समृद्धि स्कुलले ५१ जना एसईई उत्तीर्ण विद्यार्थीलाई गर्‍याे बिदाइ, पायो आईएसओ मान्यता पनि

समृद्धि स्कुलले ५१ जना एसईई उत्तीर्ण विद्यार्थीलाई गर्‍याे बिदाइ, पायो आईएसओ मान्यता पनि

केन्द्रबिन्दु
684
Shares

काठमाडौं । काठमाडौंको वनस्थलीस्थित समृद्धि स्कुलले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका विद्यार्थीहरूलाई सम्मानसहित बिदाइ गरेको छ ।

स्कुलले शनिबार काठमाडौंको नयाँबाटोस्थित नेपा ब्यांक्वेट हलमा आयोजित बिदाइ तथा अभिनन्दन कार्यक्रममा एसईईमा उत्तीर्ण ५१ जना विद्यार्थीलाई औपचारिक रूपमा बिदाइ गरेको हो । कार्यक्रममा विद्यार्थीहरूसँगै उनीहरूका अभिभावकलाई पनि मायाको चिनो प्रदान गरिएको थियो ।

स्कुलले एसईई टपर विद्यार्थी कृतन घिमिरेलाई सम्मानपत्र तथा मायाको चिनोसँगै रु. १० हजार नगद पुरस्कार प्रदान गरेको छ । साथै, गुणस्तरीय शिक्षा र आधुनिक प्रविधिको प्रभावकारी प्रयोगका कारण स्कुलले कार्यक्रमकै अवसरमा आईएसओ २१००१ः२०१८ प्रमाणपत्र समेत प्राप्त गरेको जनाएको छ । उक्त प्रमाणपत्र शैक्षिक गुणस्तर तथा व्यवस्थापनप्रतिको संस्थाको प्रतिबद्धतालाई प्रमाणित गर्ने अन्तर्राष्ट्रिय मापदण्ड हो ।

कार्यक्रममा स्कुलका प्रधानाध्यापक तथा निर्देशक आशुतोष रिमालले एसईई उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उनीहरूलाई आगामी शैक्षिक तथा व्यावसायिक यात्रामा सही निर्णय लिन सुझाव दिएका थिए । विद्यार्थीहरूलाई बिदाइ गर्न पाउँदा आफूलाई गर्व महसुस भएको उल्लेख गर्दै उनले निष्ठा, जिज्ञासा र दृढतालाई आत्मसात् गर्दै अगाडि बढ्न प्रेरित गरे । आफ्ना विद्यार्थीहरू साना बालबालिकाबाट आत्मविश्वासले भरिएका युवामा रूपान्तरण भएको देख्दा गर्व लागेको पनि उनले बताए ।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति समेत दिएका थिए । प्रतिभाशाली विद्यार्थीहरूले नृत्य तथा गायनमार्फत आफ्नो कला प्रस्तुत गरेका थिए ।

एसईईमा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थी कृतन घिमिरेले कार्यक्रममा बोल्दै समृद्धि स्कुलमा बिताएको आफ्नो शैक्षिक यात्राको अनुभव सुनाएका थिए । उनले विद्यालय र शिक्षकहरूले शिक्षा मात्र नभई जीवनका हरेक चरणमा साथ, सहयोग र प्रेरणा दिएको बताए । कक्षाकोठाका रमाइला क्षण र साथीहरूसँग बिताएका सामान्य लाग्ने पलहरू नै अहिले जीवनका सबैभन्दा विशेष स्मृतिका रूपमा रहेको उल्लेख गर्दै उनले भविष्यमा जहाँ पुगे पनि विद्यालयको अनुभव सधैं महत्वपूर्ण रहने विश्वास व्यक्त गरे । शिक्षकहरूले विद्यार्थीहरूलाई केवल शैक्षिक ज्ञान मात्र नभई आत्मविश्वासी, अनुशासित र जिम्मेवार बन्न समेत प्रेरित गरेकोमा उनले कृतज्ञता व्यक्त गरे ।

स्कुलका अध्यक्ष मनोहर कुमार भट्टराईले विद्यार्थीहरूलाई भविष्यप्रति सचेत र जिम्मेवार हुँदै अगाडि बढ्न हौसला दिएका थिए । कार्यक्रममा ५१ जना एसईई उत्तीर्ण विद्यार्थी र उनीहरूका अभिभावकलाई सम्मान गरिएको जानकारी दिँदै उनले शिक्षाको गुणस्तरमा कुनै सम्झौता नगर्ने रणनीतिका कारण समृद्धि स्कुल आईएसओ २१००१ः२०१८ प्रमाणपत्र प्राप्त गर्न सफल भएको बताए । स्कुलको स्थापना नै गुणस्तरीय शिक्षामा कहिल्यै सम्झौता नगर्ने उद्देश्यसहित गरिएको उनको भनाइ थियो ।

विद्यार्थीहरूले आफ्नो मेहनतअनुसार सकारात्मक नतिजा हासिल गर्न सफल भएको उल्लेख गर्दै भट्टराईले यसले आफूलाई गर्व महसुस गराएको बताए । साथै, उक्त कार्यक्रम विद्यार्थीहरूका लागि बिदाइसँगै प्रेरणा र प्रोत्साहनको अवसर बनेको उनको भनाइ थियो ।

कार्यक्रममा अभिभावकहरूको उत्साहजनक उपस्थिति रहेको थियो । विद्यार्थीहरूलाई सफलताको यस चरणसम्म पु-याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने शिक्षकहरूलाई पनि कार्यक्रममा सम्मान गरिएको स्कुलले जनाएको छ ।

Logo