भक्तपुर । पढ्ने रहरलाई उमेरले छेक्दैन, उच्च शिक्षा पढ्ने चाहनालाई निरन्तर प्रयासले सफलता पाउँन सकिन्छ भन्ने उदाहरण यतिखेर ६० वर्षीया रमिनकुमारी राईले चरितार्थ गरेकी छिन् ।
उमेरमा गाउँघर, विवाह, छोराछोरी हुर्काउनेलगायतका विभिन्न कारणले पढाइको चाहनालाई बिचमै छाड्नुभएकी राईले यसवर्ष ६० वर्षको उमेरमा मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित आस्था महिला विद्यालयले पुरा गरिदिएको छ ।
अधूरो शिक्षालाई जोड्दै उच्च शिक्षा पढ्ने चाहना बोक्नु भएकी राईले उक्त विद्यालयमा कक्षा आठमा आएर भर्ना भएर पढाइलाई निरन्तरता दिँदा यसवर्षको एसइई परीक्षामा सफलता हात परेको छ ।
पढ्ने उमेरमा विद्यालय र कक्षाकोठा कहिल्यै नदेखेकी बारा जिल्ला निजगढ घर भएकी ललिता आले मगरले ४२ वर्षको उमेरमा एसइई परीक्षा उत्तिर्ण गरेकी छिन् । आर्थिक अवस्था कमजोर भएका कारण स्कुल छाडेर गोठालो जाँदा थाति राखेको पढ्ने रहरलाई पुरा गर्नु भएकी मगरले कक्षा ११ भर्ना हुने बताइन् ।
चौध वर्षकै उमेरमा विवाह गरेकी उनले ड्राइभिङ सिकेर गाडीको लाइसेन्स लिएर बनेपाको सलाई उद्योगको डेलिभरी भ्यान चलाइन् । चार वर्ष दुवई र दुई वर्ष कुवेत बसेर नेपाल फर्किएर एसइई पास गरेकी आलेमगरले अब कक्षा ११ पढ्ने बताइन् ।
विद्यालयकी निमित्त प्रधानाध्यापक बिना देउजाले यसवर्ष आठ जना आमा, हजुरआमाले एसइई परीक्षामा सफलता हात परेको उहाँले बताइन् । यसवर्ष राईसँगै ५९ वर्षीया राधिकादेवी आचार्य, ४२ वर्षीया ललिता आले मगर, २९ वर्षीया सुष्मा खड्का, २८ वर्षीया निर्मला चेपाङ, २२ वर्षीया रस्मी ऐरी, ४३ वर्षीया कृष्णमाया तको र ४१ वर्षीया कुमारी तामाङले पनि एसइई परीक्षा उत्तिर्ण गरेका उनले बताइन् ।
निमित्त प्रधानाध्यापक देउजाअनुसार यसअघि पनि हरेक वर्ष आमा, हजुरआमाले एसइई उत्तिर्ण गरेका थिए । कतिपय आमा, हजुरआमाले कक्षा १२ उत्तिर्ण गरेका छन् । पढ्ने रहर र चाहनालाई उमेरले छेक्दैन भन्ने उदाहरण विद्यालयमा धेरै रहेको उनले बताइन ।
निमित्त प्रधानाध्यापक देउजाअनुसार बिचमै पढाइ छाडेर पढ्ने रहर पुरा नगरेका महिलाहरुका लागि २०६५ सालमा स्थापना भएको आस्था महिला विद्यालयबाट १७ वर्षे किशोरीदेखि ७२ वर्षकी हजुरआमासम्मले एसएलसी र एसइई परीक्षा उत्तिर्ण गरिसकेका छन् । विद्यालय स्थापनाको १२ वर्षमा १६० जना आमा, हजुरआमाले एसएलसी र एसइई परीक्षा उत्तिर्ण गरिसकेको उनले बताइन् ।































प्रतिक्रिया