आशंका पैदा भइरहेकाे हाे ।

उपकुलपति भएपछि के थियो बरालको बाचा ?

त्रिविको उपकुलपतिमा २०८० फागुन १० गते प्रा.डा. केशरजंग नियुक्त भएका थिए । उनलाई तत्कालीन कुलपति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खुला प्रतिस्पर्धाबाट उपकुलपतिमा नियुक्त गरेका थिए ।

नियुक्तिपछि उनको पहिलो एजेण्डा नै त्रिवि सुधार थियो । त्रिविको क्यालेन्डर लागु गरेर शैक्षिक सत्रलाई ट्रयाकमा ल्याउने, समयमै परीक्षा सञ्चालन गर्ने र समयमै नतिजा प्रकाशन गर्ने जस्ता एजेण्डालाई अघि बढाएका थिए । तर, त्रिवि सुधारलाई प्राथमिकतामा राखेका उनले ९ महिना विद्यार्थी संगठन र कर्मचारीहरूले गरेको आन्दोलनको सामना गर्नुपर्याे । उपकुलपतिमा नियुक्त भएसँगै केही महिना पश्चात् धर्ना, आन्दोलन र तालाबन्दीको सामना गरेका बरालले काम गर्ने वातावरणको सिर्जना नभएको पक्कै हो ।

तथापि बरालले भने विगतको जस्तो काम गर्न कठिन नभएको बताउँदै आएका थिए ।

एक वर्षमा के-के गरे बरालले ?

प्रा.डा. बराल त्रिवि उपकुलपतिमा नियुक्ति भएपछि गत वैशाखमा ३७ पृष्ठको सोचपत्र सार्वजनिक गरेका थिए । उक्त सोचपत्रमा उनले विश्वविद्यालय सुधारका लागि त्रिविलाई राजनीतिक र सरकारी हस्तक्षेपमुक्त गराउने, दलीय भ्रातृ सङ्गठनहरू र पेसागत संगठनको हस्तक्षेपबाट मुक्त गर्नका लागि यसमा सरकारको पूर्ण सहयोग हुने अपेक्षाका साथ उक्त सोच पत्र सार्वजनिक गरेका थिए ।

सोचपत्रमा विद्यार्थीहरूको उत्तीर्ण दर कम हुनु, विश्वविद्यालयको शैक्षिक पात्रो नहुनु, समयमा परीक्षा र परीक्षाफल प्रकाशन नहुनु तथा तोकिएको समयमा शैक्षिक कार्यक्रम नसकिनुले विश्वविद्यालयको गुणस्तर खस्किएको उनले दाबी गरेका थिए ।

त्यस्तै, उनले आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूको सुदृढीकरण, विश्वविद्यालयलाई प्राज्ञिक उत्कृष्टताको केन्द्रको रूपमा विकास गर्ने, विश्वविद्यालयको पारदर्शिता र जबाफदेहितासम्बन्धी कुराहरू पनि बरालको सोचपत्रमा समेटेका थिए ।

Logo