काठमाडौं । त्रिवेणी गाउँपालिका–२ नुवागाउँ रोल्पास्थित अरनिको माध्यमिक विद्यालयका कक्षा १ देखि १२ सम्म अध्ययनरत ५१ जना जेहेन्दार, विपन्न तथा वार्षिक परिक्षामा उत्कृष्ट अंक ल्याउने छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ ।
विद्यालयमा एक कार्यक्रमको आयोजना गरि अक्षेरुपी एक लाख रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको हो । अक्षयकोषका दाताहरू अमेरिका टेक्सास बस्दै आएका जिबराज बुढामगर, याशिका बाँठा मगर, त्रिवेणी गाउँपालिका २ रोल्पा निवासी अमृतबहादुर बुढामगर र दिपा बुढा मगरले आफ्ना स्वर्गीय बुवा/ससुराबुवा इन्द्र बुढा मगर, आमा/सासूआमा मैसरी बुढा मगर तथा काका/काकाससुरा दलबहादुर बुढा मगरको स्मृतिमा २०८० सालमा अक्षेरुपी ५,००,००० (पाँच लाख) रुपैयाँको इन्द्र-मै-दल अक्षयकोष विद्यालयमा स्थापना गरेका थिए । सोही कोषको प्राप्त ब्याजबाट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।
कार्यक्रममा अक्षयकोष स्थापना कर्ताहरू जिबराज बुढा मगर र अमृतबहादुर बुढामगर, विद्यालयका संस्थापक प्रधानाध्यापक कुलानन्द गिरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कबिराज बुढा, प्रधानाध्यापक गणेशकुमार घर्ती मगर लगायतले छात्रवृत्ति वितरण गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक गणेशले इन्द्र-मै-दल अक्षयकोषमार्फत यस वर्ष ५१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरी विद्यालयको शैक्षिक उन्नति र विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्याएका दाताहरूप्रति आभार प्रकट गरे ।
छात्रवृत्तिले विद्यार्थीहरूलाई प्रेरणा, हौसला र अवसर प्रदान गर्ने कार्य गरेको भन्दै उक्त कार्यका लागि दातापरिवारलाई विशेष धन्यवाद व्यक्त गरे ।





























प्रतिक्रिया