काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीको अवसरमा शान्तिनगरस्थित न्यू समिट कलेजमा भव्य कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ। कलेजका विद्यार्थीहरूको क्लब “एनएससी टिन्स फर लिडरसीप” को आयोजनामा उक्त साहित्यिक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।
कलेजका शैक्षिक निर्देशक तीर्थराज घिमिरेको सभापतित्वमा सञ्चालन भएको उक्त कार्यक्रममा कलेजका अध्यक्ष अजयप्रसाद ढकालको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रमको सुरुवातमै क्लबकी सभापति अञ्जली नायकले उपस्थित सम्पूर्ण अतिथि तथा प्रतियोगीहरूलाई स्वागत मन्तव्यमार्फत स्वागत गरेकी थिइन्।

कलेजका प्राचार्य चोकराज दवाडीले कार्यक्रमको पूर्ण सफलताको कामना गर्दै विद्यार्थीहरूमा लुकेको साहित्यिक प्रतिभा उजागर गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको उक्त प्रतियोगितामा साहित्य अनुरागी व्यक्तित्वहरू रूपेन्द्र पोखरेल, प्रेम थापा र एकराज दाहालले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

कडा प्रतिस्पर्धाका बीच उत्कृष्ट प्रस्तुति दिँदै आयुष्मा बानियाँले प्रतियोगितामा प्रथम स्थान हासिल गरिन्। त्यसैगरी, ईशा आचार्य द्वितीय र थम्बर बहादुर मुदेल तृतीय हुन सफल भए भने सिमरन पौडेल र नेहा यादवले सान्त्वना पुरस्कार प्राप्त गरे। भानुभक्तको योगदानको स्मरण गर्दै आयोजना गरिएको यस कार्यक्रमले कलेजमा साहित्यिक वातावरण थप ऊर्जावान् बनाएको सहभागीहरूकाे भनाइ थियाे ।






























