काठमाडौं । काठमाडौंको सडककेन्द्रित शिक्षकहरुको आन्दोलन आज पनि जारी रहने छ ।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन राज्यको शिक्षाप्रतिको संवेदनहिनता, शिक्षक–कर्मचारी तथा विद्यार्थीप्रति हेपाहा चरित्रसँग रहेको भन्दै शिक्षा ऐन जारी नभएसम्म नछोड्ने बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हाम्रो लडाइँ राज्यको शिक्षाप्रतिको संवेदनहिनता, शिक्षक–कर्मचारी तथा विद्यार्थीप्रति हेपाहा चरित्रसँग छ। अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्न नखोज्ने प्रवृत्ति र षडयन्त्र विरुद्ध छ । त्यसैले हाम्रा अभिव्यक्ति र व्यवहार त्यही अनुकूल हुनुपर्छ।’’
अध्यक्ष सुवेदीले यो आन्दोलन सबैको भएको भन्दै आन्दोलनका उपलब्धि पनि सबैका लागि समानरुपले प्राप्त हुने बताए । उनले भनेका छन्,‘आन्दोलन सबैको हो । आन्दोलनका उपलब्धि पनि सबैकालागि समानरुपले प्राप्त हुनेछन् । त्यसैले आन्दोलनमा सहभागिता र योगदान पनि बराबर हुनुपर्छ भन्ने कुराप्रति सचेत रहीदिनु होला ।’
उनले सडकको सफाइ, दुबो र बोटविबरुवाको सुरक्षाप्रति जिम्मेवार भइ जेब्रा बाहेक अन्य ठाउँबाट वारपार नगर्न समेत अनुरोध गरेका छन् ।
नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका सामुदायिक विद्यालयका शिक्षक काठमाडौं आएर शिक्षा ऐन माग्दै २३ दिनदेखि आन्दोलनमा छन् । तर, सरकार यी मागमा त्यति उदार देखिँदैन । शिक्षकहरूले सडक नछाड्दा नयाँ शैक्षिक सत्रको भर्नादेखि पठनपाठन नै सुरु हुन सकेको छैन भने ११ वैशाखदेखि गर्ने भनिएको कक्षा १२ को परीक्षा सरेको छ । एसइई परीक्षाको उत्तरपुस्तिका जाँच भएको छैन र नतिजा आउन विलम्ब हुने पक्का छ ।
यसैलाई मध्यनजर गर्दै सर्वोच्च अदालतले काठमाडौंका सडकमा आन्दोलनरत शिक्षकहरुका माग तीन दिनभित्र पूरा गरी पठनपाठनको वातावरण बनाउन अन्तरिम आदेश जारी गरेको छ । आदेशमा भनिएको छ,’शिक्षकका जायज र संविधानसम्मत माग तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरुले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरु विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नू ।’































प्रतिक्रिया