शिक्षक आन्दोलन दिनहुँ थप चर्किँदै, सरकारको नजर संवाद कि दमनमा ?

शिक्षक आन्दोलन दिनहुँ थप चर्किँदै, सरकारको नजर संवाद कि दमनमा ?

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । २७औं दिनदेखि देशभरका शिक्षकहरु काठमाडौंका सडकमा छन् । आन्दोलनको समय जति लम्बिँदै छ त्यति नै चर्किँदै पनि छ । विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएपछि नयाँ शिक्षा मन्त्रीमा रघुजी पन्तलाई पाएको छ । तर, आन्दोलन साम्य हुनुको साटो झनै चर्किएको पाइन्छ ।

शान्तिपूर्वक तरीकाले आन्दोलन गरेर शिक्षा ऐनको माग गरिरहेका शिक्षकहरु आइतबार निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले पानीको फोहरा हानेको थियो । त्यसैगरि लाठीचार्ज समेत गरेको थियो । जसबाट ६३ जना शिक्षक कर्मचारी र एक पत्रकार घाइते भएका छन् । शिक्षकहरु निषेधित क्षेत्र तोडे पछि र ढुङ्गामुढा गरेपछि प्रहरीले पानीको फोहोरा हानेको थियो तर शिक्षकहरु यस विषयलाई नकारेका छन् । उनीहरुले आन्दोलनलाई भाड्न सरकारबाटै घुसपैठ भएको बताउँदै आएका छन् ।

शिक्षकहरुले निषेधित क्षेत्र तोडेको र ढुङ्गामुढा गरेको कुरा नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले पनि अस्वीकार गरे । उनले भने ‘अहिलेसम्म आन्दोलन शान्तिपूर्वक तरीकाले नै भैरहेको थियो र छ । तर सरकारले नै बेला बखत भिजलान्तेहरु पठाएर आन्दोलन भड्काउने प्रयास गरिरहेको छ । सरकारले जे गरे पनि हामी विद्यालय शिक्षा विधेयक लिएर फर्किदैनौं ।’

त्यस्तै, आन्दोलनमा सहभागी भएका शिक्षकहरुले पनि आन्दोलनलाई भाड्नका लागि घुसपैठ भएको बताउँदै आएका छन् ।

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले पनि घुसपैठ भएको बताएका छन् । शिक्षक महासंघले शिक्षकहरुमाथी भएको प्रहरी दमनको प्रतिकार गर्दै आन्दोलनलाई थप चर्काउने विज्ञप्ती जारी गरेको छ । साथै आन्दोलमा नआएका शिक्षकहरुलाई काठमाडौं आउन आग्रह गरिएको छ ।

घुसपैठ की अराजकशैली ?

शिक्षक आन्दोलनको कार्यतालिका भनेको बिहानको ११ः ०० बजे माइतीघर मण्डलामा भेला हुने र त्यहाँबाट नारा जुलुस गरी नयाँ बानेश्र गई दिउँसोको ३ बजेसम्म आन्दोलन गर्ने । शिक्षकहरु सधैं त्यहि कार्यतालिका अनुसार आन्दोलनलाई अगाडि बढाइरहेका छन् । माइतीघर बाट हिँड्न सुरु गरेका शिक्षकहरु शिक्षा ऐनको माग गर्दै नारा लगाउदै नयाँ बानेश्वर क्षेत्रका पुगेपछि आफ्नो कार्यक्रमहरु त्यही सञ्चालन गर्छन् ।

सभ्य तरिकाले कोही नाचगान गरेर, कोही कविता, गजल, मुक्तक त कोही नारा लगाएर सरकारसँग शिक्षा ऐनको माग गरिरहेको दृष्य आन्दोलनमा देखिन्छ । तर आइतबार त्यहि शिक्षक आन्दोलनले फरक रुप लियो ।

शिक्षकहरु आफ्नै सुरमा विजुलीबजार हुँदै नयाँ बानेश्वरतर्फ जाँदै थिए । त्यहि शिक्षक आन्दोलनको हुलबीचबाट एक जना हेल्मेट लगाएका व्यक्तिले शिक्षकहरुको सुरक्षामा खटिएका प्रहरीलाई ढुङ्गा प्रहार गरेका थिए । त्यसपछि प्रहरीले शिक्षकहरुलाई पानीको फोहराले हान्नुका साथै शिक्षकहरु माथी लाठी बसायो । उनीहरुको भनाइ थियो त्यसपछि अन्य शिक्षकहरुले पनि प्रतिरक्षाका लागि प्रहरीतर्फ ढुङ्गा हानेका थिए ।

उक्त घटना नयाँ वानेश्वरस्थित निषेधित क्षेत्रमा भएको थियो । कतिपय शिक्षकहरु विजुलीबजारको पारीपारी बसेर नाचगानमा व्यस्त थिए । शिक्षकहरु भागेको देखेपछि भागदौड मच्चिएको थियो । भागदौडकै समयमा पनि धेरै शिक्षकहरु घाइते भएका थिए ।

नेपाल शिक्षक महासंघकि सह–अध्यक्ष तथा शिक्षक आन्दोलनकि संयोजक नानु माया पराजुलीले शिक्षक आन्दोलनलाई विफल पार्न सरकार नै लागिपरेको आरोप लगाइन् । प्रहरीले भने शिक्षकहरुबाट निषेधित क्षेत्र तोड्ने प्रयास हुँदा र सुरुमै प्रहरीमाथि ढुङ्गामुढा प्रहार गर्दा आन्दोलनले अराजक रुप लिएको बताएको छ ।

आइतबारको यो गतिविधि पछि आज धेरै शिक्षकहरू आन्दोलनमा थपिएका छन् । प्रहरीको दमनपछि नेपाल शिक्षक महासङ्घले काठमाडौँ केन्द्रित आन्दोलनमा घरमै बसेका शिक्षकहरूलाई तत्काल आउन आह्वान गरेको थियो । सोही आधारमा आज हजारौँको सङ्ख्यामा शिक्षकहरू थपिएका हुन् । शिक्षकहरू थपिँदा आन्दोलनमा अहिलेसम्मकै बढी भीड देखिएको थियो । प्रहरीले निषेधित क्षेत्र भन्दा अगाडिबाट नै ‘तपाईहरु अगाडि नबढ्नुहोस् कार्यक्रमको गर्ने यहीं सम्म मात्र हो भन्दै’ माइकिङ गरिरहेका थिए । तर शिक्षकहरु प्रहरीले गरेको माइकिङलाई वेवास्ता गर्दै अगाडि बढिरहेका थिए । यद्यपी आज झडप हुने अवस्था भने आएन।

वैशाख ८ को त्यो घटना

शिक्षक आन्दोलनमा वैशाख ८ गतेको त्यो घटनालाई फर्केर हेरौं । दिउँसोको करिव १२ वज्न लागेको हुँदो हो । ललितपुर निवासी सनोज महर्जन विजुली बजारको पुलनजिकै आन्दोलनको विचमा आएर ‘शिक्षकहरु तपाईहरु फर्किनु होस् तपाईंले विद्यालय बन्द गर्दा हाम्रा छोराछोरी पढ्न पाएनन्, शिक्षकहरुको तमासा धेरै भयो ।’ भन्दै नारा लगाउन थालेपछि शिक्षकहरु उनी माथी जाइलागेका थिए । कुटपिट गरेका थिए ।

त्यसपछि ति अभिभावकलाई प्रहरीले शिक्षकहरुबाट बचाएर नियन्त्रणमा लिएको थियो । उक्त समयमा पनि शिक्षकहरुले आन्दोलनलाई भाड्नका लागि घुसपैठ भएको बताएका थिए । आफूलाइै अभिभावक बताउने र आफ्ना छोराछारीलाई सरकारी विद्यालयमा पढाउँदै आएको तर शिक्षक आन्दोलनले देशैभरका निम्न परिवारमा जन्मिएका विद्यार्थी पढ्न नपाएकाले ‘शिक्षकहरुलाई विद्यालय फर्किनु होस्’ भनेर आग्रह गर्न आएको बताएका थिए ।

शिक्षकहरुबाट कुटाई खाएपछि त्यसलगत्तै उनी ‘शिक्षकहरु विद्यालय फर्किनु होस्’ लेखिएको पम्प्लेट बोकेर माइतीघर मण्डलामा धर्नामा बसेका थिए । धर्नामा बसेका बेला हामीले उनीसँग कुरा पनि गरेका थियौं । उक्त समयमा उनले शिक्षकहरु विद्यालय नफर्किदा सम्म धर्ना जारी राख्ने बताएका थिए । तर आजभोलि उनि माइतीघरमा देखिँदैनन् ।

आन्दोलनमा ऐक्यवद्धता जनाउन आएका नेताकै विरोध

सोमबार शिक्षक आन्दोलनमा ऐक्यवद्धचता जनाउन पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाललगायत पुगेका थिए । विगत २७ दिनदेखि जारी शिक्षक आन्दोलनमा एक्यवद्धता जनाउन लागि उनीहरू आन्दोलन स्थल पुगेका थिए तर शिक्षकहरुले उनिहरुकै विरुद्धमा नारावाजी गर्न थालेपछि क्षणभरमै फर्किए ।

शिक्षकहरूले उनीहरूविरुद्ध नै नाराबाजी गरेपछि दुवै जना अपमानजनक शैलीमा फर्किन बाध्य भएका थिए । आन्दोलनमा समर्थन गर्दै भाषण गर्ने योजनासहित आन्दोलन स्थल पुगेका माधव नेपाल र झलनाथ खनाल शिक्षकहरूले ‘राजनीति गर्न पाइँदैन, शिक्षकका समस्याका बारेमा बोल्ने हो भने संसदमा बोल्नुहोस् यहाँ आउन पर्दैन’ भन्दै नाराबाजी गर्न थालेपछि उनीहरू भाषण नगरी लज्जास्पद तरिकाले फर्किएका थिए । प्रहरीले स्कर्टिङ गरेर गाडीसम्म पुर्याएको थियो ।

के भन्छन् शिक्षामन्त्री पन्त ?

शिक्षामन्त्री पन्तले शिक्षक आन्दोलनको समाधान गर्नका लागि बोल्ने भन्दा काम गरेर देखाउने बताएका छन् । सपथग्रहण गरेलगत्तै उनले यस्तो प्रतिकृया दिएका थिए । उनले समस्या समाधानका लागि शिक्षक नेताहरुलाई वार्ताका लागि आह्वान समेत गरेका थिए तर वार्ताका लागि गएका शिक्षकहरु सिंहदरवारको गेटबाटै फर्किएका थिए । पछिल्लोपटक भने उनीहरुबीच वार्ता भएको थियो, तर निष्कर्ष निस्कन भने सकेन ।

पन्तले विद्यालय शिक्षा विधेयकका विषयमा पनि विचार व्यक्त गर्दै, विधेयक संसदमा पेस हुने, छलफल हुने र स्वीकृत हुने बताएका छन् । उनले वार्ताको माध्यमबाट समाधान खोज्न हार्दिक अपिल पनि गरेका छन् । शिक्षक आन्दोलन चर्किएको बेला शिक्षामन्त्री बनेका पन्तलाई शिक्षकका समस्या समाधान गरि पठनपाठन सुचारु गर्न चुनौती रहेको छ । तथापी शिक्षक आन्दोलनप्रति सकारात्मक र संवेदनशील देखिएका पन्तले शिक्षक वार्ताबाट समस्याको निकास खोज्न सकिने सरोकारवालाहरुले सुझाएका छन् ।

Logo