काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट योग विज्ञान अधिस्नातक (पिजी डिप्लोमा) तहमा सर्वोत्कृष्ट भएका दुई विद्याबर्थीलाई ललितपुर महानगरपालिकाले पुरस्कृत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि, संस्कृत केन्द्रीय विभागमा आज आयोजित कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले शैक्षिक वर्ष २०७९/८० को प्रथम सेमेस्टरका उत्कृष्ट छात्रा अञ्जु श्रेष्ठ र द्वितीय सेमेष्टरका उत्कृष्ट छात्र सनतकुमार न्यौपानेलाई पुरस्कार प्रदान गरेका हुन् ।
पुरस्कारको राशि जनही रु ५० हजार र सम्मानपत्र रहेको छ । ललितपुर महानगरपालिकाले योग विज्ञान अधिस्नातक अध्ययनका लागि ३० जनालाई पूर्ण छात्रवृत्ति उपलब्ध गराएको थियो ।
सो अवसरमा नगरप्रमुख महर्जनले त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गर्न पाउँदा आफू अत्यन्त गौरवान्वित रहेको उल्लेख गर्दै आगामी दिनमा सहयोगको क्षेत्रलाई थप फराकिलो बनाउन नगरपालिका तयार रहेको बताए । योगले मानव जगत्लाई शारीरिक, मानसिक र आध्यात्मिक उन्नयनको यात्रामा अघि बढाउने विश्वास व्यक्त गर्दै उनले ललितपुर महानगरलाई योगमय नगर बनाउने प्रयास थालिएको जानकारी दिए ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा दीपक अर्यालले योग विज्ञान कार्यक्रमका लागि आवश्यक भौतिक पूर्वाधारको व्यवस्था र शैक्षिक गुणस्तर अभिवृद्धिमा आफ्नो सदैव साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । विश्वविद्यालयले सञ्चालन गरेको योग विज्ञान कार्यक्रमलाई अन्तरराष्ट्रियस्तरको बनाउनुपर्नेमा उनले जोड दिए ।
त्रिवि संस्कृत विभागका प्रमुख प्रा डा नारायणप्रसाद गौतमले ठूलो मेहनतबाट विश्वविद्यालयमा योग विज्ञान अध्ययन सुरु भएको जनाउँदै शैक्षिक प्रमाणपत्र मात्र नभई व्यावहारिक ज्ञान लिन विद्यार्थीलाई आग्रह गरे । “पश्चिमा समुदायले योगलाई जीवन पद्धति बनाइसके, यो हाम्रो पुर्खाले सृजना गरेको विद्या हो, अब नेपालीले योगमा वैश्विक नेतृत्व गर्नुपर्छ”, उनले भने ।
प्राध्यापक एवं योग गुरु डा क्षितिज बराकोटीले त्रिविले सञ्चालन गरेको योग विज्ञान कार्यक्रमलाई विश्वस्तरको ज्ञान केन्द्रका रूपमा विकास गरिनुपर्ने आवश्यकता औँल्याउँदै उक्त कार्यक्रमको श्रीवृद्धिका लागि थप सहयोग गर्न ललितपुर महानगरसँग आग्रह गरे । उपप्रध्यापक गोविन्द घिमिरेले पूर्वीय निधिका रूपमा रहेको संस्कृत र योगको महत्ताबारे चर्चा गर्दै यसको प्रवर्द्धनमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए ।





























प्रतिक्रिया