काठमाडौं । हिमालय कलेज अफ इन्जिनियरिङले आयोजना गरेको एकदिने ‘सुपर जुब्ली कप २०२५’ सुरु भएको छ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आंगीक र सम्वन्धन प्राप्त इन्जिनिययरिङ क्याम्पसहरुमा कार्यरत शिक्षक र कर्मचारीहरुबीच भावनात्मक सम्बन्ध कायम होस् भन्ने उदेश्यले २५ औं वर्ष पुगेको अवसरमा हिमालय कलेज अफ इन्जिनियरिङले च्यासलस्थित नेशनल स्पोर्ट सेन्टरमा उक्त फुटसल प्रतियोगिताको आयोजना गरेकाे हो ।
कार्यक्रमको औपचारीक उद्घाटन इन्स्टिच्युट अफ इन्जिनियरिङका डिन प्रा.डा. सुशील बहादुर बज्राचार्यले पानसमा दियो बालेर गरेका थिए । यस फुटसल प्रतियोगितामा त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त ९ वटा क्याम्पसका शिक्षक तया कर्मचारीहरुको सहभागिता रहेको छ । प्रतियोगिताका लागि खेलाडीहरुलाई ९ समूहमा विभाजन गरिएको छ ।
कलेजका निर्देशक किशोर गौतमले शिक्षक, कर्मचारी, विश्वविद्यालय, क्याम्पसबीच भावनात्मक र भाईचाराको सम्बन्ध कायम होस् भनेर विगत ५ वर्षदेखि फुटसल प्रतियोगिताको आयोजना गर्दै आएको जानकारी गराए ।
उनले भने, ‘यो खेलकुकद प्रतियोगिताले देशभरिकै उच्च शिक्षालाई पनि समेट्नेछ ।’ आगामी दिनमा यस कार्यक्रममा इन्जिनियरिङ कलेजहरुको प्लस टु मा अध्यापन गराउने शिक्षकहरुलाई सहभागी गराई अगाडि बढाउने योजनामा रहेको उनले बताए ।
विदेशमा अध्ययन गरेका विद्यार्थीहरुले स्वदेशमा आएर लाईसेन्सका लागि काउन्सिलको परीक्षा दिँदा धेरैजसो अनुत्तीर्ण हुने गरेको र नेपालमै अध्ययन गरेका विद्यार्थी धेरै उत्तीर्ण हुने गरेकाले देशमै इन्जिनियरिङ अध्ययन उत्कृष्ट भएको प्रष्ट देखिएको पनि उनले दाबी गरे ।
त्यस्तै, इन्स्टिच्युट अफ इन्जिनियरिङका डिन प्रा. डा. बज्राचार्यले यस प्रकारका प्रतियोगिताले शिक्षक कर्मचारीहरुमा आत्मीयता कायम गराउन मदत गर्ने बताए । उनले भने, ‘स्कुल, कलेजमा विद्यार्थीहरु लक्षित धेरै अतिरिक्त क्रियाकलाप हुँदै आएको छ तर शिक्षकहरुका लागि त्यस्तो कुनै प्रतियोगिताहरुको आयोजना गरिएको हुँदैन । शिक्षकलक्षित यस्ता फुटसल प्रतियोगिताले एक दिन भए पनि शिक्षक कर्मचारीहरुलाई रिफ्रेसमेन्ट मात्र नभई आत्मीयता पनि कायम गराउनेछ ।’
‘सुपर जुब्ली कप २०२५’मा सहभागी हुनका लागि आयोजक पक्षले दर्ता शुल्क २५ हजार निर्धारण गरेको थियो । प्रतियोगितामा पहिलो स्थान प्राप्त गर्ने सफल समूहले ४० हजार पुरस्कार प्राप्त गर्नेछ ।
फुटसल प्रतियोगिता विहानको ७ः३० बजेदेखि सुरु भएको छ । खेलाडीहरुका लागि खाना र खाजाको व्यबस्था पनि कलेजले नै गरेको छ । प्रतियोगितामा हिमालय कलेज अफ इन्जिनियरिङ, कान्तिपुर इन्जिनियरिङ कलेज, काठमाडौं इन्जिनियरिङ कलेज, नेशनल कलेज अफ इन्जिनियरिङ, सगरमाथा इनिजनियरिङ कलेज, थापाथली क्याम्पस, एभरेष्ट इन्जिनियरिङ कलेज, एडभान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेजहरुको सहभागिता रहेको छ ।
विगत ५ वर्षदेखि फरक फरक इन्जिनियरिङ कलेजहरुले आयोजना गर्दै आएको ‘सुपर कप’ यस वर्ष हिमालय कलेज अफ इन्जिनियरिङले आयोजना गरेको हो । उक्त फुटसल प्रतियोगिता दिउँसोको ४ः०० वजे सम्म सञ्चालन हुनेछ ।





























प्रतिक्रिया