शैक्षिक परामर्श क्षेत्र सेवा उद्योग हो, सरकारको विशेष प्राथमिकतामा छ: मन्त्री भण्डारी

शैक्षिक परामर्श क्षेत्र सेवा उद्योग हो, सरकारको विशेष प्राथमिकतामा छ: मन्त्री भण्डारी

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले शैक्षिक परामर्श क्षेत्रलाई सेवा उद्योगको रुपमा विकास गर्न सकिने र यो सरकारको विशेष प्राथमिकतामा रहेको बताएका छन्।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) द्वारा आयोजित ‘एडुक्लेभ ३.०’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले नेपालमा उच्च शिक्षा हासिल गर्न चाहने स्वदेशी तथा विदेशी विद्यार्थीहरुका लागि शैक्षिक केन्द्र स्थापना गर्न सकिने सम्भावना औंल्याएका हुन् ।

उनले छिमेकी मुलुक भारत र चीनको ठूलो जनसङ्ख्यालाई लक्षित गर्दै सीमा क्षेत्रमा प्राविधिक शिक्षा प्रदान गर्ने क्याम्पस स्थापना गर्न सकिने विचार व्यक्त गरे।

सुदूरपश्चिमको गेटामा स्थापना भएको स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई उदाहरणको रुपमा प्रस्तुत गर्दै मन्त्री भण्डारीले यस क्षेत्रमा विदेशी विद्यार्थीलाई आकर्षित गर्न सकिने बताए । अन्य सीमा क्षेत्रमा पनि विज्ञान तथा प्रविधिका क्याम्पस स्थापना गरी नेपालमा लगानी भित्र्याउन सरकारले नीतिगत साझेदारीमा इक्यानसँग सहकार्य गर्ने जानकारी पनि उनले दिए।

मन्त्री भण्डारीले शैक्षिक परामर्श संघ सम्बन्धी ऐनको प्रक्रियागत जटिलता हटाएर यसकाे सेवा प्रवाहलाई सरल र सहज बनाउन सरकार प्रयासरत रहेको पनि बताए । त्यसैगरी, सरकारले शिक्षा ऐनलाई विशेष प्राथमिकतामा राखेको र यसलाई चाँडो भन्दा चाँडो पारित गराउन सांसदहरुबीच छलफल जारी रहेकाे पनि उनले बताए ।

Logo