सत्तरी वर्षीय दुर्गे कामीको उच्च शिक्षा पढ्ने इच्छा

सत्तरी वर्षीय दुर्गे कामीको उच्च शिक्षा पढ्ने इच्छा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १५ साउन । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग सत्तरी वर्षीय विद्यार्थी दुर्गे कामीले भेटी उच्च शिक्षा अध्ययनका लागि वातावरण मिलाई दिन अनुरोध गर्नुभएको छ । 

परराष्ट्र मन्त्रालायमा आज मन्त्री महरालाई भेटी कामीले एसइई परीक्षा पास गरेकाले थप अध्ययनका लागि सहयोग गरिदिन आग्रह गर्नुभएको हो । 

स्याङ्जाको कालाभैरव माविबाट एसइई परीक्षा उत्तिर्ण गर्नुभएका कामीले मन्त्री महरासँग भन्नुभयो, “मलाई ११/१२ कक्षा पढ्ने इच्छा छ, यसका लागि सहयोग गरिदिनुप¥यो” उहाँले आफू सानो छँदा विद्यालय जान नपाएको सुनाउनुभयो । 

जवाफमा मन्त्री महराले उहाँको शिक्षाप्रतिको आकांक्षालाई सम्बोधन गर्न अध्ययनका लागि आवश्यक वातावरण मिलाउन पहल गर्ने बताउनुभयो । एसइई परीक्षा उत्तीर्ण गर्नुभएकामा कामीलाई मन्त्री महराले बधाईसमेत दिनुभयो । 

कामी ६ जनाका पिता तथा आठ जनाका हजुरबुबा हुनुहुन्छ । उहाँको आकांक्षा शिक्षक बन्ने छ । सोही अवसरमा कामीले आफ्नो छोरा नरेन्द्र साउदीको जेलमा रहेको जानकारी गराउँदै नेपाल फिर्ता ल्याउन पहल गरिदिन पनि अनुरोध गर्नुभयो । उहाँले वैदेशिक रोजगारीको सिलसिलामा साउदी गएका छोरा विगत तीन वर्षदेखि जेलमा रहेको बताउनुभयो । 

“के कारणले छोरा जेलमा परेको हो, थाहा छैन,” कामीले भन्नुभयो । मन्त्री महराले नरेन्द्रको अवस्थाबारे जानकारी लिने र नेपाल ल्याउन पहल गर्ने जवाफ दिनुभयो । रासस 

Logo