रुकुमपश्चिम ।
पहिलोपटक रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले प्रधानाध्यापक परीक्षामार्फत छनोट गरेको छ । छनोट भएका प्रधानाध्यापकले तोकिएको काम गर्न नसकेमा पाँच हजार जरिवानासमेत तिनु पर्ने नियम बनाइएको छ । नगरभित्र रहेका ३७ विद्यालय मध्ये ३० विद्यालयमा परीक्षामार्फत प्रअ छनोट गरी भदौ २६ गते नियुक्ति दिन लागिएको छ । विद्यालय विकास प्रस्ताव, त्यसको प्रस्तुतीकरण र समूह छलफलका आधारमा प्रअ छनोट गरिएको नगरप्रमुख विशाल शर्माले जानकारी दिए ।
सबै प्रअलाई पाँच वर्षका लागि करार सम्झौता हुने नगरप्रमुख शर्माले जानकारी दिए। सम्झौता अनुसार न्यूनतम काम नगरे बर्खासीको बाटो पनि खुलै राखिएको छ । प्रधानाध्यापकले साविकको प्रअ भत्ताको २०० प्रतिशत थप भत्ता पाउनेछन् । प्रअ छनोट हुनेमा स्थायी, अस्थायी, राहत तथा करारमा नियुक्त भएकासमेत छन् ।
प्रअले नगरपालिकासित पहिलो चरणमा एक वर्षको करार सम्झौता गर्नेछन् । एक महिना, तीन महिना र एक वर्षमा गर्नु पर्ने काम उक्त सम्झौतामा उल्लेख हुनेछ । हरेक एक महिना, तीन महिना र १२ महिनामा गर्नु पर्ने काम नगरेको खण्डमा प्रअबाट हट्नु पर्ने र रु पाँच हजार जरिवाना तिर्नु पर्नेछ । विभिन्न मापदण्डका आधारमा नगरपालिकाले प्रअको कामको मूल्याङ्कन गर्नेछ । मूल्याङ्कनमा कम्तीमा ५० अङ्क ल्याउनु पर्नेछ ।
मूल्याङ्कनका आधारमा ८० प्रतिशत बढी नतिजा ल्याउने प्रअलाई ५० प्रतिशत भत्ता थप हुनेछ । नगर शिक्षा नियमावली–२०७४ को दोस्रो संशोधन, २०७७ अनुसार प्रअ नियुक्तिको प्रक्रिया अघि बढाइएको नगरप्रमुख शर्माले बताए। नगर शिक्षा ऐन अनुसार प्रअ छनोट गरिएको भन्दै उनले सङ्घीय शिक्षा ऐन अनुसार मापदण्डका आधारमा प्रअको परीक्षा लिइएको जानकारी दिए।रासस





























प्रतिक्रिया