नेपाली मूलकी जेट्सेनले जितिन् ‘सारेगामापा लिल च्याम्प्स’को उपाधि

नेपाली मूलकी जेट्सेनले जितिन् ‘सारेगामापा लिल च्याम्प्स’को उपाधि


सिक्किमकी जेट्सेन डाेना लामा भारतको चर्चित गायन रियालिटी शो 'सारेगामापा लिल च्याम्प्स सिजन ९' की विजेता बनेकी छिन् । ९ वर्षीया जेट्सेनले ट्रफीका साथै १० लाख रुपैयाँ पुरस्कार राशी समेत हात पार्न सफल भएकी हुन् । 

आइतबार भएको फाइनलमा जालन्धरका हर्ष सिकन्दर फस्ट रनरअप र थानेकी ज्ञानेश्वरी गडागे सेकेन्ड रनरअप घोषित भएका छन्  ।

नेपाली मूलकी जेट्सेनले ३ वर्षको उमेरदेखि गाउन सुरु गरेकी थिइन्। जेतसेनको गायकीलाई निर्णायक जजहरु र अन्य सेलिब्रेटी पाहुनाहरूले खुलेर प्रशंसा गर्ने गर्थे । उनको गायकीले गायक शंकर महादेवन, नीति मोहन र अनु मलिक मात्र होइन सिक्किमका मुख्यमन्त्री र भारतीय बक्सर मेरी कोमसमेत प्रभावित भइसकेका छन्। उनीहरूले सामाजिक सञ्जालमा जेट्सेनको बहुमुखी प्रतिभाको बारेमा ट्वीट समेत गरेका थिए ।

दार्जिलिङ, सिक्किम र कालिम्पोङमा रहेका म्याराथन खेलाडीहरूको एउटा समूहले मुम्बईसम्म यात्रा गरी म्याराथनमा जेट्सेनको जितको र्‍याली गर्ने बताइएको छ । गायक शंकर महादेवनले उनलाई संगीत उद्योगकी 'मिनी सुनिधि चौहान' भन्ने गरेका छन् ।

आइतबार मुम्बईमा भएको ब्लक ब्लास्टर ग्राण्ड फिनालेमा बलिवुडक लोकप्रिय नायक ज्याकी श्रफ, चलचित्रका निर्देशक अनुराग कश्यप विशेष रुपमा उपस्थित थिए । जेट्सेनलगायत फिनालेमा पुगेका बाल गायकहरूले शुरुदेखि नै जजहरू अनु मलिक, शंकर महादेवन, नीति मोहन साथै ग्राण्ड ज्युरीलाई आफ्नो गायन प्रतिभाद्वारा आकर्षित पार्दै आएका थिए । फिनालेमा मुख्यमन्त्री पीएस गोलेका राजनैतिक सचिव, सिक्किम क्रोनिकलका पत्रकार निर्मल मगर, जेट्सनकी बाबु-आमा साथै अन्य शुभचिन्तकहरू जेट्सेनको मनोबल बढाउन उपस्थित थिए ।

Logo