काठमाडौं । मनास्लु वर्ल्ड स्कुल/कलेजले कक्षा ११ का नवप्रवेशी विद्यार्थीहरूलाई स्वागत गर्दै एक विशेष अभिमुखीकरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई कलेजको वातावरण, शैक्षिक पद्धति, अनुशासन र यहाँको संस्कारबारे जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमको अवसरमा ‘मनास्लु एकेडेमिक अचिभमेन्ट अवार्ड’ अन्तर्गत कक्षा ११ को परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष १० विद्यार्थीलाई सम्मान पनि गरिएको छ । विभिन्न संकायका ९९७ विद्यार्थीमध्ये सर्वाधिक अंक प्राप्त गरी कलेज टपर बन्न सफल देवेन्द्र दाहाललाई कक्षा १२ अध्ययनका लागि शतप्रतिशत छात्रवृत्ति, १० हजार रुपैयाँ नगद पुरस्कार, सम्मानपत्र तथा छात्रवृत्ति कार्ड प्रदान गरिएको छ ।
कार्यक्रममा बोल्दै कलेजका एकेडेमिक डाइरेक्टर शशी केसीले प्रत्येक वर्ष कक्षा ११ को वार्षिक परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई विभिन्न आधारमा सम्मान गरिँदै आएको बताए । उनले यस्ता पुरस्कार तथा छात्रवृत्तिले विद्यार्थीलाई थप मेहनत गर्न र आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

केसीले यस वर्ष कलेज टपर बनेका देवेन्द्र दाहालले शतप्रतिशत छात्रवृत्तिसँगै नगद पुरस्कार प्राप्त गरेको जानकारी पनि दिए ।
सोही कार्यक्रममा कलेजका भाइस प्रिन्सिपल गोपाल श्रेष्ठले मनास्लुले विद्यार्थीलाई केवल शैक्षिक उपलब्धिमा सीमित नराखी नेतृत्व क्षमता, प्रतिभा विकास र अनुशासनमा समेत केन्द्रित भएर अघि बढाएको बताए । उनले विद्यार्थीको समग्र विकासका लागि आवश्यक अवसर र प्लेटफर्म उपलब्ध गराइने उल्लेख गर्दै त्यसको सदुपयोग गर्ने जिम्मेवारी विद्यार्थी स्वयंको हुने बताए ।
श्रेष्ठका अनुसार कलेजले शैक्षिक क्षेत्र, अतिरिक्त तथा सह–पाठ्यक्रम गतिविधि (ईसीए/सीसीए) र अनुशासनलाई संस्थाको मुख्य आधारस्तम्भका रूपमा अघि बढाएको छ । विद्यार्थीको प्रतिभा विकासका लागि साहित्य, खेलकुद, संगीत, गणित, आतिथ्य तथा सामाजिक सेवासम्बन्धी विभिन्न क्लब सञ्चालनमा रहेका छन् भने फुटबल, बास्केटबल, भलिबल, ब्याडमिन्टन र कबड्डीलगायत खेलकुद गतिविधिमा पनि सहभागिताको अवसर प्रदान गरिनेछ ।

कलेजले शैक्षिक सत्रभर तीनवटा युनिट टेस्ट, दुईवटा टर्मिनल परीक्षा, एक प्रि–बोर्ड र अन्तिम परीक्षा सञ्चालन गर्ने जनाएको छ । सैद्धान्तिक र आन्तरिक मूल्याङ्कन दुवैमा न्यूनतम उत्तीर्ण हुनुपर्ने व्यवस्था रहेको जानकारी दिँदै श्रेष्ठले नियमित कक्षा, परीक्षा, असाइनमेन्ट तथा उपस्थितिलाई विशेष महत्व दिन विद्यार्थीलाई आग्रह गरे । उनले कलेजलाई दोस्रो घरका रूपमा व्यवहार गर्न, संस्थाको सम्पत्तिको संरक्षण गर्न, समयमै कलेज उपस्थित हुन तथा निर्धारित पोसाक र परिचयपत्रको प्रयोग गर्न पनि विद्यार्थीलाई अनुरोध गरे ।

अनुशासनविपरीत गतिविधिमा संलग्न भए कारबाही गरिने स्पष्ट पार्दै कलेज प्रशासनले जिम्मेवार र सकारात्मक व्यवहार प्रदर्शन गर्न विद्यार्थीलाई आग्रह गरेको छ ।





























प्रतिक्रिया