काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)का अध्यक्ष युवराज शर्माले स्पष्ट ऐन, नियम र कानुनको अभावमा राज्यले निजी क्षेत्रलाई लखेट्ने काम गरिरहेको आरोप लगाएका छन् ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा मंगलबार ललितपुरमा भएको ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ अन्तर्गत ‘शिक्षामा निजी क्षेत्रको लगानी’ विषयक प्यानल डिस्कसनमा बोल्दै अध्यक्ष शर्माले यस्तो गुनासो गरेका हुन् ।
शर्माले देशको शिक्षा क्षेत्रमा निजी क्षेत्रले पुर्याएको योगदान र वर्तमान अवस्थाको बिचित्र चित्र प्रस्तुत गरे । उनका अनुसार हाल देशभर करिब ८ हजार निजी शैक्षिक संस्थाहरू सञ्चालनमा छन्, जहाँ निजी क्षेत्रको ५ खर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ भने ३ लाखभन्दा बढी नागरिकले रोजगारी पाएका छन् । २०५० को दशकमा राज्यकै नीतिअनुसार निजी विद्यालयहरूलाई कम्पनी ऐनअन्तर्गत लगिएको स्मरण गर्दै उनले अहिले आएर राज्यले उचित संरक्षण दिन नसकेको बताए ।
शर्माले भने, ‘हिजो राज्य आफैँले निजी क्षेत्र चाहिन्छ भनेर नै निजी विद्यालयहरू खुलेका हुन् । तर, आज स्पष्ट ऐन, नियम र कानुन नहुँदा निजी क्षेत्र अहिले लखेटिइरहेको छ । शिक्षामा ५ खर्बको लगानी र ३ लाखको रोजगारी सिर्जना गरेको निजी क्षेत्र अहिले ठुलो डिलेमा र अन्यौलताको अवस्थामा गुज्रिरहेको छ ।’
शर्माले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारी र निजी क्षेत्र दुवै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । एकले अर्कालाई मात्र दोषारोपण गरेर देशको शिक्षा प्रणालीमा सुधार आउन नसक्ने उनको तर्क थियो । ‘हामीले केवल अरूलाई आरोप लगाउने मात्रै काम गर्ने हो भने हामी कहीँ पनि पुग्दैनौँ । निजी क्षेत्र सधैँ संवाद र सहकार्यका लागि तयार छ, तर राज्यले यस क्षेत्रको लगानी र योगदानलाई बुझेर सोहीअनुसारको नीतिगत सुरक्षा दिन जरुरी छ,’ उनले भने ।





























प्रतिक्रिया