सरकारले डेढ घण्टा कुर्यो शिक्षकहरु वार्तामा आएनन्ः शिक्षामन्त्री भट्टराई

सरकारले डेढ घण्टा कुर्यो शिक्षकहरु वार्तामा आएनन्ः शिक्षामन्त्री भट्टराई

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिहरु अनुपस्थित भएपछि सरकारसँगको वार्ता स्थगित भएको छ ।

शुक्रबार सहरी विकास मन्त्रालयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, संसदको प्रमुख सचेतक,दलका मुख्य सचेतकहरुसहितको उपस्थितिमा वार्ताको लागि आह्वान गरिएको थियो ।

डेढ घण्टा कुर्दा समेत शिक्षक महासंघ एवम शिक्षक प्रतिनिधिहरुको अनुपस्थित भएपछिसरकारसँगको वार्ता स्थगित भएको मन्त्री भट्टराईले जानकारी दिइन् । उनले भनिन्, ‘सरकार लचिलो भएर प्रश्तुत भइरहेको छ । शिक्षकका मागहरुलाई दृढताकासाथ सम्बोधन गरेर अगाडि बढिरहेको छ ।

मन्त्रालय मात्र नभइ सिंगो सरकार, संसदको प्रमुख सचेतक,दलका मुख्य सचेतकहरुसहितको उपस्थितिमा आह्वान गरेको थियौं तर उहाँहरु आउनुभएन । औपचारिक खबर पनि आएन । करिब डेढ घण्टा पर्खेका हौं । उहाँहरु नआएपछि आजको बैठक स्थगित गराएका छौं ।’

उनले शिक्षक महासंघ,शिक्षक प्रतिनिधिहरु सबैलाई आफैले फोन गरेर साथै मन्त्रालयबाट औपचारिक रुपमा पत्रचारसमेत गर्दा पनि वार्तामा उपस्थित नभएको बताइन् । ‘मैले शिक्षक महासंघ,शिक्षक प्रतिनिधिहरु सबैलाई आफैंले फोन गरें र आमन्त्रण गरें । उहाँहरुलाई फोन गरेर आमन्त्रण गरेपछि अनौपचारिक भयो भनेर हामीले मन्त्रालयको तर्फबाट एउटा पत्र पठाऔं । सबैलाई तीन बजे उपस्थित हुन भनेका हौं ।

वार्ताका लागि मन्त्रालय सँधै खुला छ भनेर सार्वजनिक आह्वान पनि गर्यौं ।’

Logo