आईएसटी कलेजका बीएचएम २०२३ ब्याचका स्नातकहरू दीक्षित

आईएसटी कलेजका बीएचएम २०२३ ब्याचका स्नातकहरू दीक्षित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । काठमाडौंको ज्ञानेश्वरस्थित प्रतिष्ठित शैक्षिक संस्था इन्टरनेसनल स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (आईएसटी कलेज)को दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा. मणिकरत्न शाक्यको प्रमुख आतिथ्यमा सोमबार आयोजित एक विशेष समारोहका बीच कलेजको ब्याच २०२३ का व्याचलर इन होटल म्यानेजमेन्ट (बीएचएम)का स्नातक विद्यार्थीहरू दीक्षित भएका हुन्।

समारोहमा त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका सहायक डीन डा. वामदेव अधिकारी र पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका पूर्व डीन प्रा.डा. दयाराज ढकालको विशेष उपस्थिति रहेको थियो। त्यस्तै, साल्जबर्ग युनिभर्सिटी अफ एप्लाइड साइन्सेज, अस्ट्रियाका प्रतिनिधि म्याग क्लेमेन्स कोलिन्सको समेत सहभागिता थियो।

दीक्षित विद्यार्थीहरूलाई शुभकामना दिँदै प्रमुख अतिथि एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा. मणिकरत्न शाक्यले यो शैक्षिक उपाधि केवल एउटा प्रमाणपत्र मात्र नभएर जीवनको नयाँ अध्यायको सुरुवात भएको उल्लेख गरे । विद्यार्थीहरूलाई जीवनको मार्गचित्र तयार गर्दा आफ्ना मूल्य, मान्यता र सपनाहरूलाई भुल्न नहुने उनको सुझाव थियो।

सफलताका लागि कडा परिश्रम र धैर्यता अनिवार्य रहेको औंल्याउँदै डा. शाक्यले भने, “सफलताको कुनै शर्टकट हुँदैन। आफ्ना लक्ष्यहरू पूरा गर्न समय, ऊर्जा र ध्यान केन्द्रित गर्न तयार हुनुहोस्। कहिलेकाहीँ दीर्घकालीन सफलताका लागि तत्कालका सानातिना खुसीहरूलाई त्याग्न सक्ने साहस पनि राख्नुपर्छ।”

समारोहमा कलेजका सीईओ नरेन्द्र बज्राचार्यले वास्तविक धरातल नबुझी हतारमा वैदेशिक अध्ययनमा जाँदा नेपाली विद्यार्थीहरूले आर्थिक र सामाजिक समस्या भोग्नुपरेको प्रति चिन्ता व्यक्त गरे । “यसले एकातिर अर्बौँको विदेशी मुद्रा बाहिरिएको छ भने अर्कोतिर स्वदेशी कलेजहरूमा विद्यार्थी भर्नाको सङ्ख्या घट्दो छ,” उनले भने ।

नेपालको पर्यटन र हस्पिटालिटी उद्योग तीव्र गतिमा अघि बढेको चर्चा गर्दै सीईओ बज्राचार्यले नेपाल सामान्य होटलहरूबाट स्तरोन्नति भई ‘लक्जरी एण्ड प्रिमियम’ गन्तव्यका रूपमा विकास भइरहेको बताए । दक्षिण एसियामै पहिलो पटक ‘लक्जरी कलेक्सन ब्रान्ड’ को आगमन र म्यारियट इन्टरनेसनलका अध्यक्ष डेभिड म्यारियटको नेपाल भ्रमण हस्पिटालिटी क्षेत्रका लागि कोसेढुङ्गा सावित भएको उनको भनाइ थियो। उनले स्वदेशी होटल व्यवसायीहरूलाई आफ्नै देशका अन्तर्राष्ट्रिय एक्सपोजर प्राप्त, बहुभाषिक र दक्ष स्नातकहरूलाई विश्वास गर्न र उनीहरूलाई देशमै रोक्ने वातावरण बनाउन आग्रह गरे ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै आईएसटी कलेजकी प्रिन्सिपल सम्झना बस्न्यातले दीक्षित विद्यार्थीहरूको अथक मिहिनेत, अभिभावकहरूको विश्वास र प्राध्यापकहरूको मार्गनिर्देशनकै कारण आज कलेज यो स्थानमा आइपुगेको बताइन् । उनले सामाजिक सञ्जालको मापदण्ड र अरूको देखासिकीमा लागेर आफ्नो खुसी र सफलतालाई नजरअन्दाज नगर्न विद्यार्थीहरूलाई आग्रह गरिन् ।

प्रिन्सिपल बस्न्यातले आईएसटी कलेजका विद्यार्थीहरूले नेपालमा मात्र नभई विश्वका विभिन्न प्रतिष्ठित होटल तथा ट्रेडिङ कम्पनीहरूमा इन्टर्नसिप र रोजगारीको अवसर पाइरहेको जानकारी दिइन् । “जीवनमा सफलता र असफलता दुवै आउँछन्, तर महत्त्वपूर्ण कुरा असफलताबाट पाठ सिकेर अघि बढ्नु हो,” उनले थपिन्।

समारोहमा दीक्षित विद्यार्थीहरूका तर्फबाट मन्तव्य राख्दै लाक्पा डोल्मा लामाले कलेज जीवनका उत्तरचढाव, चुनौती र अविस्मरणीय क्षणहरू स्मरण गरिन् । “हिजो कलेजका कक्षाकोठा खोज्दै गरेका हामी आज जीवनको मार्गचित्र तय गर्ने मोडमा आइपुगेका छौँ,” आफ्नो सफलताको श्रेय शिक्षक र अभिभावकलाई दिँदै लामाले थपिन्, ” हाम्रा गुरुहरूले हामीलाई पाठ्यपुस्तकभन्दा बाहिरको व्यावहारिक ज्ञान र अनुशासन सिकाउनुभयो। कलेज जीवनमा अनेकौँ डेडलाइन, ग्रुप प्रोजेक्ट र परीक्षाका दबाबहरू थिए। कहिलेकाहीँ आफूमाथि नै शङ्का लाग्ने र थकित हुने दिनहरू पनि आए, तर ती सबैलाई जितेर आज हामी यहाँसम्म आइपुग्न सफल भएका छौँ।”

आईएसटी कलेजले आफ्ना विद्यार्थीहरूलाई नेपालसहित अन्तराष्ट्रिय रुपमा जर्मनीको वाल्डोर्फ पार्क होटल, जापानका विभिन्न प्रसिद्ध होटलहरू (जस्तै: नोबोरीबेत्सु मान्सेकाकु, शिरेतोको ताइची होटल), चीनका साङ्ग्यास्थित इन्टरकेन्टिनेन्टल, र्याफल्स र सेन्ट रेजिस रिसोर्ट्स तथा क्योटो, जापानको दुसित थानी जस्ता विश्वविख्यात ब्रान्डहरूमा इन्टर्नसिपको प्लेटफर्म उपलब्ध गराउँदै आएको छ।

Logo