काठमाडौं । विश्वविद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या बर्सेनि बढ्दै गएको छ। पछिल्लो सरकारी तथ्यांकअनुसार उच्च शिक्षाका लागि ७ लाख ४९ हजार ३ सय ९२ विद्यार्थी भर्ना भएका छन्। उच्च शिक्षा प्रदान गर्ने विश्वविद्यालय र प्रतिष्ठानको संख्या पनि बढेर ३० पुगेको छ। मुलुकभर आंगिक र सम्बन्धन प्राप्त गरी १ हजार ६ सय ८ क्याम्पस छन्।
आर्थिक सर्वेक्षणअनुसार विश्वविद्यालय र प्रतिष्ठानमा अध्ययन गर्ने विद्यार्थीको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा करिब १० प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष २०८०/८१ मा ६ लाख ७२ हजार ४ सय ८९ विद्यार्थी भर्ना भएका थिए, जुन गत शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थी संख्याभन्दा ७६ हजार ९ सय ३ ले कम हो। शिक्षा मन्त्रालयको तथ्यांकअनुसार सबै विश्वविद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या बढेको देखिन्छ।
सन् २०१५ को विश्वविद्यालय अनुदान आयोगको वार्षिक प्रतिवेदनअनुसार १२ विश्वविद्यालय तथा प्रतिष्ठानमा ४ लाख ७ हजार विद्यार्थी अध्ययनरत थिए। त्यति बेला पनि उच्च शिक्षा अध्ययन गर्नेमध्ये ८० प्रतिशत विद्यार्थी त्रिविमा भर्ना हुन्थे। १० वर्षमा ५ प्रतिशत विद्यार्थी मात्रै अन्य विश्वविद्यालयमा भर्ना भएको देखिन्छ। भर्ना हुनेमध्ये ८९ प्रतिशत स्नातक तह, १० प्रतिशत स्नातकोत्तर र बाँकी १ प्रतिशत एमफिल तथा पीएचडी (विधावारिधि) तहमा भर्ना हुने गरेको आयोगको तथ्यांक छ।
विश्वविद्यालय अनुदान आयोगका पूर्वअध्यक्ष देवराज अधिकारीले तीन कारणले उच्च शिक्षामा विद्यार्थी संख्या बढेको बताए। विभिन्न मुलुकमा जारी युद्धका कारण रोकिएका विद्यार्थी यहीं भर्ना हुँदा संख्या बढेको उनले जनाए। कोभिड महामारीदेखि कोर्स पूरा नगरेर तह खप्टिएका कारण पनि संख्या बढेको उनको भनाइ छ। ‘तेस्रो कारण विश्वविद्यालयहरूले शैक्षिक क्यालेन्डर लागू गरेर शैक्षिक कार्यक्रम व्यवस्थित गर्न थालेपछि केही विद्यार्थी थपिएका छन्,’ उनले भने।
गत वर्ष कक्षा १२ को विद्यार्थी उत्तीर्ण दरमा पनि अघिल्ला वर्षहरूको तुलनामा सुधार देखिएको थियो। त्यस कारण पनि उच्च शिक्षामा भर्ना हुने विद्यार्थीको संख्या बढेको हो। त्रिविका प्राध्यापक तथा व्यवस्थापन संकायका पूर्वडिन डिल्लीराम शर्माले कक्षा १२ मा उत्तीर्ण प्रतिशत बढेका कारण उच्च शिक्षामा स्वतः विद्यार्थीको चाप थपिएको बताउँछन्।
गत वर्ष कक्षा १२ को परीक्षामा ६१.७१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। अघिल्लो वर्षको तुलनामा नतिजामा ९ प्रतिशतले सुधार देखिएको थियो। राष्ट्रिय परीक्षा बोर्डका अनुसार ३ लाख ९६ हजार ३ सय ४७ परीक्षार्थीमध्ये २ लाख ४२ हजार ४ सय ६५ जना उत्तीर्ण भएका थिए। ग्रेडवृद्धि परीक्षामा पनि ६० प्रतिशत हाराहारी विद्यार्थी उत्तीर्ण भए। यो वर्ष झनै कक्षा १२ को उत्तीर्ण दरमा सुधार भएको छ। एक साताअघि सार्वजनिक नतिजाअनुसार ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
प्राध्यापक शर्माले उच्च शिक्षाका लागि नेपाली विद्यार्थीको आकर्षण रहेका केही मुलुकले विद्यार्थी भिसामा कडाइ गर्दा पनि स्वदेशमै भर्ना हुने विद्यार्थीको संख्या बढेको जनाए। ‘पहिलेको तुलनामा अस्ट्रेलिया, क्यानडालगायत मुलुकले विद्यार्थी भिसामा कडाइ गरेपछि नेपालका विश्वविद्यालयमा नै भर्ना भएर पढ्ने बढेका हुन्,’ उनले भने।
प्रदेशस्तरमा समेत विश्वविद्यालय स्थापना हुन थाले पनि विद्यार्थीको भार त्रिभुवन विश्वविद्यालयमा कायमै देखिन्छ। विद्यार्थी भर्ना तथ्यांकअनुसार ५ लाख ६१ हजार २ सय ३५ विद्यार्थी (७५ प्रतिशत) त्रिविमा भर्ना भएका छन्।
विगतदेखि नै विद्यार्थीको आकर्षण रहेको व्यवस्थापन संकायमा भर्ना दर झन्–झन् बढ्दै गएको छ। २०१५ को तथ्यांकअनुसार उच्च शिक्षामा भर्ना हुनेमध्ये ३९ प्रतिशत व्यवस्थापन संकायतर्फका विषयमा भर्ना हुन्थे। सन् २०२५ को तथ्यांकअनुसार व्यवस्थापन संकायमा पढ्ने विद्यार्थी ४७.१ प्रतिशत छन्। विद्यार्थी संख्याको हिसाबले पहिलो, दोस्रो र तेस्रो संकाय क्रमशः व्यवस्थापन, शिक्षा र मानविकी देखिन्छन्। मानविकी संकायमा भर्ना हुनेभन्दा दोब्बर शिक्षा र शिक्षामा भर्ना हुनेभन्दा दोब्बर विद्यार्थी व्यवस्थापनमा भर्ना भएको देखिन्छ।





























प्रतिक्रिया