यसरी जान सकिन्छ अध्ययनका लागि क्यानडा (भिडियाेसहित)

यसरी जान सकिन्छ अध्ययनका लागि क्यानडा (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं ।

नेपाली विद्यार्थीहरुका लागि क्यानडा पनि सपनाको संसार भएकाे छ भन्दा फरक नपर्ला । गुणस्तर शिक्षा, छात्रवृत्ति र कामको अवसर नै क्यानडाको आकर्षण हो । विशेषगरी नर्सिङ, इन्जिनियरिङ, आइटी, विज्ञान, होटेल व्यवस्थापन, टुरिज्म लगायत विषय पढ्नका लागि नेपाली विद्यार्थीले क्यानडालाई रोज्न थालेका छन् ।

क्यानडामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सुरक्षित र बहुसांस्कृतिक वातावरणको रूपमा स्वीकार गरिन्छ । क्यानडाका विश्वविद्यालयहरू संयुक्त अधिराज्य अमेरिका र युनाइटेड किंग्डम भन्दा कम महंगी छन्, जसले विद्यार्थीहरूलाई अझ आकर्षक बनाएको छ । त्यसैले अध्ययनका लागि क्यानडामा वर्षेनी विश्वका लाखौं मानिसहरु जाने गर्छन् ।

राम्रो शैक्षिक योग्यता र सबल आर्थिक स्थिति भएका नेपाली विद्यार्थीले क्यानडालाई गन्तव्य ठान्न थालेका छन् । त्यस्तै डिपेन्डेन्ट भिसा अप्लाई गरेर परिवारसमेत लैजान पाउने प्रावधानले क्यानडा विद्यार्थीको आकर्षक गन्तव्य बनेको हो । उच्च शिक्षाका लागि क्यानडा जान के–कस्ता प्रक्रिया पूरा गर्नुपर्छ भनी परामर्श लिन आउने विद्यार्थी संख्या दिनप्रतिदिन बढ्दै गरेको शैक्षिक परामर्शदाताहरु बताउँछन् ।

अहिले प्रविधिको बढ्दो प्रयोगसँगै कम्प्युटरसँग सम्बन्धित विषयमा विद्यार्थी बढी आकर्षित भएका छन् । कम्प्युटर साइन्स, कम्प्युटर टेक्नोलोजी, कम्प्युटर सफ्टवेयर–हार्डवेयर, कम्प्युटर इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, कम्प्युटर साइन्स एन्ड इन्फर्मेसन टेक्नोलोजी (सिएसआइटी) लगायत विषयमा विद्यार्थीको रुचि बढेको छ । त्यसैले पनि क्यानडा जाने विद्यार्थीको संख्या बिस्तारै उकालो लाग्दै गएको छ ।

इक्यानद्वारा प्राप्त जानकारी अनुसार जापान र अस्ट्रेलियापछि विद्यार्थीहरुले क्यानडा नै रोज्ने गरेका छन् । विकसित मुलुक भएकाले जागिर पाउने र लाइफ सेटल हुने सम्भावना बढी हुने भएकोले विद्यार्थीहरुले क्यानडा रोज्ने गरेको पनि शैक्षिक परामर्शदाताहरु बताउँछन् ।क्यानडा मेडिकल क्षेत्रका लागि राम्रो भएकाले यसतर्फ विद्यार्थीको आकर्षण बढेको कन्सल्टेन्सीहरू बताउँछन् ।

अघिल्लो आर्थिक वर्ष (आव) २०७५,७६ मा आठ सय भन्दा धेरै जनाले ‘नो अब्जेक्सन लेटर’ बनाएको शिक्षा मन्त्रालय वैदेशिक अनुमतिपत्र शाखाको तथ्यांकले जनाएको छ ।

क्यानडा नै किन ?
अध्ययनका लागि कुन देश जाने भनेर छान्दा विद्यार्थीहरूले मुख्य दुई कुरा हेर्छन् । गुणस्तरीय शिक्षा र रोजगारीको अवसर यी कुराका लागि क्यानडा एकदमै राम्रो रहेको छ । त्यसैले आफ्नो चाहना अनुरूप उचित शैक्षिक शुल्क, छात्रवृत्तिको सुविधा र विकसित देश भएकाले विद्यार्थीहरूले क्यानडा रोज्ने गरेका हुन् । पछिल्लो समय अमेरिकाले भिसा दिने मौका एकदम कम रहेकाले पनि क्यानडा जानेको संख्या बढेको छ ।

प्रायः नेपालबाट बाहिर पढ्न जाने विद्यार्थीहरूको खास उद्देश्य लाइफ सेटलमेन्ट हुने गर्छ । विदेशमा गएर पढे भने राम्रो जागिर पाइन्छ र आफ्नो परिवारको जीवनस्तर उकास्न सकिन्छ भनेर नै धेरै विद्यार्थी विदेशमा पढ्न जान्छन् । यस्तै क्यानडा जानुको मुख्य उद्देश्य भनेको पनि ‘पिआर’ र ‘ग्रिन कार्ड’ लिएर लाइफ सेटलमेन्ट गर्ने नै हुन्छ ।

अन्तर्राष्ट्रिय विद्यार्थीका लागि क्यानडा सरकारले ग्य्राजुएसन सकिएपछि पोस्ट ग्य्राजुएसन वर्क पर्मिटको व्यवस्था गरेको छ । यस अन्तर्गत विद्यार्थीले पढाइपछि आफ्नो क्षेत्रमा तीन वर्ष काम गर्ने अवसर पाउँछन् । यसपछि तुरुन्तै पिआर अप्लाइ गरेर स्थायी बसोबास गर्ने अनुमति पाउने सम्भावना बढ्छ । बसोबासका हिसाबले क्यानडा सुरक्षित वातावरण भएको देशमा पर्छ । अन्तर्राष्ट्रिय विद्यार्थीको भविष्य सुरक्षित भएकाले पनि क्यानडा धेरैको रोजाइमा पर्न थालेको छ ।

क्यानडामा सरकारी विश्वविद्यालयको बाहुल्यता भएकाले शुल्कको हिसाबले समेत नेपाली विद्यार्थीका लागि सहज छ । क्यानडाका कुल ९३ विश्वविद्यालय मध्ये ८० वटा सरकारी र १३ वटा निजी विश्वविद्यालय रहेको तथ्यांक छ ।

यस्तै क्यानडाका विश्वविद्यालयहरुले हरेक विद्यार्थीलाई क्षमता अनुसारको १० प्रतिशतदेखि शतप्रतिशतसम्म छात्रवृत्ति सुविधा दिने गरेका छन् । साथसाथै क्यानेडियन डलर पनि अमेरिकी डलरभन्दा कम भएकाले सस्तो पर्न जान्छ । अहिले माइग्रेसन प्रोसेस राम्रो भएकाले पनि क्यानडामा धेरै माग छ । फलस्वरूप धेरैको भिसा लाग्ने बढी सम्भावना रहेको छ । छिट्टै काम गर्ने अनुमति पाउने र पढाइ सकिएपछि नै पिआर पाउने सम्भावना बढी हुने भएकाले पनि क्यानडा राम्रो भएको छ । त्यस्तै क्यानडामा बढ्दो प्रविधि अनुसार टेक्निकल, मेकानिकल र कम्प्युटरजस्ता विषय व्यवहारिक ज्ञानमा बढी फोकस गरिन्छ भने नागरिकको न्यूनतम आधारभूत आवश्यकता खाना, बसोबास, शिक्षा र स्वास्थ्यको जिम्मेवारी राज्यले गरेको हुन्छ ।

भिसाको लागि कस्तो छ प्रक्रिया ?
क्यानडामा विद्यार्थी भिसा आवेदन गर्न चाहाना भएको स्कूल वा कलेजबाट स्वीकृति पत्र प्राप्त गर्नुपर्दछ । यो प्रारम्भिक आवेदन गर्न आवश्यक छ । क्यानडाको कलेजले विद्यार्थीको आवेदन स्वीकृत गरेपछि विद्यार्थीले ‘नो अब्जेक्सन लेटर’ सहित एकमुष्ट रूपमा एक वर्षका लागि साढे १३ लाखदेखि १६ लाखसम्म शैक्षिक शुल्क र छात्रावासबापतको रकम बुझाउनु पर्छ । यस्तै खानाको लागि पनि छुट्टै रकम तिर्नुपर्छ । यस्तै क्यानडामा आफ्नो सम्पूर्ण बसोबासको लागि आफूलाई सहयोग पुर्याउनको लागि पर्याप्त पैसा छ भन्ने प्रमाण देखाउनु पर्दछ । जसमा यस्ता प्रमाणहरू समावेश हुन्छन् ः क्यानडामा रकम हस्तान्तरण गरिएको आफ्नो नाममा क्यानडा बैंक खाताको प्रमाण, विगत चार महिनाको तपाईंको बैंक विवरणहरू, परिवर्तनीय मुद्रामा एक बैंक मस्यौदा, शिक्षण र आवास शुल्कको भुक्तानीको प्रमाण समावेश हुन्छ ।

त्यस पश्चात चिकित्सा परीक्षणको लागि एक रसिद जारी गरिनेछ, जुन भिसाको लागि आवेदन गर्दा आवश्यक हुनेछ । चिकित्सा रिपोर्ट स्वचालित रूपमा भिसा कार्यालयमा फर्वार्ड गरिनेछ । भिसा आवेदन फारममा मूल वैध पासपोर्ट बायोडाटा पेजको फोटोकोपीसँग राख्नुपर्ने हुन्छ । साथै पारिवारिक जानकारी फारम, प्रवेश प्रस्ताव पत्र र स्वीकृति पत्र, क्यानडामा एसडीएस शैक्षिक संस्थानद्वारा जारी गरिएको पत्र, अंग्रेजी भाषामा प्रविणता तहको प्रमाण, शैक्षिक कागजात, ट्यूशन शुल्क भुक्तानी रसिद, विद्यार्थी प्रश्नावली, चिकित्सा रसिदहरू र प्रमाणपत्रहरू समेट्नु पर्छ । त्यस पश्चात ‘ओरिजिनल कन्फर्ममेसन लेटर’ पठाएपछि मात्र दूतावासले भिसा प्रक्रिया अघि बढाउँछ । त्यसपछि विद्यार्थीका सम्पूर्ण प्रमाणपत्रहरु चेकजाँच गरेर विश्वासनीय भए मात्र भिसा दिन्छ ।

Skip This
Skip This
Logo