आफ्ना गीत बहिस्कार गर्ने घोषणाबारे संगीतकार अधिकारी भन्छन्- म सकिन तयार छु तर संगीत क्षेत्र सकिन दिन्नँ

आफ्ना गीत बहिस्कार गर्ने घोषणाबारे संगीतकार अधिकारी भन्छन्- म सकिन तयार छु तर संगीत क्षेत्र सकिन दिन्नँ

केन्द्रबिन्दु
0
Shares

संगीतकार सुरेश अधिकारीले आफूले लेखेका विषयप्रति आफूलाई कुनै पछुतो नभएको बताएका छन् । 

निजी तथा सामुदायिक एफएम रेडियो सञ्चालकहरुका तीन संस्थाले अधिकारीका गीत संगीत बहिष्कार गरेको घोषणा गर्दै विज्ञप्ति निकालेपछि उनले त्यसबाट आफू कति पनि विचलित नभएको बताएका हुन् । आफू करिअरको उचाईमा रहेको बेला श्रष्टाको हितका लागि काम गर्ने अभियानमा जोडिएको भन्दै उनले आफू शहिद हुन तयार रहेको तर श्रष्टाको हितका लागि लडिरहने उद्घोष गरे । 

उनले आफूले लेखेको शब्द कुनै पनि व्यक्ति तथा संस्थाप्रति नभई प्रवृतिप्रति लक्षित रहेको दाबी गर्दै आफूलाई त्यसमा कुनैपनि पछुतो नरहेको र आफ्नो भनाई नफेरिने दोहो-याए । 

यसअघि नेपालका स्वतन्त्र रेडियो सम्वद्ध छाता संगठन, रेडियो ब्रोडकास्टर्स फोरम (आरबीएफ) नेपाल, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बीएएन) र सामुदायिक रेडियो प्रसारक संघ एक्यो-याबले संयुक्त विज्ञप्ति निकाल्दै संगीतकार अधिकारीले सामाजिक संजालमा लेखेको भाषाप्रति आपत्ति जनाएका थिए । 

विज्ञप्तिमा आरबीएफका अध्यक्ष आरके श्रेष्ठ, बानका अध्यक्ष कुमार भट्टराई र अको-याबका अध्यक्ष अर्जुन गिरीले हस्ताक्षर गरेका छन् । अधिकारीको अभिव्यक्ति अत्यन्त अमर्यादित, गालीगलौज, मानमर्दन र भ्रम सिर्जना गर्ने खालको भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

चार दिनअघि संगीतकार अधिकारीले रोयल्टी विवादलाई लिएर सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए । त्यसलगत्तै रेडियो सञ्चालकहरुले विज्ञप्ति निकालेपछि, त्यसको जवाफसमेत अधिकारीले फेसबुक स्टाटसबाटै दिएका थिए । आफ्नो स्टाटसविरुद्ध रेडियो प्रसारकहरुले विज्ञप्ति जारी गरेपछि संगीतकार अधिकारीले  आफ्नो गीत नबजाउने निर्णयलाई उनले लज्जास्पद र जंगली घोषणाको संज्ञा दिएका थिए ।

Logo