काठमाडौं । काठमाडौंका सडक केन्द्रित शिक्षक आन्दोलनका क्रममा आज शिक्षकहरुबीच नै कुटाकुट भएको छ ।
शनिवार दिउँसो बिजुलीबजारमा प्रदर्शनका क्रममा कैलालीको धनगडी उपमहानगरपालिका–१ का ५४ वर्षीय केशवराज जोशीमाथि कुटपिट भएको हो। उनी कैलालीको धनगढी–१२ स्थित दुर्गा आधारभुत माध्यमित विद्यालयका शिक्षक हुन्।
आपसी मतभेदका कारण शिक्षकहरुकाे समूहले जोशीलाई कुटपिट गरेका हुन् ।कुटपिटबाट उनको टाउकोदेखि शरीरका विभिन्न भागमा चोटपटक लागेको छ । उनलाई तत्कालै प्रहरीको टोलीले मिनभवनस्थित सिभिल अस्पताल पुर्याएको थियो । हाल उनी बोल्न सक्ने अवस्थामा छन् ।
जोशी पनि शिक्षक महासंघकै आन्दोलनमा सहभागी हुन काठमाडौं आइपुगेका हुन् । हाल कुटपिटकाे भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ।
विगतका सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित हुनुपर्नेलगायत माग राखेर नेपाल शिक्षक महासङ्घको आह्वानमा यही चैत २० गतेदेखि शिक्षकहरुले काठमाडौँकेन्द्रित आन्दोलन जारी राखेका छन् । उनीहरु ऐन जारी नभएसम्म सडक नछाड्ने अडानमा छन् । शिक्षकहरूले सडक नछाड्दा नयाँ शैक्षिक सत्रको भर्नादेखि पठनपाठन नै सुरु हुन सकेको छैन भने ११ वैशाखदेखि गर्ने भनिएको कक्षा १२ को परीक्षा सरेको छ । एसइई परीक्षाको उत्तरपुस्तिका जाँच भएको छैन र नतिजा आउन विलम्ब हुने पक्का छ ।





























प्रतिक्रिया