काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले वार्षिक रुपमा करिब ३ लाख नेपाली विद्यार्थी अध्ययनका लागि विदेशिने गरेको बताएका छन् ।
उनले हाल ५ लाखभन्दा बढी विद्यार्थी कक्षा १२ पश्चात वैदेशिक अध्ययनमा रहेको जानकारी दिए ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले आयोजना गरेको एडुक्लेभ ३.० कार्यक्रममा बोल्दै प्रवक्ता सापकोटाले एनओसी (नो अब्जेक्सन सर्टिफिकेट) लिएर विदेश पढ्न जाने विद्यार्थीको संख्या बढ्दो क्रममा रहेको बताएका हुन् । पछिल्लो तथ्यांक अनुसार नेपाली विद्यार्थीहरु ६० भन्दा बढी मुलुकमा अध्ययनका लागि गएका छन्, जसमध्ये अष्ट्रेलिया, अमेरिका, जापान लगायत ५ देशमा विद्यार्थीको आकर्षण अत्यधिक रहेको छ ।
एनओसी सम्बन्धी यकिन तथ्यांक सरकारसँग नभएको भन्ने प्रश्नमा प्रवक्ता सापकोटाले यस विषयमा उठेका प्रश्नहरु शिक्षा मन्त्रालयका लागि लज्जास्पद भएको बताए । यस्ता छलफलबाट आएका प्रतिक्रियालाई मन्त्रालयले आफ्ना कमजोरी सुधार्ने अवसरको रुपमा लिएको पनि उनले स्पष्ट पारे ।
वैदेशिक अध्ययनमा गएका विद्यार्थीहरुको तथ्यांकलाई व्यवस्थित गर्ने प्रयास भए पनि सोचेअनुरुप सफलता प्राप्त हुन नसकेको स्वीकार गर्दै प्रवक्ता सापकोटाले अब यसलाई विधिवत् रुपमा कार्यान्वयन गर्न ऐन नियम नै बनाएर अघि बढिरहेको जानकारी दिए ।
उनले विगत ५-१० वर्ष अगाडिको अवस्थामा नेपाली विद्यार्थी वैदेशिक अध्ययनमा जाने क्रम न्यून रहेको स्मरण गर्दै पछिल्लो समय देशमै पढ्दै कमाउँदै गर्ने नीति कार्यान्वयन हुन नसक्नु र पढाई अनुसारको रोजगारी नपाउने वातावरणका कारण विद्यार्थी विदेश पलायन भइरहेको बताए । विदेश गएका विद्यार्थी पनि स्वदेश फर्किन नसक्ने अवस्था रहेको उनको भनाइ थियो ।
प्रवक्ता सापकोटाले शिक्षाको गुणस्तर विकासका लागि विश्वविद्यालय सम्बन्धी नीतिमा परिमार्जन गर्न आवश्यक रहेको पनि औंल्याए । सरकार विदेश पलायन भएका विद्यार्थीहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने विषयमा गम्भीर रहेको र यसका लागि आवश्यक नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको उनकाे भनाइ छ ।





























प्रतिक्रिया