तत्काल विद्यालय बन्द नहुने, स्वास्थ्य मापदण्डमा भने कडाइ

तत्काल विद्यालय बन्द नहुने, स्वास्थ्य मापदण्डमा भने कडाइ


कोरोना संक्रमणको अवस्था हेरेर विद्यालय सञ्चालन गर्ने वा बन्द गर्ने अधिकार स्थानीय तह तथा जिल्ला स्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)लाई भएको शिक्षा मन्त्रालयले बताएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ठाउँ विशेषको कोरोना संक्रमणको अवस्था हेरेर विद्यालय सञ्चालन गर्ने अथवा बन्द गर्ने भन्ने निर्णय स्थानीय तहले र डिसिसिएमसीले गर्न सक्ने बताएको छ। शुक्रबार मन्त्रालयका सचिव रामप्रसाद थपलियाले कुराकानी गर्दै बिहीबार स्वास्थ्य मन्त्रालयले जारी गरेको अपिलप्रति गम्भिर ध्यानाकर्षण भएको बताए। 

स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालना गरेर स्थानीय परिवेश अनुसार भौतिक रुपमा अथवा वैकल्पिक रुपमा शिक्षण जारी राख्ने निर्णय मन्त्रालयले गरिसकेको पनि उनले बताए। मन्त्रालयले शिक्षण संस्थाभित्र सभा समारोह, वार्षिकोत्सव जस्ता भिडभाड हुने कार्यक्रम नगर्न पनि अनुरोध गरेको छ। 

विद्यालय सञ्चालन गर्दा ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७’ अनुरुपको सिकाईका विभिन्न विधि अवलम्वन गर्न मन्त्रालयको आग्रह छ। प्रतिकूल परिस्थितिमा पनि सिकाइलाई निरन्तरता दिन समेत मन्त्रालयले आग्रह गरेको छ। सचिव थपलियाले भने, ‘विद्यालय सञ्चालन गर्नुपर्दा मन्त्रालयबाट जारी भएको ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७’ छ त्यसमा विभिन्न शिक्षण सिकाइका विधि, प्रक्रियाहरुको बारेमा उल्लेख छ । त्यसको अवलम्वन गरेर, प्रतिकूल परिस्थितिमा पनि सिकाईलाई निरन्तरता दिन अभिभावक, शिक्षक, सम्बन्धित विद्यालय सबैलाई आग्रह गरेका छौँ।’

सम्बन्धित पालिका तथा विद्यालयहरुले वैकल्पिक सिकाइको ढाँचाहरुको पालना गर्दै सिकाइलाई निरन्तरता दिनेमा शिक्षा मन्त्रालय विश्वस्त रहेको पनि सचिव थपलियाले बताए।

Logo