नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु

नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु

केन्द्रबिन्दु
0
Shares

नवलपुर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का अधिकांश स्थानीय तहले नियमित पठनपाठन सुरु गरेका छन्। सङ्घीय सरकारले शैक्षिक सत्र २०८३ का लागि तय गरेको समयतालिकाभन्दा अगाडि नै जिल्लाका धेरै स्थानीय तहले कक्षा सञ्चालन थालेका हुन्।

सङ्घीय सरकारले वैशाख १५ गतेदेखि विद्यार्थी भर्ना अभियान र २१ गतेदेखि मात्र नियमित कक्षा सञ्चालन गर्ने निर्णय गरेको भए पनि यहाँका स्थानीय तहले शैक्षिक क्यालेन्डरमा असर पर्ने भन्दै कक्षा सुरु गरेका हुन्। जिल्लाको मध्यविन्दु नगरपालिकाले वैशाख ७ गतेदेखि नै पठनपाठन सुरु गरिसकेको छ।

पालिकाका नगर शिक्षा अधिकारी पदमराज आचार्यले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको अनुरोधअनुसार नगरप्रमुखबाट पठनपाठन सुरु गर्न सहजीकरण भएको बताए।

“आइतबार पनि बिदा हुने भएपछि पढाइका दिन घट्ने भन्दै शैक्षिक क्यालेन्डरअनुसार कक्षा सञ्चालन गर्न प्रधानाध्यापकहरुले अनुरोध गरेका थिए,” उनले भने, “त्यसपछि वैशाख २ देखि ६ गतेसम्म भर्ना अभियान र ७ गतेदेखि नियमित कक्षा सुरु गर्ने निर्णय कार्यान्वयनमा आएको हो।”

हाल पालिकाका सबै सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठन सुरु भइसकेको उनले बताए।

त्यसैगरी कावासोती नगरपालिका, गैँडाकोट नगरपालिका र हुप्सेकोट गाउँपालिकाले पनि मङ्गलबार र बुधबारदेखि पढाइ सुरु गरेका छन्। कावासोती नगरपालिकाका शिक्षा अधिकृत राजन पाण्डेले पालिकाभित्रका विद्यालयमा मङ्गलबारदेखि नियमित कक्षा सञ्चालन भइसकेको जानकारी दिए।

हुप्सेकोट गाउँपालिका शिक्षा शाखा प्रमुख माधवराज गौतमले बुधबारदेखि नियमित पठनपाठन सुरु गरिएको बताए।

जिल्लाको बुलिङटार गाउँपालिका र बौदिकाली गाउँपालिकाले भने बिहीबारदेखि नियमित शिक्षण अभ्यास सुरु गर्ने भएका छन्। बौदिकाली गाउँपालिका शिक्षा शाखा प्रमुख जीवलाल भुसालका अनुसार कार्यपालिका बैठकले बिहीबारदेखि पढाइ सुरु गर्ने निर्णय गरेको हो। “सङ्घीय सरकारले २१ गतेदेखि मात्र कक्षा सुरु गर्न भनेको भए पनि अभिभावकहरुको आग्रहमा १० गतेदेखि पढाइ सुरु गर्ने निर्णय गरिएको हो,” उनले भने।

देवचुली नगरपालिका र विनयीत्रिवेणी गाउँपालिकाले भने सङ्घीय सरकारको निर्देशनअनुसार नै अघि बढ्ने निर्णय गरेका छन्। देवचुली नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव रामप्रसाद शर्माले कक्षा अगाडि सार्ने प्रस्ताव पारित हुन नसकेको बताए।

Logo