काठमाडौं । काभ्रेपलाञ्चोकमा पहिलोपटक नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आयोजना गरेको एक दिने ‘इक्यान काभ्रे एजुकेसन फेयर’ भव्यतापूर्वक सम्पन्न भएको छ । शुक्रबार बिहान १०ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म बनेपा पार्टी भेन्युमा चलेको काभ्रे एजुकेसन फेयर विद्यार्थीहरुको उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको हो ।
वैदेशिक अध्ययनका लागि जान चाहने विद्यार्थीहरूलाई शैक्षिक परामर्श दिने उद्देश्यका साथ आयोजना गरिएको एजुकेसन फेयर इक्यानका अध्यक्ष शेषराज भट्टराईले उद्घाटन गरेका थिए । साथै सो अवसरमा शाखा कार्यालयको पनि उद्घाटन गरिएको थियो ।
कार्यक्रममा अध्यक्ष भट्टराईले काभ्रेका विद्यार्थीहरुलाई लक्षित गरेर आयोजना गरिएको फेयर निकै प्रभावकारी र फाइदाजनक रहेको बताए ।
प्रवेश निशुल्क गरिएको काभ्रे एजुकेसन फेयरमा अमेरिका, अस्ट्रेलिया, जापान, इंगल्याण्ड र क्यानडालगायतका देशहरूमा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई सही परामर्श र मार्गदर्शन प्रदान गर्ने उद्देश्यले इक्यान काभ्रे एजुकेसन फेयर आयोजना गरिएको काभ्रे इक्यानका अध्यक्ष भुवन रायमाझीले जानकारी दिए । उनले फेयरमा लगभग २ हजार विद्यार्थीहरुले सहभागिता जनाएको बताए ।

अध्यक्ष रायमाझीका अनुसार काभ्रे एजुकेसन फेयरमा १७ वटा भन्दा बढी एजुकेसन कन्सल्टेन्सी र हस्पिटालिटी संस्थाहरूका स्टलहरु रहेका थिए । कन्सल्टेन्सी र हस्पिटालिटी बाहेक निःशुल्क स्वास्थ्य शिविरका स्टलहरु पनि राखिएका थिए ।
फेयरमा स्टल राखिएको मोडर्न एकेडेमीका संस्थापक साथै इक्यानका सदस्य रमेश श्रेष्ठका अनुसार काभ्रेमा रहेका विद्यार्थीहरूको लागि यो फेयर निकै प्रभावकारी भएको छ । सदस्य श्रेष्ठका अनुसार यसअघि काभ्रेका विद्यार्थीहरुले वैदेशिक अध्ययनमा जानुअघि शैक्षिक परामर्श लिनको लागि काठमाडौं वा भक्तपुर नै पुग्नुपर्ने बाध्यता र समस्या रहेको थियो। यद्यपि यो एजुकेसन फेयर मार्फत भने काभ्रेमा नै विद्यार्थीहरूले सहजै शैक्षिक परामर्श लिने अवसर प्राप्त गरेका छन्। सदस्य श्रेष्ठका अनुसार स्टल भिजिट गरिरहेका विद्यार्थीहरूले निकै सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।

इक्यान काभ्रे एजुकेसन फेयरमा विद्यार्थीहरूको विशेषगरी प्लस टु अध्ययन समाप्त गरेका विद्यार्थीहरूको उत्साहजनक र उल्लेखनीय सहभागिता रहेको थियो । विद्यार्थीहरूले हर्षित हुँदै आफूले भविष्यमा अध्ययन गर्न जान चाहने देशहरूको बारेमा शैक्षिक परामर्श लिएका छन् । काभ्रे एजुकेशन फेयरमा सहभागी विद्यार्थीहरुले फेयरमार्फत् आफुले अध्ययन वा कामका लागि जान चाहेको देशको बारेमा टाढा नगई सहजै परामर्श लिन पाएको बताएकाले निकै प्रभावकारी भएको बताएका छन् ।
अपेक्षा गरिएको भन्दा धेरै मात्रामा विद्यार्थीहरुले फेयरमा सहभागिता जनाउँदा फेयर भव्य र सफलतापूर्वक सम्पन्न भएको आयोजक इक्यानले जनाएको छ । साथै फेयर मा भिजिट गर्ने हजार विद्यार्थी र भिजिटरहरूले एक्सक्लुसिभ गिफ्ट ह्याम्परका साथै फिल्म टिकट पनि प्राप्त गरेका छन् । यद्यपी यो फेयर सफलतापूर्वक सम्पन्न भएकाले साथै विद्यार्थीहरुले सकारात्मक प्रतिक्रिया दिएकाले भविष्यमा पनि यस्ता एजुकेशन फेयर आयोजना गर्ने प्रतिबद्दता आयोजक इक्यानले व्यक्त गरेको छ ।





























प्रतिक्रिया