शिक्षा क्षेत्रका लागि कस्तो रह्यो वर्ष २०८१ ?

शिक्षा क्षेत्रका लागि कस्तो रह्यो वर्ष २०८१ ?


काठमाडौं । उपलब्धीको बयान गर्न लायक खासै केही नहुने शिक्षा क्षेत्र यस वर्ष अर्थात् २०८१ मा पनि उपलब्धीमूलक कार्य देखिएन । चर्चामा रहेको ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनको विधेयक’लाई हिउँदे अधिवेशनबाट पारित गर्ने भनिए पनि छलफलमै सिमित रह्यो । उक्त विधेयक जारी गराउन शिक्षकहरुको आन्दोलन यो वर्ष शिक्षा क्षेत्रको केन्द्रमा रह्यो ।

चर्चा गरौं यस वर्ष शिक्षा क्षेत्रमा भएका उपलब्धि र घटना

समयमै विद्यार्थीको हातमा पुस्तक

सरकारले नयाँ शैक्षिक सत्र सुरु हुनुअगावै सबै विद्यालयमा पाठ्यपुस्तक पु¥याउने घोषणा गरेको थियो । सोहि अनुरुप विद्यालय तहको पाठ्यपुस्तक प्रकाशन गर्दै आएको जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले पुस्तक छपाईको कामलाई तिब्रता दिएको थियो । विगतमा पाठ्यपुस्तक समयमै विद्यालय पुग्न नसक्दा खाली झोला बोकेर विद्यालय जानु पर्ने बाध्यता थियो ।

तर २०८१ सालमा भने विद्यार्थीहरु उक्त समस्या भोग्नु परेन । कारण शैक्षिक शत्र सुरु हुनु अगावै अधिकांश विद्यालयमा पाठ्य पुस्तक पुगिसकेको थियो ।

शिक्षामन्त्रीमा विद्या भट्टराई

नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीको नेतृत्वमा नयाँ सरकारको गठन भए पछि शिक्षा क्षेत्रलाई बुझेकि लामो समय सम्म प्राध्यापक भएर विद्यार्थीलाई पढाएकी विद्या भट्टराई गत असारमा शिक्षा मन्त्री बनिन् । शिक्षा विधेयकलाई प्राथमिकतामा राखेकी उनले विधेयक पारित गराउन नसके पदमा नबस्ने उद्घोषसम्म गरेकी थिइन् । यद्यपी संसदमा पेश भएको डेढ वर्ष वितिसक्ला समेत शिक्षा ऐन शिक्षा समितिमै रुमल्लिरहेको छ ।

सरकारी कार्यालयमा स्नातक तहका विद्यार्थीलाई ‘इन्टर्नसीप’को सुरुवात

सरकारले स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीलाई सरकारी कार्यालयमा इन्टर्नसिपमा राख्ने निर्णय गरेको छ । गत पुषमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिले स्नातकमा अध्ययन गर्ने विद्यार्थीलाई इन्टर्नसिपमा राख्ने निर्णय गरेको थियो ।

गत पुषमा भएको उक्त निर्णय अहिले लागू भने भैसकेको छैन । आगामी माघदेखि लागू हुने गरि मस्यौदाको ड्राफ्ट तयार भैरहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । ‘इन्टर्नमा ल्याउने विद्यार्थीलाई रोजगारसँग जोड्ने कि के गर्ने, सबै विद्यार्थीलाई सहभागी गराउन सकिन्छ, सकिँदैन । सेवा सुविधा लगायतका विषयमा छलफल भैरहेको मन्त्रालयका सुचना अधिकारी निलकण्ठ ढकालले बताए ।

केआईआईटी विश्वविद्यालयको विवाद

भारतको ओडिसा राज्यस्थित राज्यको केआईआईटी विश्वविद्यालयमा प्रकृति लम्सालले होस्टेलको कोठामै मृत भेटिए पछि विश्वविद्यालयमा तनावग्रस्त वातावरण सिर्जना भएको थियो । नेपाली विद्यार्थीहरु छानविनको माग गरेपछि प्राध्यापकहरु तिमिहरुको देशको भन्दा याे कलेजको बजेत धेरै छ भन्दै गालीगलौज र कुटपिटसमेत गरेका थिए । त्यसपछि क्याम्पस प्रशासनले नेपाली विद्यार्थीलाई जबरजस्ती होस्टेलबाट निकाली आफ्नै देश जाउ भन्दै ट्रेन स्टेशनमा छाडेको थियो ।

शंकास्पद मृत्यु भएको साथीको न्यायका लागि आवाज उठाउँदा अपमानजनक रुपले कलेजबाट निकालिएका विद्यार्थीहरुमा लामो समयसम्म त्रास हट्न सकेको थिएन । क्याम्पस प्रशासनले माफी मागेर विद्यार्थीलाई फर्किन आग्रह गरेपनि विद्यार्थीहरु फर्किन सक्ने मनस्थितिमा थिएनन् । विस्तारै अवस्था सामान्य बन्दै गएपछि विद्यार्थीहरु अहिले पढाईलाई निरन्तरता दिइरहेका छन् ।

विद्यार्थी नेताहरुले प्रहरी कुटे

क्याम्पस हाताभित्र अराजकमचता देखाउने विद्यार्थी नेताहरु प्रहरी कुट्न समेत पछि परेका छैनन् । माघ २४ गते राती ठमेलमा ड्यूटीमा खटिएका प्रहरीलाई नेकपा एमाले निकट अनेरा स्ववियुका विद्यार्थी नेताहरु दुई जना प्रहरीलाई कुटपित गरेका थिए । जुन विषयको संसद देखि चौतर्फी विरोध भएको थियो । अनेरास्ववियु स्थायी कमिटी सदस्य कमलराज जोशी, गोपाल बहादुर शाही, नवीन सिंह ऐर, दिनेश सिग्देलले प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज बिष्टमाथी आक्रमण गरेका थिए । राजनीतिक संरक्षणमा रहेको ति विद्यार्थी नेताहरु १०/१० हजार रुपैयाँ धरौटीमा छुटेका थिए ।

स्ववियु चुनावको चर्चा

मिनी संसदको रुपमा लिइने स्ववियु निर्वाचन शिक्षा क्षेत्रमा यस वर्षको चर्चाको विषय बन्याे । चैत ५ गते हुने भनिएको निर्वाचन कतिपय क्याम्पसमा विद्यार्थी संगठनहरु विचको आन्तरिक किचलोका कारण सफल हुन सकेन । शिक्षा सुधारका मुद्दा बोकेका विद्यार्थी नेताहरु चुनावलाई लिएर क्याम्पसको डेक्स बेन्च तोडफोड गर्नेदेखि लिएर एक अर्कामाथी आक्रमणमै उत्रिएर घाइते भएर अस्पतालमा भर्ना नै भए ।

रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसमा विद्यार्थीले गरेको अराजक क्रियाकलाप सामाजिक सञ्जारभरी नै फैलिएको थियो । ति विद्यार्थी नेताहरुले डेक्स बेन्च तोडफोड गरेका थिए । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थी संगठन विच झडप भएको थियो, जसबाट नेविसंघ केन्द्रीय सदस्य र मोरङ जिल्ला सभापतिसहित तीन जना घाइते भएका थिए ।

बागबजारको पद्मकन्या क्याम्पसमा पनि झडप भयो । त्यस झडपमा पद्मकन्या क्याम्पसकी निवर्तमान स्ववियु सभापति ज्योती पनेरु घाइटे भएकी थिइन् । विवादकै कारण काठकाडौंकै केन्द्रमा रहेको कतिपय क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेन ।२०६५ साल उता निरन्तरता पाउन नसकेको स्ववियु विर्वाचन रत्नराज्य लक्ष्मी क्याम्पसमा हुन सकेन ।

शिक्षक आन्दोलन

२०८१ मा शिक्षा क्षेत्रमा सबैभन्दा धेरै शिक्षक आन्दोलनको चर्चा भैरहेको छ । यतिबेला देशभरका शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । नेपाल शिक्षक महासंघको अगुवाईमा भैरहेको उक्त आन्दोलनका शिक्षकहरु सरकारले बारम्बार वार्तामा बोलाए पनि ‘हामीलाई शिक्षा ऐन चाहिन्छ, वार्तामा जादैनौं’ भनिरहेका छन् ।

अहिलेको शिक्षा ५३ वर्ष अगाडीको शिक्षा ऐन अनुसार सञ्चालन भैरहेको छ । संघीय सरकारको स्थापना भएको ९ वर्ष वितिसक्दा समेत नयाँ शिक्षा ऐन आउन सकेको छैन । गत असोजमा तत्कालिन शिक्षामन्त्री अशोक कुमार राईले विद्यालय शिक्षा विधेयक २०८० संसदमा पेश गरेका थिए । विधेयक संसदमा पेश भएको १८ महिना वितिसकेको छ । लामो समय वितिसक्दा समेत ऐन नआउँदा यथाशिघ्र ऐन ल्याउन सरकारलाई दवाव दिनका लागि शिक्षकहरु अन्तिम तथा निर्णायक आन्दोलन गरिरहेका छन् ।

माघ २० गते सबै शिक्षक कर्मचारीले फेसबुक वालमा आयतकार रातो स्टिकर प्रयोग गरी ‘२०८१ को हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस लेखेर सुरु भएका आन्दोलन, विभिन्न पार्टी कार्यालय र शिक्षा विकास समन्वय इकाई केन्द्रमा धर्ना दिएर अहिले सडक आन्दोलन भैरहेको छ ।

उपकुलपति बरालको राजीनामा

त्रिवि सुधार्न छिरेका प्रा. डा. केशरजंग बराल एक वर्ष पुरा हुन नपाउदै उपकुलपतिको पदबाट राजीनामा दिए पछि उक्त विषय पनि चर्चामा आयो । उनी त्रिविको इतिहासमै पहिलो पटक मेरिटोक्रेसी (योग्यताको आधारमा) उपकुलपति नियुक्त भएका थिए । त्रिवि सुधारलाई प्राथमिकतामा राखेका बरालले स्वास्थ समस्या देखाउदै राजीनाम दिएका थिए । स्वास्थ्य समस्यालाई कारण देखाए पनि काम गर्ने वातावरणको सिर्जना नभएकाले र प्रधानमन्त्री ओलीले दिएको प्रेसर थेग्न नसकेका कारण उनले राजीनामा दिएको हल्ला पनि चलेको थियो ।

प्रधानमन्त्री कार्यालयमा राजीनामा पत्र दिएर उनी काठमाडौं छोडेर पोखरा गएका थिए । उनलाई फर्काउन त्रिविका रेक्टर, रजिस्टाररले समेत पहल गरेका थिए । तर उनीहरुको प्रयास सफल हुन सकेन । कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बरालको राजीनामा स्वीकृत गरिसकेका छन् । यतिबेला त्रिवि उपकुलपतिविहीन भएको छ ।

काठमाडौं महानगरका सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड

काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका कक्षाकोठामा ५० हजार घण्टा क्षमता भएको स्मार्ट बोर्ड जडान गरेको छ । शिक्षण क्रियाकलाप र सिकाइमा लगानी बढाएर नतिजा सुधार गर्न कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिका शिक्षा विभागले ३१३ वटा बोर्ड जडान गरेको हाे ।

‘प्रमाणमा आधारित विद्यालयको पूर्वाधार विकास, प्रविधि र उपकरण, मानव पुँजी विकासअन्तर्गत शिक्षक तालिम, सुशासन, व्यवस्थापन तथा दिगोपनाका लागि महानगरले विद्यालयमा स्मार्ट बोर्ड जडान गरेको हो । बोर्ड प्रयोगका लागि शिक्षकहरुलाई तालिम पनि दिइएको छ । कामपाको गौरव योजनाअन्तर्गत ‘गरी खाने शिक्षा, महानगरको इच्छा’ कार्यक्रमअन्तर्गत सूचना प्रविधिमैत्री विद्यालय, डिजिटल शिक्षण सिकाइ कार्यक्रमका लागि चालु र क्रमागत गरेर करिब रु २० करोड विनियोजित गरिएकाे छ ।

Skip This
Skip This
Logo