काठमाडौं । शैक्षिक परामर्शदातृ संस्थाहरुको छाता संगठन इक्यानका अध्यक्ष शेषराज भट्टराईले विदेश अध्ययनमा गएका विद्यार्थीहरुलाई स्वदेश फर्काउन सरकारसँग स्पष्ट नीति नभएकोमा चिन्ता व्यक्त गरेका छन्।
इक्यानद्वारा काठमाडाैंमा आयोजित एडुक्लेभ ३.० कार्यक्रममा अध्यक्ष भट्टराईले विदेश गएका विद्यार्थीहरु देशका लागि ‘सफ्ट पावर’ भएको उल्लेख गर्दै उनीहरुले आर्जन गरेको ज्ञान, सीप र अनुभवलाई देश विकासमा प्रयोग गर्न सरकारले ठोस योजना ल्याउनुपर्ने बताएका हुन् ।
उनले भने, “वैदेशिक अध्ययनमा विद्यार्थी जानु देशको लागि समस्या होइन । तर, बाहिर गएका विद्यार्थीहरुले नयाँ विषयमा ज्ञान र सीप हासिल गरेका हुन्छन्। उनीहरुलाई नेपाल फर्काएर उनीहरुको क्षमतालाई कसरी देश विकासमा लगाउने भन्ने विषयमा सरकारसँग स्पष्ट नीति हुनुपर्छ।”
अध्यक्ष भट्टराईले पछिल्लो समय शिक्षा मन्त्रालयले एजुकेशन कन्सल्टेन्सीहरुलाई व्यवस्थित गर्ने कार्य अगाडि बढाएकोमा खुसी व्यक्त गरे। उनले वर्तमान शिक्षामन्त्री विद्या भट्टराई र पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठले शिक्षा सुधारका लागि चालेका कदमहरुको प्रशंसा गर्दै मन्त्रालयले परामर्शदाताहरुसँग नियमित छलफल गरिरहेको पनि बताए।
एडुक्लेभ ३.० कार्यक्रममा सहभागी अन्य वक्ताहरुले पनि नेपालको शिक्षा क्षेत्रमा रहेको सम्भावना र विश्व बजारमा नेपाली विद्यार्थीहरुको पहुँच विस्तारबारे चर्चा गरे। उनीहरुले गुणस्तरीय शिक्षामा जोड दिँदै नेपाललाई शैक्षिक केन्द्रको रुपमा विकास गर्न सकिने धारणा व्यक्त गरे। कार्यक्रममा नेपालको शिक्षाको भविष्य र अन्तर्राष्ट्रियकरणका विभिन्न आयामहरुमाथि छलफल भएको थियो।































प्रतिक्रिया