२०७२ सालको महाविनाशकारी भूकम्पको केन्द्र गोरखा थिलथिलो भयो। स्कूल र सार्वजनिक भवन मात्रै होइन, मान्छेका घरहरू समेत खण्डहर बने ।
भूकम्पबाट धार्चे र बारपाक क्षेत्र सबैभन्दा बढी प्रभावित भए । लामो समय स्कूल नै खुलेनन् । बिस्तारै चाैरमा बालबालिका राखेर पढाई हुन थाल्यो । चउरमै बसिरहेका विद्यार्थीको पीडा देख्न नसकेर टीम रुविकन (बेलायती सेनाबाट अवकास प्राप्तहरूको संस्था) ले धार्चे गाउँपालिकास्थित लापूबेँशीको प्रभात किरण माविको भवन बनाइदिने निधो गर्यो । भूकम्प गएको केही समयमै स्कुल बन्ने भएपछि गाउँलेहरू खुशी भए। विदेशीहरू आएर धमाधम काम गर्न थाले । केही समयपछि नौ जनाको टोली पनि थपियो, विदेशी नै ।
गाउँलेहरूले ठाने उनीहरू पनि स्वयंसेवक होलान्। सँगसँगै माटो बोके, गारो लगाए । केही दिनपछि हल्ला चल्न थाल्यो, बेलायती तत्कालिन राजकुमार गोरखाको विकट गाउँमा स्कूल बनाउन गए । समाचार सुनेपछि गाउँलेहरू मुखामुख गर्न थाले। अलि दिन बितेपछि थाहा भयो, आफैंसँग ढुंगामाटो बोकिरहेका व्यक्ति बेलायती राजकुमार रहेछन् । ‘निकै साधारण मान्छे । सबैसँग मिल्ने, दुःखमा पनि रमाउने,’ स्थानीय हसिमान गुरुङ भन्छन्, ‘चिनजान नहुँदा त को गोरा आएर काम गरिरहेको छ भनेर वास्तै गरिएन । थाहा भएपछि आफैंलाई कस्तो कस्तो लाग्यो ।’
सुरुमा आउँदा ह्यारीबारे कसैलाई थाहा थिएन । पहिले पनि कहिलेकाहीँ पर्यटकहरू आएर काम गरिरहन्थे । कसैलाई चासै भएन । ‘हामीलाई पनि जानकारी थिएन । मिडियामा समाचार आएपछि त हामी छक्क पर्यौं,’ सोही विद्यालयमा पढाउने शिक्षक श्यामबहादुर नेपालीले भने, ‘मान्छेले नचिन्दासम्म फोटो खिच्ने र सँगै खाने गर्थे। पछि फोटो खिच्न पनि दिएनन् । फोटो खिचे कानुनी कारबाही गर्छु भने ।’ ह्यारीले एक साताभन्दा बढी लापूबेँशीमा बिताए । सुटुक्क त्यहाँ पुगेर आफैं श्रमदान गरेका उनले स्कुल बनाउन लाग्ने सबै खर्च आफू र टीम रुविकन नामक संस्थामार्फत जुटाइदिए।
३५ लाख लागतमा त्यहाँ १२ कोठे अस्थायी भवन बन्यो। तत्कालको आवश्यक्ता पूरा गर्न बनेको भवन अहिले जीर्ण भइसकेको छ। भवन बनाएर फर्किएका ह्यारीले अहिलेसम्म स्कूल सम्झिएनन्। ‘यहाँबाट गएपछि कोही आएका छैनन् । टीम रुविकनकै दुई जना आए, उद्घाटनको बेलामा । ह्यारीले चाहीँ कन्ट्याक्ट गरेका छैनन्,’ नेपालीले भने, ‘स्कूल जीर्ण भयो । नयाँ बनाउन सकिएको छैन । सहयोग माग्न जाँदा कसैले वास्ता गर्दैनन्।’
बेलायती तत्कालिन राजकुमारले बनाइदिएको भनेर कसैले पनि स्कूल स्तरोन्नतीमा हात हाल्न मानेका छैनन्। स्कूलका शिक्षक शिवराज खनाल ह्यारीकै कारण सहयोगी नपाएको हुनसक्ने अनुमान गर्छन्। ‘कसैसँग सहयोग माग्दा ह्यारीले बनाईदिएको स्कूलमा सहयोग गर्नुपर्छ र ? भन्छन् । हामीले त्यहाँ किन हात हाल्ने भनेर ठाडो शब्द बोल्छन्,’ उनले भने, ‘भूकम्प जाँदा सुरुमा त राम्रो भयो । अहिले अन्त राम्रो भवन बन्यो । हाम्रो स्कूल जीर्ण छ।’ भवन मात्रै होइन, त्यहाँको शिक्षाको अवस्थासमेत नाजुक छ। शिक्षकको तलब जुटाउन अप्ठ्यारो भएको छ भने विद्यार्थीलाई आकर्षण गर्नेगरि पढाई हुन सकेको छैन ।
‘छिमेकका सबै स्कूल भवन भव्य बनेका छन्। सिंहदरबार जस्ता भवन छन्,’ उनी भन्छन्, ‘यो स्कूलमा ठूलो पानी पर्यो भने भित्रै चुहिन थाल्छ। घाम चर्कियो भने पसिनाले पढाउन सकिँदैन।’ लापुगाउँमा शिक्षा कार्यालयबाट दुई कोठे र एनजिओले भव्य स्कूल बनाइदियो । गंगाजमुना आधारभूत स्कूल भिरकुनामा शिक्षा कार्यालयले नै पक्की भवन बनाईदिएको छ। छिमेकका सबै स्कूलको भव्य भवन हुँदा लापुबेँशीका विद्यार्थी र शिक्षक भने हेरेरै चित्त बुझाउन बाध्य छन्।
स्कुलमा १५ जना शिक्षक छन्। अधिकांश शिक्षकलाई गाउँलेले मासिक चन्दा उठाएर पाल्छन्। ह्यारी बेलायत गएपछि राजसंस्थाबाट अलग हुने निर्णयले त्यहाँका स्थानीय र शिक्षकहरू झनै निराश भए। गाउँलेले आफ्नो गाउँको सम्झना गराईराख्न डाँडै उपहार दिए । तर, ह्यारीले गाउँ सम्झिएनन् । उनको नाममा स्थानीय डम्फूडाँडालाई ह्यारी हिल नामाकरण गरिएको छ। ह्यारीले सहयोग थप्नु त परको कुरा उनकै कारण संघ संस्था र सरकारबाट आउने अनुदान र पाउने सहयोग पनि पाउन छोडे । स्कूलका शिक्षक पाल्न प्रत्येक घरले १५० रुपैयाँ मासिक उठाउँछन्।
‘मावि संचालन गर्ने बेलामै मासिक सहयोग गर्ने भनेर स्थानीयले बचन दिए। पहिले ५ सय उठाइन्थ्यो, अहिले डेढ सय मात्रै उठाउँछौं,’ लेखापाल विनिता गुरुङ भन्छिन्, ‘बोलेको पैसा खुरुखुरु तिर्नुहुन्छ।’ स्कूल चलाउने अरु श्रोत नभएको उनले बताइन्। अघिल्लो वर्षदेखि गाउँपालिकाले ३ वटा शिक्षकको कोटामा अनुदान दिएको छ।































प्रतिक्रिया